☰ open Loading... 15 June 2024|  

माग्ने होइन कर्म गर्ने साधु
  | ३० मंसिर २०७३, बिहीबार १९:१८

सुर्खेत । सुन्दा अपत्यारिलो लाग्ला । तपाइ हामी सवैले भन्छौ,–‘हरेक साधु वा बावाको भेषमा हुने व्यक्ति कहिल्यै कर्म गर्दैनन् मागेरै आफ्नो गुजारा चलाउँछन् ।’ तर तितो पच्दैन यद्यपी सत्य हुन्छ ।

सुर्खेतका एक व्यक्तिले त्यो सम्मान पाएका छन् । सुन्दा तपाई आफै अचम्मीत हुनु हुनेछ । भेषमा साधु र वावा जस्तै देखिएपनि उनी एक कुशल सवारी चालक हुन् । जसलाई बिहीबार पाँचहजार नगदसहित सम्मान गरिएको छ ।

सवारी साधन चलाउनु आफैमा कठिन कार्य हो । तर ति यस्ता व्यक्ति छन् जसले वर्षौदेखी सुर्खेत–काठमाडौं बावाको भेषमा रात्रीकालिन सवारी हाक्छन् ।

bacak-lachiram

सवारी सञ्चालनको यो लामो कार्यमा यात्रुहरुकप्रति आफ्नो कुशल जिम्मेवारी पूरा गरेको भन्दै उत्कृष्ट चालकको उपाधि दिँदै काँक्रेविहार यातायात व्यवसायी समितिले सवारी चालक लक्षीराम विकलाई सम्मान गरेको छ ।

यति मात्रै हैन, गत असोजमा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट चालकको रुपमा प्रमाणपत्र समेत दिएको थियो भने गत मंसिर २८ गते मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले समेत प्रशंसा पत्रबाट सम्मान गर्यो ।

एकपछि अर्को गर्दै चालक लछिरामले प्रमाण पत्र पाएपछि समितिले समेत काँक्रेविहारको नाम उच्च राखेका भन्दै नगद रु. ५ हजार १ सय पुरस्कारसहित बधाइ दिएको छ ।

समितिका अध्यक्ष बलबहादुर थापाले आफ्नो समितिका चालकले यो सफलता पाउनु भनेको समितिको सफलता भन्दै आगामी दिनमा थप प्रगतिको कामना व्यक्त गरेका छन् । सचिव रमेश सापकोटाले आफुले नभेटेरै विकलाई गाडी सुम्पेको भन्दै उनले प्राप्त गरेको सफलताले आफूलाई खुसी तुल्याएको बताए ।

उत्कृष्ट चालक लक्षीरामले आफूले जोगीको भेष धारण गरेको देखेर कतिपयले माग्ने जोगी भनेता पनि आफु कर्ममा विश्वास गर्ने योगी भएको बताए । ‘म कर्म गरेर खाने जोगी हुँ, माग्ने जोगी होइन’ उनले भने ।

चालक लक्षीरामले आफू २०४५ सालदेखि भारतको पश्चिम वंगालबाट यो पेशामा संलग्न भएको बताए । भारत, भुटान, श्रीलंका र वंगलादेशमा समेत गाडी चलाइसकेको तर नेपालमा भने रमेश सापकोटाले मात्रै विश्वास गरेको भन्दै उनिप्रति कृतज्ञता व्यक्त गरे ।

आफैले पकाएको मात्र खाना खाने, हालसम्म कुनैपनि ठाँउमा गाडी दुर्घटना नगरेको दाबी गर्दै उनले भने ‘त्यसैले त यहाँ यत्रो सम्मान पाएँ ।’ उनले भारतमा लामो समय गाडी चलाउँदा विभिन्न स्थानमा नगद पुरस्कार पाएपनि यहाँ भने ठुलो सम्मान मिलेको कार्य अनुभव सुनाए ।

‘सत्कर्म गरे जहाँ पनि सुखद् फल मिल्छ ।’ दुइ छोरा र दुइ छोरीका पिता लक्षीरामले योगी बनिसकेपछि उनले जुत्ता, चप्पल लगाउनै छोडेका छन भने सुर्खेतमा रहँदा गणेशचोक नजिकको शिवालय तथा काठमाण्डौं हुँदा पशुपतिनाथ क्षेत्रमा मात्रै बस्ने नत्र गाडीमा नै सुत्ने गरेको बताँउछन ।