☰ open Loading... 25 April 2024|  

महिला विकास अधिकृत नै हिंसामा, कसले दिने न्याय ?
  | २६ मंसिर २०७३, आईतवार ०८:५७

कुनै पनि महिला लैंगिक हिंसा, शोषण दमन वा थिचोमिचो, घरेलु हिंसा वा शारीरिक तथा मानसिक पींडा भोग्न नपरोस् भनेर थालिएको महिला हिंसा विरुद्धको दिवसको अन्तिम दिन विभिन्न कार्यक्रम गरेर देशभर मनाइयो तर दैलेखमा भने यस्ता कार्यक्रमको अगुवाई गर्नु हाकिम नै आफै हिंसामा परेकी छिन् ।

हाजिर गर्दै गरेकी महिला विकास अधिकृत अनिता ज्ञवाली ।
हाजिर गर्दै गरेकी महिला विकास अधिकृत अनिता ज्ञवाली । तस्वीर अमर सुनार दैलेख

महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने र जिल्लाका विकास साझेदार तथा सरोकारवालासंग समन्वय बढाउने उद्देश्यले ३ साता अघि महिला तथा बालबालिका कार्यालय दैलेखको कार्यालय प्रमुखको काम थाल्न आएकी महिला विकास अधिकृत अनिता ज्ञवाली अघिल्लो हाकिमले उछाड नदिंदा उनी पीडित हुनु परेको हो ।

महिला विकास विभागले सरुवा गरेको अढाई महिना वितिसक्दा पनि डेढ वर्षदेखि दैलेखमा कार्यालय प्रमुख महिला विकास अधिकृत बिश्वमणी जोशीले बरबुझारत नदिएपछि ज्ञवाली पीडित भएकी हुन् । नवलपरासीमा सहायक महिला विकास अधिकृतमा सरुवा गरिएकोमा जोशीले जान मानेकी छैनन् ।

त्यतिवेला सरुवा गरिएका ४६ जना महिला विकास अधिकृतहरु जोशी वाहेक सबै सरुवा भएको ठाउँमा हाजिर भइसकेका छन् । सामान्य प्रशासन मन्त्रालयको नियम अनुसार निजामती कर्मचारीलाई बाटो म्याद बाहेक २१ दिनमा सरुवा भएको स्थानमा हाजिर हुनुपर्ने व्यवस्था छ ।

जोशीले ठाउँ नछोडेको कारण जुम्लाबाट आएकी ज्ञवालीले पनि त्यहाँबाट दैलेख रमाना २ महिना पर्खिनु परेको थियो । जोशीलाई सरुवा भएको ठाउँमा जान किन नचाहनुभएको हो भनी सोधिएको प्रश्नमा ‘काज सरुवा भएकोले जानै पर्ने वाध्यता हुदैन’ भनी प्रतिक्रिया दिइन् ।

तर महिला विकास विभागका प्रशासन प्रमुख मोहन मरासैनीले भने ‘बिश्वमणी जोशीले सहायकमा जान नचाहेर यति धेरै बहानावाजी गरिरहनुभएको छ, काज होइन सरुवा नै हो । उहाँ जसरी पनि जानुपर्छ, जान नमाने कारवाही हुन्छ ।’

नयाँ महिला विकास अधिकृत अनिता ज्ञवाली दैलेखमा मंसिर ७ गते हाजिर भएदेखि नै जोशीले बोलचाल गर्ने वा कामको जिम्मा समेत केही दिएकी छैनन् । उनले अरुसंग भन्ने गरेछिन् ‘मेरो सरुवा स्थगित हुँदैछ, अनिताले पुरानै ठाउँमा जानुपर्ने हुन्छ । ‘ऊ किन आएकी हो उसैले जानोस्’ भनेर हत्तोत्साहित गर्ने गरिरहेकी छिन् ।

कार्यालय प्रमुख जानुपर्नेमा त छँदैछ, प्रतिनिधि पठाए पुग्ने ठाउँमा समेत आफै उपस्थित हुने जोशीले कुनै कामले फिल्ड जाँदा पनि खरिदार तहकी बिश्वासपात्रलाई लिखित रुपमा निमित्त छोड्ने गरेकी छिन् ।

जवकि ज्ञवाली पछि पनि सुब्बा सरहका ५ जना अरु कर्मचारीलाई समेत निमित्त कहिल्यै दिनन् । जोशीको व्यवहारले नयाँ महिला विकास अधिकृत अनिता ज्ञवालीले विहान जाने हाजिर लगाउने र दिनभर घाम तापेर साँझ फर्किने गरेकी छिन् ।

समस्याको निकास बारे के पहल गर्नुभएको छ भन्ने प्रश्नमा नयाँ महिला विकास अधिकृत अनिता ज्ञवालीले भनिन् ‘म हाजिर हुन आएर पनि तनाव खेप्नु परेको महानिर्देशक सरलाई भनी सकेकी छु । उहाँले तपाई नै कार्यालय प्रमुख हो, छिट्टै जिम्मेवारी पाउनु हुन्छ भन्नुभएको छ । तर कहिले हुने हो थाहा छैन ?’

यस बारे महिला विकास विभागका महानिर्देशक नरेशकुमार चापागाईको प्रतिक्रिया छ ‘बिश्वमणीजी सरुवा गरिएको ठाउँमा जानैपर्छ, ठाउँठाउँबाट थमाउतीको दवाव दिलाउने र त्यहाँ बस्ताको समयमा पनि विवादित काम गर्ने गर्नुभएकोले कारवाहीको परिस्थिति आफै सिर्जना गर्नुभएको छ ।’

सपाङ्ग भएर कात्तिक ३० गते आफैले आफ्नो नाममा अपाङ्ग परिचयपत्र बनाएपछि जिल्लादेखि विभागसम्म जोशीप्रति गैरजिम्मेवार काम गरेको भन्दै जोशीको आलोचना भएको छ ।

गाविसको सिफारिस, चिकित्सकको पुष्ट्याईं जस्ता प्रमाण विना अपाङ्ग परिचयपत्र लिएको विषयमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले स्पष्टीकरण मागेपछि चाहिं अभिलेख रजिष्टरमा नाम मेटाइएको छ तर जोशीले बोकेको व्यक्तिगत कार्ड भने रद्द गरेकी छैनन् ।