☰ open Loading... 19 June 2024|  

एक महिनामा छाउगाेठ बसेका दुइ महिलाकाे मृत्यु
  | ४ पुष २०७३, सोमबार १४:४५

एक महिनाको अवधिमा अछाम जिल्लामा छाउपडी गोठमा २ जना महिलाको मृत्यु गएको छ । छाउपडी गोठमा सुतेको अवस्थामा जिल्लाको गाज्रा गाविसमा हिजाे एक किशोरीको मृत्यु भएकाे हाे ।

२०७२ साल असोज ९ गते छाउपडीमुक्त घोषणा गरिएको गाज्रा गाविस वडा नम्बर ७ की १५ बर्षकी रोशनी तिरुवाको छाउपडी गोठमा सुतेको अवस्थामा ज्यान गएको हो ।

२ दिनकी महिनावारी उहाँ हिजो राती ६ बजे खाना खाई घरबाट १९ फिट टाढा रहेको छाउपडी गोठमा सुत्न गएकी र हिजाे बिहान साढे ७ बजे सम्म नउठेपछि उनका बुवा भरत तिरुवा हेर्न जाँदा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक बद्री प्रसाद ढकालले बताए ।

गोठमा भित्रबाट ढोका लगाईएको र ढोका नखोलेपछि बाहिरबाट फोडी हेर्दा मृत अवस्थामा भेटिएकी उनका बुवाले बताए । जाडोमा आगो बाल्दा धुँवामा निसासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोठमा हावा ओहोरदोहर गर्ने कुनै झ्याल नरहेको र ढोका समेत लगाईएकोले निसासिएर अथवा चिसोमा कठ्यांग्रीएर ज्यान गएको हुनसक्ने प्रहरी निरिक्षक ढकालले बताए ।

मृतकको शरीरमा अन्य कुनै घाउ, चोटपटक नरहेको प्रहरीले जनाएको छ । छाउपडी गोठ होचो रहेको तर सफा नै रहेको प्रहरी निरिक्षक ढकालको भनाई छ । मृतक गाज्रा गाविसमै रहेको राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत रहेकी थिईन् । मृतकको पोष्टमार्टमका लागि शब जिल्ला अस्पताल अछाम ल्याईएको छ ।

यस अघि मंसिर ४ गते जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको पनि छाउपडी गोठमै ज्यान गएको थियो । हाल सम्म छाउपडीकै कारण अछाम जिल्लामा १० जना महिला तथा किशोरीको ज्यान गैसकेको छ । अछाम जिल्लामा हाल सम्म विभिन्न ३१ गाविस छाउपडी गोठमुक्त घोषणा गरिएका छन् ।