☰ open Loading... 18 September 2024|  

व्यक्तिगत लगानीमा धारा निर्माण
  | २१ मंसिर २०७३, मंगलवार १७:२२

सल्यानका कुनै पनि निकाय र आफ्नै छोराहरुबाट समेत सहयोग नपाएपछि एक व्यक्तिले झण्डै १ लाख रुपैयाँको लागतमा खानेपानी घरसम्म ल्याएका छन् । जिल्लाको सिनवाङ ४ डाँडागाउँका ५७ वर्षिय ढकन बहादुर विकले २ किलोमिटर टाढाबाट घरसम्म खानेपानी ल्याएको जनकारी दिएका छन् ।

‘गाउँमा मेरो घर एक्लै छ, त्यसैले गाविसबाट पनि कुनै योजना परेन, छोराहरुले पनि सहयोग गरेनन्,’ उनले भने– ‘वर्षाैँ देखि २ घण्टा हिडेर गाग्रीमा पानी बोक्नुपथ्र्याे, त्यसैले ऋण गरेर भएपनि पाइपबाट घरसम्म पानी ल्याएँ ।’

यस अघि बाह्रमुल भन्ने स्थानमा पानी लिन जानुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘घरसम्म पानीको धारा नआउँदा बाह्रमुलमा जानुपथ्र्याे, वर्षायाममा झन भल र फोहोर मिसिएको दुषित पानी पिउन हामी बाध्य थियौँ’ उनले थपे ।

ढकन बहादुरले आफ्नो ५ भाइ छोरा मध्ये ३ भाइ छोरा भारतमा रहेको तर उनीहरुबाट अहिलेसम्म कुनै सहयोग नगरेको गुनासो गरे ।

‘गाउँका सबैलाइ थाहा छ, दुइ भाइ छोरा घरमा छन् तर एउटा अपांग छ, एउटा ११ वर्षको छोरो स्कुल जान्छ, तीन भाइ छोरा भारतमा छन्,’ उनले भने– ‘जेठो छोरो गोपाल भारत गएको ११ वर्ष भइसक्यो, हामीलाइ बुढेसकालले छोइसक्यो, सहयोग गर्ने कोहि छैन ।’

८४ हजार रुपैयाको पाइप किनेको र पाइप, गाड्ने लगायतको काममा करिव २० हजार जती गरेर करिव १ लाख रुपैया खर्च भएको उनले जनाए । उनले गाउँमा कसैले पनि खानेपानीको व्यवस्था नगरेपछि गोगनपानी सामुदायीक वनको भैँसेओराल मुलबाट पाइप लगाएर घरसम्म पानी ल्याएको जानकारी दिए । पाइप बोक्ने, विछ्याउने कार्यमा आफ्नी ४८ वर्षिया श्रीमती मुमि विकले साथ दिएको उनको भनाई छ ।