☰ open Loading... 22 June 2024|  

पर्यटक लोभ्याउने बर्दिया
  | १६ पुष २०७३, शनिबार १४:०८

sushil-khadka
सुशील खड्का

बर्दियामा मौलिक, साँस्कृति तथा प्राकृतिक रुपमा सुन्दर र रमणीय जिल्ला हो ।  जिल्लाको कुल २ हजार २५ वर्ग क्षेत्रफल मध्य करिव ६९ प्रतिशत भू–भाग समथर र ३१.२७ प्रतिशत भू–भाग चुरे पर्वतमा पर्दछ ।

अन्न भण्डारको रुपमा परिचित बर्दिया जिल्ला पर्यटन, धार्मिक, सांस्कृतिक र कृष्णसारको संगम थलको रुपमा पनि प्रख्यात छ । थारु समुदायको बाहुल्यता मानिने यहाँ पछिल्ला वर्ष बाह्य जिल्लाबाट अन्य जातजातिहरु बसाई सराई जाने गरेपछि जातिय विविधतामा पनि अनुपम छ ।

समथर भू–भाग भएको बर्दिया जिल्लामा विकासका पूर्वाधारहरुले सोचजस्तो प्रगति गर्न सकेका छैन् । सदरमुकाम गुलरिया जोड्ने नेपालगञ्ज–गुलरिया रोड र पूर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक अन्य सडकहरु कालो पत्रे भएका छैनन् ।

सडकको अवस्था मजवुत भयो भने मात्रै अरु पक्षहरु सक्षम हुन्छनन् भन्ने हेक्का जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दललाई छ । यद्यपी यहाँको विकासप्रति कोही पनि गम्भीर छैनन् भन्ने अनुभव ग्रामिण सडकमा यात्रा गर्दा छर्लङ्ग हुन्छ ।

सडकको अवस्था सक्षम नभएकै कारण यहाँको पर्यटन व्यवसायले सोचे जस्तो फड्को मार्न सकेको छैन् । बर्दियाको समग्र पर्यटन व्यवसायलाई टेवा पुग्ने खालका प्रयास स्थानीयस्तरबाट भएपनि राजनीतिक रुपमा यसलाई खासै रुचि दिएको पाइदैन् ।

धार्मिक महत्व

बर्दिया धार्मिक रुपमा धनी जिल्ला हो । पर्यटकहरुको मुख्य गन्तव्य ठाकुरबाबा मन्दिर पनि एक हो । सरकारले ठाकुरबाबा मन्दिरलाई पुरातत्व रुपमा महत्वपुर्ण मानेर हुलाक टिकट प्रकाशन गरिसकेको छ । यहाँ हरेक वर्ष माघीको दिन भव्य मेला लाग्दछ । माघे संक्रान्तिको अघिल्लो दिनदेखि शुरु हुने मेला चार दिनसम्म लाग्दै आएको छ ।

thakurbaba

ठाकुरबाबा मन्दिरमा सन्तान नहुनेहरू सन्तान हुने आशमा पूजा गर्न आउने गर्दछन । तीनसय बर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाँउमा उचाल्न नसकेपछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती छ ।

थारु जातीको महन्त पुजारी रहेको यो एक मात्र मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ ।

मन्दिरको स्थापना अभिलेख केहि नभेट्टीए पनि करीब २० वर्ष अघि प्रकासीत ओम गोरक्षनाथ पुस्तकमा ८५ वर्षिय जगन्नाथ योगीले लेखेको ठाकुरबाबा एक चिनारीमा कर्णाली नदीमा शिव लिङ्गको मुर्ति फेला परेको र त्यहीबाट उत्खनन गरी ल्याईएकाले ठाकुरबावा नाम राखिएको हो भन्ने उल्लेख छ ।

धेरै वर्षसम्म सानो झुपडीमा रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४० वर्ष अघि पञ्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुन निर्माण गरिएको स्थानीय बताउँछन् ।

हाल मन्दिर व्यवस्थापन समिति गठन गरेर यसको संरक्षण गर्दै आएका छन् । ठाकुरबाबा मन्दिरसंगै जिल्लामा गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आदी छन् । यीनको राम्रो संरक्षण गरेर प्रचारप्रसारमा जोड दिने हो भने आन्तरिक र बाह्य पर्यटन भित्राउनमा ठुलो सहयोग पु¥याउछन् ।

राष्ट्रिय निकुञ्ज

नेपालको चितवन राष्ट्रिय निकुञ्जपछि धेरै पर्यटकहरु बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउँछन् । बर्दिया राष्ट्रिय निकुञ्ज नै अवलोकन गर्ने प्राथमिकता पर्यटकहरुको हुन्छ । त्यसपछि मात्रै बाँकी कुन–कुन क्षेत्र घुम्न जाने भन्ने निर्णयमा उनीहरु पुग्छन् ।

_best-of-nepal-tour

निकुञ्जमा पाटेबाघ, एक सिंगेगैंडा, गोही, डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तुहरु अवलोकन गर्न सकिन्छ ।

