☰ open Loading... 4 November 2024|  

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै
  | २८ मंसिर २०७३, मंगलवार ०८:५३

यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

bharstachar
सभार स्केच

आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले मध्यपश्चिममा परेका जम्मा चारसय ३५ मा एकसय ९९ थान उजुरी शिक्षा क्षेत्रकै रहेको बताए । परेका कुल उजुरीमा एकसय १० फछ्र्यौट भई तीनसय २५ बाँकी रहेको उनले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख डाँगीका अनुसार शिक्षा क्षेत्रमा ५० उजुरी फछ्र्यौट गरी हाल एक सय ४९ बाँकी रहेका छन् । त्यसैगरी, सङ्घीय मामिला तथा स्थानीय विकासअन्तर्गत ८५ उजुरी परेकामा २० फछ्र्यौट, वन तथा भू–संरक्षणका ४२ उजुरीमा १० फछ्र्यौट, सहरी विकास, स्वास्थ्यमा १८ मा तीन फछ्र्यौट, स्वास्थ्यका १६ उजुरीमा ६ फछ्र्यौट, ऊर्जाको १३ मा एक, सिँचाइको ११ उजुरीमा तीन फछ्र्यौट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनअन्तर्गत सात उजुरी परेको जनाइएको छ । संवैधानिक निकायअन्तर्गत परेको एउटा उजुरी फछ्र्यौट भइसकेको बताइएको छ ।

कर्णालीका पाँच जिल्लामा कालीकोटबाट ८२ उजुरी परेकामा १० फछ्र्यौट भएर हाल ७२ उजुरी अनुसन्धान तहकिकातमा रहेको जनाए । जुम्लाबाट परेका २८ उजुरीमा तीन फछ्र्यौट भएको आयोगको कार्यालय सुर्खेतले जनाएको छ । उनका अनुसार खासगरी, आयोगले दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक विधिबाट भ्रष्टाचार नियन्त्रण कार्यलाई अघि बढाइएको छ ।