☰ open Loading... 3 May 2024|  

सुर्खेतमा माघे सकराती मेलाकाे अायाेजना गरिँदै
  | ११ पुष २०७३, सोमबार १६:१८

सुर्खेत । यही पुस अन्तिम साता तीन दिनसम्म सुर्खेतमा माघे सकराती मेला सञ्चालन हुने भएको छ । नेपाल मगर संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा पुस २७, २८ र २९ गते सुर्खेतको घण्टाघर नजिकैको खुलामञ्चमा मेलाको आयोजना गरिन लागेको हो ।

माघे सकराती मेला बारे जानकारी दिँदै मेला प्रचार प्रसार उपसमिति संयाेजक दिपबहादुर राना ।
माघे सकराती मेला बारे जानकारी दिँदै मेला प्रचार प्रसार उपसमिति संयाेजक दिपबहादुर राना ।

मेलाको उद्घाटन सभामुख ओन्सरी घर्तीले गर्ने कार्यक्रम तय भएको छ । मगर समुदायको कला संस्कृति लोप हुँदै गएपछि यसको जगेर्ना गर्न तीन दिन मेला सञ्चालन गर्न लागेको नेपाल मगर संघ सुर्खेतका सदस्य तथा मेला प्रचार प्रसार उप-समितिका संयोजक दिपबहादुर रानाले जानकारी दिए ।

मेलामा मुख्यगरी, धनुषवाण, छेलो, एकल नृत्य तथा गीत प्रतियोगिता हुनेछन् । यस्तै, मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने संयोजक रानाले बताए । मेलामा सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका, दोहोरी लगायत चर्चित साँस्कृतिक प्रस्तुतीहरु पनि रहेनछन् ।

तीन दिनसम्मको मेलामा मगर परिकारसहितका होटल, कन्दमुलका स्टल र मगर सुमदायले उत्पादन गर्दै आएका स्थानीय सामग्रीहरु राखिने बताएका संयोजक रानाले भने,–‘मेलामा हामीले दर्शकहरुबाट कुनै शुल्क लिनेछैनौं । यो विशुद्ध मगर समुदायको संस्कृती झल्कने गरी हाम्रो पहिचान दर्शाउन खोजेका हौं ।’

मेलाको पूर्व सन्ध्यामा पुस २६ गते दिउसो मोटरसाइकल र्याली निकालीने आयोजकले जनायो । यस्तै, मेलाको पहिलो दिन मगर भेषभुषामा स्थानीय मंगलगढी चौकबाट र्याली निकालिने संयोजक रानाले उल्लेख गरे ।