☰ open Loading... 2 December 2024|  

संशाेधन प्रस्ताव फिर्ता लिन सरकारलाइ एमाले उपाध्यक्ष रावलकाे अाग्रह
  | २१ मंसिर २०७३, मंगलवार १५:१०

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले संविधान कार्यान्वयनको अवस्था भएको भन्दै सरकारले नेपाल र नेपालीलाई आवश्यक नरहेको संविधान संशोधन विधेयक तुरुन्त फिर्ता लिई चुनावको मिति तोक्नुपर्ने बताएका छन् ।

bhim-rawol

राजनीतिक दलले देशको गरिमा बढाउन र देशलाई सम्बृद्ध बनाउनु पर्नेमा देशलाई नयाँ द्वन्द्वमा धकेल्ने दुष्प्रयास गरेको भन्दै यो संक्रमणकालिन सरकार भएको र यसको काम संविधान कार्यान्वयन भएकाले छिटो चुनाव गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधान तथा रक्षा मन्त्री समेत भइसकेका नेता रावलले कांग्रेस र माओवादीको अस्थिर राजनीतिक चरित्रका कारणले देशमा समस्या आईरहेको अाराेप लगाए ।

संविधान संशाेधन जसका लागि गरियो भनिएको छ, त्यस क्षेत्रका लाखौँ जनताले त्यसको बिरुद्ध आन्दोलन गरेकाले यसको औचित्य नभएको दाबी रावलकाे छ ।

देशलाई निकास दिन, हिमाल, पहाड र तराईलाई जोडेर देशलाई समृद्ध पार्नुपर्नेमा जोड दिँदै यसको बिरोध गर्नेहरु राष्ट्रिय हित विपरित कसैबाट परिचालित भएको बताए ।

कुनै पनि देशले अंगकिृत नागरिकलाई हुलेर देशको प्रमुख पदमा पुग्ने व्यवस्था नभएकोले एक अर्व ३० करोड जनसंख्या भएको भारतको छिमेकमा बसेर यो संसोधन गर्ने व्यवस्था गरेर सरकार र प्रधानमन्त्री प्रचण्डले देशलाई कहाँ लिन खोजेका हुन् ? रावलको प्रतिप्रश्न छ ।

पहिलो संविधान सभाको बेला विभिन्न आयोगले ल्याएका बिबादास्पद प्रतिवेदनलाई संघीय आयोग बनाई बैधानिकता दिने षडयन्त्र सरकारले गरिरहेको भन्दै यो कुरा सरकारले गोप्य राखेको र मन्त्रीपरिषदबाट निर्णय गरिसकेको नेता रावलको दाबी छ ।