☰ open Loading... 10 October 2024|  

प्रहरीले दमन गरेको भन्दै कैलाली बन्दको आह्वान
  | २३ मंसिर २०७३, बिहीबार ११:२५

प्रहरीको दमनविरुद्ध भन्दै बिहीबार कैलालीमा एमाले र राष्ट्रिय जनमोर्चाले आमहड्तालको घोषणा गरेका छन । बुधबार एमालकाे अध्यक्ष दीर्घ सोडारी र राष्ट्रिय जनमोर्चाका कैलाली सचिव हुकुम साउँदसहित ४२ जनालाई प्रहरीले करिब ५ घण्टा नियन्त्रमा लिएर छोडेको थियाे।

संसदमा दर्ता गराइएको संविधान संशोधन प्रस्तावविरुद्ध बुधबार धनगढीमा नेकपा एमाले लगायतका राजनीतिक दलले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेपको नेकपा एमाले केन्द्रीय प्रचार विभागले आपत्ति जनाएको छ ।

सडकमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको र टायर बालेर प्रदर्शन गरेको भन्दै प्रहरीले लाठीचार्ज गर्दा २५ जना घाइते भएका थिए । घाइते हुनेमा एमाले अध्यक्ष सोडारी र राष्ट्रिय जनमोर्चाका सचिव साँउदसहित कार्यकर्ताहरु छन ।

सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आएका दिन बुधबार विरोध प्रर्दशन गर्दा प्रहरी र प्रदशनकारीबीच केहीबेर झडप समेत भएको थियो ।

प्रहरीको लाठीचार्जबाट एमाले र राष्ट्रिय जनमोर्चाका २५ जना घाइते भएको र अधिकांशको हातखुट्टा र टाउकोमा चोट लागेको राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्षीराम आचार्यले बताए ।

एमाले सचिव रणबहादुर चन्द, अखिल छैठौका केन्द्रीय सदस्य उमेश कँडेल, राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला सचिवालय सदस्य गोरबहादुर विक, रक्तिम सांस्कृतिक अभियानका कैलाली जिल्ला सचिव चक्र चनारालाई निर्घात कुटपिट गर्नुको साथै ५ घण्टा नियन्त्रणमा लिएर छोडेको आचार्यले बताए ।

यस्तै, यज्ञराज बाँस्तोला, मदन रेग्मी, प्रेम महरासमेत प्रहरीको कुटाईबाट घाइते भएका उनले बताए । पक्राउ गरेकालाई प्रहरी भ्यानमाथि राखीसक्दा समेत लाठी र लात्ताले कुटेको दावी गरिएको छ । पक्राउ गरिएका एमाले र राष्ट्रिय जनमोर्चाका ४२ जना नेता कार्यकतालाई साँझ करिब ७ बजेतिर छाडिएको थियो ।

केन्द्रीय प्रचार विभागद्वारा जारी विज्ञप्तिमा जिल्ला कमिटी कैलालीका अध्यक्ष दीर्घ सोडारीका साथै रणबहादुर चन्द, यज्ञराज बाँस्तोला, मदन रेग्मीलगायत २१ जनालाई घाइते बनाइएको उल्लेख गरिएको छ ।

घटनाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारमाथि कुठाराघात गर्दै नेता–कार्यकर्तालाई गिरफ्तार गरिनुले लोकतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार भएको विज्ञप्तिमा भनिएकाे छ ‘घटनाप्रति खेद व्यक्त गर्दै घाइतेको अविलम्ब उपचार, निर्वाध रुपमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सुनिश्चितता गर्न माग गर्दछु ।’