☰ open Loading... 30 May 2024|  

बालविवाहले रोकेको पढाई पूरा गर्दै किशोरी
  | १४ मंसिर २०७३, मंगलवार ०९:०६

समाजमा अझैपनि महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन् । सानै उमेरमा छोरीको विवाह गर्ने र विवाहपछि छोरीले पढ्नु हुँदैन भन्ने सोच ग्रामिण वस्तीमा ताजै छ । तर तिनै समाजका पुरुषवादी सोच बोकेका व्यक्तिहरुलाई बदल्न गाउँका ठुली दिदीहरु यति बेला सक्रिय छन् । समाजमा हुने महिला हिंसाका घटना हुन या त बालविवाह नै हुन । साथै पढ्ने इच्छा भएर पनि पढ्न नपाएका बहिनीहरुलाई पढ्ने वातावरण तय गर्ने बाटोमा ठुली दिदीहरुले जुटेका छन् ।

kisori
सुर्खेतका अधिकाँश ग्रामिण बस्तीमा बालविवाह भइरहेका छन् । तर बालविवाह भएर पनि पढ्नबाट बञ्चित बहिनीहरुलाई ठुली दिदीहरुले पढ्नु पर्छ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

सुर्खेतका विभिन्न गाविसका १२ वटा विद्यालयहरुमा वैनी शिक्षाका लागि दिदी कार्यक्रमले वालविवाह भएकाहरुलाई पनि पढ्ने अवसर जुटाएको छ । ‘हिजो घरदेखि बाहिर आउनै डर लाग्थ्यो । आज पढेर आफूले गाउँमा आफ्नै नामबाट परिचित छु’ करैखोलका लक्ष्मी बाँठाले भनिन्,–‘बुवा आमाको मेलमिलाप नभएकै कारण बालविवाह गर्न बाध्य भए । तर रोकिएको पढाई पुरा गर्न सफल भएको छु । यसको श्रय ठुली दिदीलाई लिन्छु ।’

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएकी लक्ष्मीले गाउँमा हुने बालविवाह रोक्नमा समेत तल्लिन भइन् । अन्तत उनको यो प्रयास सफल भयो र उनले प्लस टुसम्मको उच्च शिक्षा पनि हासिल गरेको बताउँछिन् । ‘एक दिन देखेको केटासंग गाउँकै वहिनीले विवाह गर्नुभयो र हामीले प्रहरीको सहयोगमा उहाँलाई उद्धार गरेर पढ्नमा प्रेरित ग¥यौं’ लक्ष्मीले थपिन्,–‘हाल हाम्रो गाउँमा वालविवाह रोकिएको छ, उमेर पुगेर मात्रै विवाह गर्नु पर्छ भन्ने संस्कार बसेको छ ।’

दशरथपुरका पूर्णिमा विकको १४ वर्षको उमेरमा विवाह भयो । उनको पढाइ एक वर्ष रोकियो । विवाहपछि बाँकी पढाइ कसरी पूरा गर्ने भन्ने पिरोलोमा पूर्णिमामा थिइन् । गाउँका ठुली दिदीहरुले उनलाई पढ्न जागरुक गराए र उनी अहिले कक्षा ९ मा पढ्दै छिन् । ‘पुनः स्कुलमा पढ्न थालेपछि सवैबाट सहयोग मिलेको छ’ पूर्णिमाले भनिन् ।

जिल्लाका कक्षा ५ देखि ८ सम्मका बालिकाहरुको शिक्षामा निरन्तर सहयोग पु¥याउन वैनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिरहेको ग्लोवल एक्शन सुर्खेतका कार्यक्रम संयोजक यादवप्रसाद भुषालले जानकारी दिए ।

उनका अनुसार तीनसय २० जना बहिनी, ८० जना ठुल्दीदी, १२ जना अन्टी, १२ जना ठुल्दाइ र १२ जना टिचर च्याम्पीयनहरु परिचालन भएका छन् । सन् २०१३ देखि सुर्खेतमा सञ्चालित यो कार्यक्रम यूकेएडको सहयोगमा ग्लोबल एक्शन नेपालले कार्यान्वयन गरिरहेको छ ।

वहिनीहरुलाई विद्यालय पहुँचमा पु¥याउने, समुदायलाई शिक्षाप्रतिको महत्व बढाउने र शैक्षिक क्षेत्रका सरोकारवाला निकायसंग समन्वय गरेर सिकाई उपलव्धी बढाउने जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक भुषालले बताए ।