☰ open Loading... 3 May 2024|  

ग्रामीण सडकको स्तर सुधार गरिँदै
  | १७ पुष २०७३, आईतवार १३:३६

डडेल्धुरा । यहाँका १८ गाविस र दुई नगरपालिकामा सडकको सुविधा पुगेसँगै ग्रामीण सडकको स्तरोन्नतिसमेत भइरहेको छ । दिनहुँ साँघुरो बाटामा जोखिमपूर्ण यात्रा गरिरहने सर्वसाधारण सडकको स्तर सुधार हुन थालेपछि हर्षित वनेका छन् ।

यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनाले अप्रिय घटना हुनबाट समेत जोगिएको उग्रतारा सार्वजनिक यातायातका गाडी चालक गङ्गाराम भट्टले बताए ।

“साँघुरो बाटाका कारण अर्कातिरबाट गाडी आउँदा सयौँ मिटर पछाडि लगेर साइड दिनुपर्ने हुन्थ्यो तर अब फराकिलो बाटो र मोड पनि चौडा हँुदा सजिलो भएको छ”, भट्टले भने ।

डडेल्धुराका उग्रतारा–मेलौली सडक, बागबजार–वगरकोट–भागेश्वर, बगरकोट–रुपाल, भत्काडा–असीग्राम र अमरगढी र परशुराम नगरपालिकाभित्र रहेका सडकखण्डको स्तरोन्नति भइरहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

साथै उग्रतारा–मेलौली–बागबजार– बगरकोट सडकखण्डका केही भाग कालोपत्रसमेत भइरहेको प्राविधिक कार्यालय डडेल्धुराका सहायक सबइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराए ।

पुराना सडक कालोपत्र बनिरहेका छन् । नयाँ र ग्रामीण क्षेत्र जोड्ने सडकको क्रमिक रुपमा स्तर सुधार भइरहेको जिविस डडेल्धुराका सूचना अधिकृत कृष्णदेव भट्टले बताए ।