☰ open Loading... 13 December 2024|  

३४ शिक्षकलाइ स्कुल नजानुकाे कारण माग
  | ३० मंसिर २०७३, बिहीबार ०९:२०

वीरेन्द्रनगरका १५ विद्यालयकाे छड्के अनुगमन

सुर्खेत । जिल्लाका अधिकास विद्यालयहरुमा दैनिक २५ प्रतिशत विद्यार्थीहरु विद्यालयमा अनुपस्थिती भएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो ।

७५ प्रतिशत विद्यार्थीहरु मात्र दैनिक विद्यालय जाने गरेको सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । घरायसी समस्या कारणले कम उपस्थित हुने गरेको जिशिअ शाहको भनाई छ । विद्यार्थीहरु कम उपस्थित हुनको कारणलाई पत्ता लगाउनका लागि गहनरुपमा अध्ययन गर्नु आवश्यता रहेको उनले बताए ।

अनुगमन टोलीले सुर्खेतका आधारभूत ११, मावि ४ गरि जम्मा १५ वटा विद्यालयहरुको एकैपटक अनुगमन गरेको थियो । सो विद्यालयहरुमा ३४ जना शिक्षकहरु अनुउपस्थिती भएको जनाइएको छ । अनुउपस्थित हुने शिक्षकहरु मध्ये कोही १० बजेभन्दा ढिलो उपस्थित भएका थिए भने केही शिक्षकहरुले विद्यालयमा उपस्थिती भएपनि हाजिरी नलगाएको अवस्थामा भेटिएको जिल्ला शिक्षा अधिकारी शाहले जानकारी दिए ।

शाहका अनुसार अनुपस्थित शिक्षकसंग कार्यालयले  स्पष्टीकरण मागेकाे छ । अनुगमनका क्रममा त्यहि विद्यालयहरुमा १२८ जना शिक्षकहरु उपस्थित भएको भेटिएको थियो ।

यसैगरि अनुगमन गरिएका विद्यालयहरु मध्ये ११ ओटामा विव्यस गठन भएको पाइएको छ । भने ४ ओटा विद्यालय (मावि भैरवस्थान, जन मावि, नेरा मावि र बांगेसिमल) मा गठन हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

उता अनुगमनमा परेका विद्यालयमा शैक्षिक सत्र २०७३।०७४ मा जम्मा छात्रछात्रा ५२३९ भर्ना भएकोमा बुधबार ३९४० विद्यार्थी उपस्थित रहेका थिए । गतवर्ष भन्दा यस वर्ष ७.५ प्रतिशतले विद्यार्थीहरु बढेको र जम्मा विद्यार्थी संख्या मध्ये ७५.२० प्रतिशत उपस्थित भएको पाइएको छ ।

अनुगमनमा परेका विद्यालयको भौतिक अवस्थामा राम्रो, शौचालय प्रयोगमा कमी, केहीमा फर्निचर कमी, वातावरणीय सरसरफाइ ठिकै रहेको छ भने आर्थिक अवस्था अधिक विद्यालयको सामाजिक परीक्षण र लेखा परीक्षण गर्न बाकि, अधिकमा एकोहोरो लेखा, बेरुजु नभएको, छात्रवृत्ति वितरण भएको पाइएको छ ।

यस्तै अनुगमनका क्रममा शैक्षिक अवस्थामा कमजोरी देखा परेको छ । शैक्षणिक योजनामा कमी, शिक्षण सुधार योजना नबनेको, पाठ्यक्रम र सामग्रीको न्यून प्रयोग, प्रअबाट अवलोकन न्यून, नि.मू. कम प्रयोग, विसुयो अद्यावधिकमा कमी, कार्यान्वयनमा कमी, नतिजा विश्लेषण कमी, अधिकांश शिक्षण विधि परम्परागत भएको पाइएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

उता प्रशासनिक अवस्थामा भने मिश्रित अवस्था देखिएको छ जसमा अभिलेखीकरणमा कमजोरी, बैठकमा शैक्षिक एजेण्डा उठाइएको, शिक्षकको कार्य विभाजन ठिकै, सह क्रियाकलाप अपर्याप्त भएको पाइएको छ ।

अनुगमन टोलीले शुक्रबारीय कार्यक्रम, शिक्षक डायरी, सरसफाइमा सक्रियता, फिल्टर पानी, क्षेत्र भ्रमण, अभिभावक अन्तरक्रिया, विद्यार्थी परामर्श, जिम्मेवारी बाँडफाँडलाई विद्यालयका असल अभ्यास बताएको छ भने समस्याहरुमा शौचालय प्रयोग र सरसफाइ, खेलमैदान, सि.उ. नबढेको, पीउने पानी, प्राविमा विद्यार्थी संख्या कमी, स्टाफ समन्वयमा कमी, अभिभावकको चासोमा कमी, अभिलेखीकरणमा समस्या, अंग्रेजी माध्यम औंल्याएको छ ।

यसैबीच अनुगमनको क्रममा बन्द रहेका विद्यालय र अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण सोधिने र थप कारवाही अघि बढाइने जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए