☰ open Loading... 4 November 2024|  

भुरीगाउँको सवस्टेसन चैत्रबाट सञ्चालनमा आउने
  | २२ पुष २०७३, शुक्रबार ०९:३८

बर्दिया । अत्यधिक विद्युत्भार कटौती, लो भोल्टेज, रुखका हाँगा खस्दा पटकपटक तार चुडिँने र तोकिएको समयमा बत्ती नआउँदा हैरानी खेप्नुपरेको बर्दियाको बगनाहा, भुरीगाउँ क्षेत्रका स्थानीयले अब त्यो समस्याबाट केही महिनादेखि मुक्ति पाउने भएका छन् ।

बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निर्माण भइरहेको भुरीगाउँ विद्युत् सवस्टेसनको काम २०७३ चैत महिनाभित्रै सकिने भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको भुरीगाउँ सवस्टेसनको काममा कुनै प्राविधिक समस्या नआएमा चैत मसान्तभित्रै सवस्टेसनको कार्य सम्पन्न गरिसक्ने भुरीगाउँ सवस्टेसनका साइट इन्चार्ज देवराज शर्माले जानकारी दिए ।

सवस्टेसनको सम्पूर्ण काम सम्पन्न गरिसकेपछि करिब दुईदेखि तीन महिनासम्म परीक्षणस्वरुप लाइन विस्तार गरेर हस्तान्तरण गर्ने शर्माले बताए ।

संविधान जारी भएपछि असन्तुष्ट पक्षले मधेस आन्दोलन गर्दा बन्दका कारण केही पनि सामान समयमा आउन नसक्दा निर्माणको काम झन्डै छ महिना ढिला सुरु हुन पुगेको बताइएको छ । आन्दोलनले गर्दा काम प्रभावित नभएको भए अहिलेसम्म सवस्टेसनको काम सम्पन्न भइसक्ने थियो, शर्माले भने ।

यस क्षेत्रको समस्यालाई मध्यनजर गर्दै तोकिएको समयभन्दा अघि नै निर्माणको काम सम्पन्न गर्ने योजनाअनुसार सवस्टेसनको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडरअन्तर्गत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्वारातर्फ आउने विद्युत्लाइनमा अत्यधिक विद्युत्भार कटौती, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुँडिने समस्याले गर्दा सहजरुपमा विद्युत् प्रयोग गर्न नपाउने समस्या रहेको छ ।