☰ open Loading... 19 May 2024|  

जुम्लामा स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु
  | २२ पुष २०७३, शुक्रबार ०९:४६

जुम्ला । जिल्ला कृषि विकास कार्यालय जुम्लाले आजदेखि स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु गरेको छ । कृषि विकास कार्यालयले हाड सिंजा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङ्कोट, देपालगाउँ र चन्दननाथ नगरपालिकामा व्यवस्थापन सप्ताह सञ्चालन आजैदेखि सञ्चालन गर्ने भएको हो ।

प्रत्येक सेवा केन्द्रमा सप्ताह सञ्चालनार्थ कार्यालयका अधिकृत नेतृत्वको पाँचजनाको टोली फिल्डमै खटाइएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए ।

यसमा हाड सिंजा र नराकोट कृषि सेवा केन्द्रको नेतृत्व कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा, डिल्लीचौर सेवा केन्द्रको नेतृत्व कृषि प्रसार अधिकृत चन्द्रबहादुर शाही, तातोपानी सेवा केन्द्रको नेतृत्व योजना अधिकृत बालकराम देवकोटा र जिल्ला कृषि विकास कार्यालयअन्तर्गत खलङ्गा जुम्लामा बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाको नेतृत्वमा सप्ताह सञ्चालन हुने वरिष्ठ कृषि विकास अधिकृत कँडेलले बताए ।

“जुम्ला र स्याउबीच अन्योन्याश्रित सम्बन्ध छ र यो सुपर जोनका रुपमा सरकारले घोषणा गरेको जिल्ला पनि हो, त्यसैले यो वर्षदेखि किसानको बगैँचामा गएर बिरुवा काटछाँट, त्यसको सिँचाइ, मलखाद, बोर्डर मिक्सर र बोर्डर पेस्ट कसरी बनाउने र त्यो कसरी लगाउने भन्ने विषयमा सिकाउँछौँ,” वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भने ।

उनले थपे “बोर्डर पेस्ट र बोर्डर मिक्सर ढुसीजन्य रोग किराबाट रक्षा गर्न सघाउने रामबाण नै हो । यो किसानलाई जानकारी हुनुपर्छ र फिल्डस्तरमा रहँदा यो कुरामा पनि किसानलाई यथेष्ट मात्रामा सिप एवम् प्रविधिका बारेमा सूचित गरिन्छ,” ।

उहाँले विशेषगरी स्याउको काँटछाँट, रोग किराको व्यवस्थापन गरी उत्पादनमा प्रभावकारिता ल्याई व्यवस्थित गरेर लैजाने उद्देश्यले सप्ताहको अवसरमा स्याउ बगैँचा व्यवस्थापन घुम्ती तालिम सञ्चालन गर्न थालिएको बताए ।

घुम्ती तालिम जतिसक्दो नयाँ र सबै कृषक लाभान्वित हुने तवरबाट सञ्चालन गरिने बताइएको छ । सप्ताहअन्तर्गत प्रतिकक्षा रु चारहजार ५ं०० खर्च व्यवस्थापन गर्ने गरी ७५ वटा तालिम सञ्चालन गरिनेछ ।

सो अन्तर्गत डिल्लीचौर सेवा केन्द्रमा २०, हाडसिंजामा १०, नराकोटमा १२, तातोपानीमा १६ र जिल्ला कृषि विकास कार्यालयअन्तर्गत चन्दननाथ नगरपालिका र आसपासका गाविस गरी १७ तालिम सञ्चालन गरिने उनको भनाइ छ ।

सप्ताह अवसरमा सञ्चालन हुने तालिममा दिइने सिप ज्ञानसँगै, सिकेचर, आरीलगायतका कृषि सामग्री ७५ प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।