☰ open Loading... 18 April 2024|  

हिमपातहुँदा दुइ प्रहरी चाैकी सारियाे
  | २६ मंसिर २०७३, आईतवार १३:३८

हिमपातसँगै चिसो बढेपछि दार्चुलाको उत्तरी भेगमा अवस्थित दुई प्रहरी चौकी दुम्लिङमा सरेका छन् ।  अत्यधिक हिउँका कारण तिङ्कर नाका र सीतापुल प्रहरी चौकी मङ्सिर १ गतेदेखि सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

“हिउँका कारण हरेक वर्ष चौकी केही महिनाका लागि तल झरे पनि हाम्रो गस्ती भइरहेकै हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केदार खनालले भने– “हिउँकै कारण अहिले व्यास र राप्ला गाविस मानवविहीन छन् ।’ उच्च हिमाली क्षेत्र राप्ला र व्यासमा बसोबास गर्ने आदिवासी जनजाति सौका समुदाय चिसो छल्न सदरमुकाम खलङ्गा झरिसकेको छ ।

“सबै स्थानीयवासी घरमा ताला लगाएर सदरमुकाम सर्छन् ।” प्रहरी नायब उपरीक्षक खनालले भने–“बस्तीको सरसामान चोरी हुने सम्भावना रहेकाले प्रहरी सक्रिय भएर गस्ती गरिरहेको छ ।”

यसरी हरेक वर्ष चिसोका बेला बसाइँ सर्ने प्रक्रियालाई सौका समुदायमा ‘कुञ्जा’ भन्ने गरिएको छ । छाङरु र तिङ्कर गाउँका एक सय ५० भन्दा बढी परिवार बसाइँ सरिसकेका छन् ।

सौका समुदाय गर्मी मौसममा हिमाली भेगमा बसोवास गर्ने र चिसो मौसममा सदरमुकाम झर्छन् । व्यासबाट दार्चुला सदरमुकाम आउँदा नेपालतिर बाटोघाटो नभएपछि वर्षैपिच्छे भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ । वर्षा याममा मात्रै खेतीपाती गरिने व्यासमा बसोबास गर्नेसौका समुदाय अब वैशाखमा मात्रै घर फर्किनेछन् ।