त्यसैले होला, यहाँ पुग्ने पर्यटकहरु शुरुमा निकुञ्जको मुख्यालय ठाकुरद्वारा नै पुग्छन् । जीप र हात्तीमा चढेर निकुञ्ज अवलोकन गर्न सकिन्छ । निकुञ्ज आसपासमा साना ठुला गरी झण्डै २२ वटा सुविधा सम्पन्न रिसोर्टहरु सञ्चालनमा छन् । तर, यहाँ पुग्न कच्ची सडकमा धुलाम्मे हुँदै पुग्नु पर्ने बाध्यताले पर्यटकहरुमा खिन्नता छाएको पाइन्छ ।

कर्णाली र कोठीयाघाट पुल

महेन्द्र राजमार्ग अन्तरगत पर्ने कर्णाली नदीको एक खम्बे पुल पनि प्रख्यात छ । एशियामै एक खम्बामा बनाइएको यो पुल हेर्न वर्षेनी हजारौं पर्यटकहरु कर्णाली चिसापानी पुग्दछन् । यो पुल कैलाली र बर्दिया जिल्लाको भू–भागमा बनेको छ । यसलाई सुदुरपश्चिमको प्रवेशद्वार पनि भन्ने गरिन्छ ।

karnali

नेपालकै सबैभन्दा लामो  पुल कर्णाली नदीकै एक भंगालो कोठीयाघाटस्थित गेरुवा नदीमा बनेको छ । यो पुल निर्माण नहुनु अगाडी यहाँ पन्टुन पुल थियो ।

geruwa-pul

कर्णाली नदीले घेरेको भौरा टाप्पु राजापुर क्षेत्रका ११ गाविसका नागरिकलाई आवत जावत गर्न प्रयोग गरिएको पन्टुन पुल विस्थापित गरेर पक्की पुल निर्माण गरिएको हो । पक्की पुल निर्माण भएपछि यहाँ दैनिक रुपमा बाह्य र आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । यद्यपी हुलाकी सडक खण्ड अन्तरगत पर्ने राजापुर–गुलरिया सडक कालो पत्रे नहुँदा यहाँ पुग्न पर्यटकहरुलाई असहज हुने गरेको छ ।

महेन्द्र राजमार्ग अन्तरगत बाँसगढी–भूरिगाउँ सडक खण्डमै पर्ने बबई नदीको पुल पर्यटकहरुका लागि विश्रामस्थल बनेको छ । यहाँ घडियाल, गोही, कछुवाहरु बालुवामै सुतेको दृष्य देखिनै भएकाले पर्यटकहरु केही बेर रोकिएर क्यामरामा तस्विर कैद गर्दछन् ।

बढैया र सतखलुवा ताल

badaiya-tal

प्राकृतिक रुपमै निर्मित तथा दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थलको रुपमा परिचित अर्को ताल हो बढैया अर्थात बह्रैया । बढैया तालमा कमलको फुलले ढकमक्क हुन्छ यहाँ साइबेरियाबाट हाँस प्रजातिका आगन्तुक चराहरु चिसो छल्न आउने गर्दछन् । सोरहवा र मैनापोखर गाविसको सीमानमा झण्डै १०८ बिगाहा क्षेत्रफलमा बढैया ताल फैलिएको छ । यो जिल्लाकै ठुलो सिमसार ताल हो ।

satkhluwa-tal

महेन्द्र राजमार्गको कतर्नियाबाट ५ किलोमिटरमा दुरीमा धधवार गाविसको वडा नम्बर ६ खैरेनीमा सतखलुवा ताल अवस्थित छ । सात वटा खोल्साबाट यो तालमा पानी आउने भएकाले यसको नाम सतखलुवा ताल नामाकरण गरिएको स्थानीय बताउँछन् । यो ताल अग्रेंजी अक्षर यू आकारले बनेको छ ।

६० विगाह क्षेत्रफलमा फैलिएको यो तालमा वर्षातको मौसममा पानी जम्मा हुने गर्दछ । यसको संरक्षण र प्रचारप्रसार गर्न स्थानीयले खैरेनीमा होमस्टे सञ्चालन गरेका छन् । उदासिन सरकारी निकाय र मुकदर्शक राजनीतिक दलहरुले तालको विकास गर्नमा पहल नगर्दा यो तालमा कमै मात्र पर्यटकहरु पुग्ने गर्दछन् ।

कृष्णसार

पर्यटकका लागि मुख्य आकर्षकका रुपमा रहेको वन्यजन्तु हो कृष्णसार । गुलरिया सदरमुकामदेखी उत्तर–पश्चिममा पर्ने खैरापुरमा २०६५ सालमा संरक्षण क्षेत्र घोषणा गरेर कृष्णसारलाई राखिएको छ । आकर्षक लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको संख्या घट्दो क्रममा छ ।

kirshansar

हाल यहाँ २१७ वटा कृष्णसार छन् । २०७१ सालमा आएको बाढीले ४० वटा कृष्णसारलाई बगाएको थियो । चरन अभाव, भुस्याह कुकुर, हुँडार र स्याल आतंकले कृष्णसारलाई बचाउँन संरक्षणकर्मीलाई निकै सास्ती हुने गरेको छ ।

दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । लामो समयदेखी यसको संरक्षण गर्न राज्यले थुप्रै प्रयास गरेपनि बालुवमा पानी हाले सरह उपलव्धी गुमेको छ । संरक्षण क्षेत्रमा मनपरी चरीचरन गराउँदा यसको मुख्य आहारा नै गुम्ने खतरामा छ ।

डल्ला होमस्टे गाउँ

tharu

सशस्त्र द्वन्द्वको समयमा सबैभन्दा बढी चेपुवामा परेको समुदाय थारु समुदाय हो । द्वन्द्वले थिलाथिला भएका यहाँ नागरिकहरु पर्यटन प्रवद्धन गर्न स्थानीय स्तरमै होमस्टे गाउँ सञ्चालनमा ल्याएका छन् । ठाकुराद्वारा गाविसको छिमिकी गाविस सूर्यपटुवामा हाल २२ घरमा होमस्टे सञ्चालनरत छन् । २०६७ सालमा स्थापना भएको होमस्टेले बाह्य र आन्तरिक पर्यटकहरु निकै तानेको छ । तर भरपर्दो सडक नहुँदा सोचेजस्तो प्रगति गर्न सकेको छैन् ।

मुख्य समस्या

पर्यटकहरुका लागि पहिलो गन्तव्य ठाकुरद्वारा हो । यहाँ पुग्न मुख्यगरी चार नाका छन् । गुलरिया–राजापुर सडक खण्डको ओरालीबजारबाट सूर्यपटुवाको डल्लागाउँ हुँदै ठाकुरद्वारा पुग्न सकिन्छ । यो रुट गुलरियाबाट आउनेका लागि सहज हुन्छ र यहाँ पक्कीपुल पनि बनेको छ । तर सडक कच्ची अवस्थामा छ ।

अर्को, भूरिगाउँ –नेउलापुरगाउँ –गोदान–ठाकुरद्वारा, भूरिगाउँ –रानीपुर–प्रतापुर – कालीगौडी–मडेला –ठाकुरद्वारा र भूरिगाउँ –आम्वासा –शीवपुर– ठाकुरद्वारा पुग्न सकिन्छ । विडम्बना ! यी तीन रुटमा पर्ने मुख्य नदी ओराही खोलामा हालसम्म पक्की पुल नहुँदा मौसमी पर्यटक मात्रै ठाकुरद्वारा पुग्ने गर्छन् ।

नेपालगञ्ज विमानस्थल वा स्थलमार्ग भएर बर्दियाको ठाकुरद्वारा पुग्ने पर्यटकहरुका लागि सवैभन्दा छोटो रुट कोहलपुर–भूरिगाउँ–गोदान सडक नै हो । भरपर्दो सडक नहुँदा नै अधिकाँश पर्यटकहरु सिजनमा निकुञ्ज घुमेर नै अनेत्र जाने गरेका छन् । किनकी अन्य पर्यटन गन्तव्यसम्म पुग्न कच्ची सडकमा धुलाम्मे बन्नु पर्ने बाँध्यताले पर्यटकहरु पुग्न चाहदैँनन् ।

बर्दियाको विकासमा पर्यटन व्यवसाय नै आम्दानीको मुख्य स्रोत हो । यद्यपी यसको समुचित विकासमा स्थानीयले गरेको हौसलामा थप बल पु¥याउन जिल्ला स्तरका राजनीतिक दल र सरोकारवाला निकायले राज्यलाई घचघच्याउन सकेका छैनन् । पर्यटन प्रवद्धन विकास केन्द्र काठमाडौको टोलीले केही दिन अघि मात्र बर्दियाको पर्यटन स्थलको अवस्थाको स्थलगत अवलोकन गरेर फर्कियो ।

टोलीले मुख्यगरी विकासका पूर्वाधार अप्रयाप्त, चितवन राष्ट्रिय निकुञ्जमा पाइने सवै खाले जीवजन्तु बर्दिया राष्ट्रिय निकुञ्जमा छन भनेर प्रचारप्रसार गर्न नसक्नु, राज्य र उसका निकायले पर्यटन विकासमा गर्नु पर्ने कामहरु पर्यटन क्षेत्रमा नगरेको निष्कर्ष निकालेको छ ।

यद्यपी समग्रमा तराईको जिल्ला बर्दिया भएपनि विकासको मुख्य मेरुदण्ड सडक र  पक्की पुल निर्माण नहुनु तथा पर्याप्त प्रचारप्रसारमा राज्य, राज्यका निकाय र जिल्ला स्थित राजनीतिक दल मौन रहनुले बर्दियाको पर्यटन हेपीएको छ ।

(याे लेख नागरिक दैनिकमा पुस १४ गते प्रकाशीत भइसकेकाे छ ।)