☰ open Loading... 21 June 2024|  

सरकार स्थानीय तहको निर्वाचन गर्न केन्द्रित
  | २ पुष २०७३, शनिबार ०९:२६

बैतडी । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

सात नं प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई बालमैत्री गाविस घाेषणा गर्न बैतडी अाएका उनले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न सरकार तयार रहेको बताएका हुन् ।

बस्ती विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले धर्मुस सुन्तली फाउन्डेसनले अघि सारेको एकीकृत बस्ती विकासका अवधारणालाई सहयोग गर्न सरकार तयार छ भने ।

उनले सबै गाविस, नगरपालिका, प्रदेश र सिङ्गो मुलुकलाई नै बालमैत्री बनाउन सरकार प्रयत्नशील रहेको पनि बताए । मन्त्री पाण्डेले बालमैत्री सूचक पूरा गर्ने गाविसलाई सरकारबाट प्राप्त हुने बजेटमा केही पुँजीगत बजेट थप गरिने आश्वासन दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रथाजन्य कुसंस्कार र भौतिक पूर्वाधारका अभावमा बालमैत्री गाविस घोषणा गर्न नसकिएको बताएका थिए ।

सिद्धेश्वर पहिलो बालमैत्री गाविस

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ ले तय गरेका ३९ सूचक पूरा गरिसकेपछि सिद्धेश्वरलाई बालमैत्री गाविस घोषणाका लागि सिफारिस गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह विष्टले जानकारी दिए ।

बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासँग सम्बन्धित २७ र संस्थागत १२ सूचक पूरा गरेपछि मात्रै स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न सकिने रणनीतिमा उल्लेख छ । आमाको गर्भमा रहेदेखि १८ वर्षका अवधिसम्म बालबालिकाले पाउनुपर्ने अधिकार प्राप्त हुनुपर्ने जनाउँदै बालमैत्री स्थानीय शासनको अवधारणा अघि आएको हो । यसअघि नवलपरासीको प्रगतिनगर देशकै पहिलो र प्युठानको भिङ्री दोस्रो बालमैत्री गाविस घोषित भएका थिए ।