☰ open Loading... 4 November 2024|  

कांग्रेसकै कारण यसरी तुहिंदैछ संविधान संसोधनको प्रस्ताव !
  | २२ मंसिर २०७३, बुधबार ०९:१६

संसदमा २०७ सिट भएको कांग्रेसको प्रमुख बलमा संविधान संसोधन प्रस्तावलाई प्रधानमन्त्री प्रचण्डले अघि बढाए पनि कांग्रेसकै नेताको कारण यो प्रस्ताव तुहिने संकेत देखिएको छ ।

संसोधनले ५ प्रदेशबाट पहाडी जिल्ला हटाएकोमा एमालेको तीव्र विरोध र आपत्ति, कांग्रेस, माओवादीकै क्षेत्रीय स्तरका नेताहरुको समेत एमालेपथपछि अब कांग्रेसका शीर्ष नेताले नै प्रस्तावविरुद्ध मुख खोल्न थालेपछि यो प्रस्ताव त्यत्तिकै तुहिने खतरा देखिएको हो ।

एमालेसँगको सहमतिपछि मात्र संसोधन अघि बढाउन भन्दै जापान हान्निएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई पछि अब उनी पक्षीय नेता एवं महामन्त्री डा. शशांक कोइरालाले ५ नम्बर प्रदेशलाई विभाजन गर्न नहुने पक्षमा मत दिन थालेका छन् । चितवनमा भएको एक कार्यक्रममा डा. शशांकले ५ प्रदेशबाट पहाडी जिल्ला अलग गर्न नहुने भन्दै अभिव्यक्ति दिएका छन् ।

कोइरालाको गृह जिल्ला पनि नवलपरासी नै हो । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा नवलपरासीबाटै निर्वाचित भएका थिए । आवश्यक गृहकार्य नै नगरी पहाड र तराई छुट्याउँदा सहमति हुन नसकेको र विरोध भएको भन्दै शशांकले संविधान कार्यान्वयनका लागि सबै पार्टी मिलेर निकास निकाल्नुपर्ने र यसको लागि ठूलो पार्टीका रुपमा कांग्रेसले भूमिका खेल्नुपर्ने उनले प्रष्ट्याएका छन् ।

congress-meeting

कांग्रेसमा कोइराला परिवारको विरासत बोकेका र अत्यन्तै प्रभावशाली कोइरालाले यस्तो बोलेपछि अब देउवालाई चाहेर पनि संसोधन अगाडि बढाउन सहज हुने छैन । किनकी स्वयं देउवाले नै यस अघि नै नवलपरासीमा शशांको चासो छ भन्दै आएका छन् । शशांकले अब मुखै फोरेर यत्ति भनेपछि देउवालाई प्रस्ताव पारित गरेर जाउँ भन्न पनि सहज छैन ।

सभापति देउवाले आफ्नो चासो रहेको कैलाली र कञ्चनपुरमा रहेपछि ५ प्रदेशलाई टुंग्याउने गरी सहमति दिए पनि पहिल्यैदेखि यसमा पार्टीभित्रै विरोध थियो । अर्को गुटका मात्र नभएर देउवालाई नजिकबाट साथ दिंदै आएका नेतासमेत सीमाकंनको यो पछिल्लो पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुमका केही भाग ४ नम्बर प्रदेशमा हाल्न नहुँने अडानमा थिए ।

पहाडी जिल्ला अलग गरिए आन्दोलनको उभार आउने र आफूहरुले रोक्न नसक्ने उनीहरुले प्रष्टै सभापति देउवालाई बताइएदिए पनि देउवाले यी विषयमा ध्यान नदिई संसोधन ल्याउने नै प्रण गरे । तर, सरकारमैं भएको रक्षामन्त्री बालकृष्ण खाण र अर्का प्रभावशाली नेता चन्द्र भण्डारीलाई खुशी बनाउन सकेनन् ।

खाण सरकारमा मन्त्री भएकाले बुटवलमा भएको विरोध र आन्दोलनमा जान सकेनन् । तर, गुल्मीबाट चुनाव जितेका चन्द्र भण्डारी एमाले, माओवादीसहितको संयुक्त आन्दोलनमा सबैभन्दा अगाडि देखिएका छन् । भौतिक उपस्थिति नभए पनि डा. शशांकदेखि खाणको नैतिक समर्थन पहाडी जिल्लालाई टुटाउन नहुने भन्नेमा नै छन् ।

अझै देउवालाई नै साथ दिंदै आएका मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल पनि ५ प्रदेशबाट पहाडी जिल्ला हटाउन नहुने पक्षमा छन् । रोल्पाका सांसद अमरसिं पुनले संविधान संसोधन प्रस्ताव अघि बढे पक्षमा मत नहाल्ने प्रष्ट पारेका छन् । रोल्पामा आयोजित विरोधसभामा बोल्दै आफूले प्रस्तावमा भोट नहाल्ने प्रष्ट पारेका हुन् ।

केही समय अघि देउवाले केन्द्रीय समितिबाट संविधान संसोधन गर्न कांग्रेसले अग्रसरता लिने निर्णय गराएका थिए । तर, कस्ता विषयमा कसरी अघि बढ्ने भन्नेमा त्यतिखेर चर्चा भएको थिएन ।

पछि पार्टीका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखकले संसोधन प्रस्ताव तयार गरे पनि देउवाले यी विषयमा पार्टीमा छलफल गरेर धारणा बनाउन आवश्यक ठानेनन् । जसका कारण पार्टीले संस्थागत निर्णय नगरेको भन्दै कांग्रेसभित्र देउवाको विरोध हुन थालेका छ । अर्कोतिर पदाधिकारी र बरिष्ठ केन्द्रीय सदस्यहरुको बैठकमा एमालेको सहमति, पार्टीभित्र पर्याप्त छलफल गर्न सुझाव आए पनि देउवाले यी सबै मागलाई बेवास्ता गर्दै त्यसको भोलिपल्टै संसोधन दर्ताको लागि हरियो झण्डा देखाउँदै दर्ता गर्न लगाएका थिए ।

देउवाका असाध्यै निकटका निधि, लेखक र अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीबाहेक उनलाई संसोधनमा समर्थन गर्ने नेता अहिले खुलेर लागेका छैनन् । कांग्रेसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने संसोधनको मुद्धामा थाङ्नामा सुत्ने सम्भावना बढेको विश्लेषकहरुले बताएका छन् ।

स्राेत नेपालीहेडलायन्स