☰ open Loading... 28 February 2024|  

हुम्लीलाई चामल ओसार्ने चटारो
  | २५ पुष २०७३, सोमबार १०:२६

बाजुरा ।  मूलबाटोमा धूलो उडाउँदै हिँडिरहेका भेडाच्यांग्राको बथान । ती सबैका पिठ्युँमा चामल र नुनको भारी छ । पछिपछि केही मानिस तिनलाई गन्तव्यतिर लैजाँदै छन् ।

कवाडीदेखि बाजुराको कोल्टीसम्म यस्ता दृश्य सामान्य छन् अचेल । हिउँद लागेसँगै हुम्लाका विभिन्न गाविसका बासिन्दालाई नुन–चामल ओसार्ने चटारो छ ।

कालिका २ काँखेका पदमबहादुर शाहीको आठ जनाको परिवार त्यही मेसोमा कोल्टीतिर लाग्दै थियो । घरबाट हिँडेको तेस्रो दिन सयभन्दा बढी भेडाच्यांग्रासहित रुगिनको लेब्रीमा बास बसे उनीहरू ।

‘कोल्टी पुग्न अझै कम्तीमा दुई दिन हिँड्नुपर्छ ,’ शाहीले भने, ‘खाद्यान्न ओसार्न नसके परिवार भोकै पर्छ, हाम्रै बाटो कुर्दै बसेका होलान् ।’ कोल्टीबाट नुन–चामल लिएर घर पुग्न उनीहरूलाई कम्तीमा १२ दिन लाग्छ ।

bajura-chamal
दिउँसो भेडाको बथान चरनतिर अल्मलिने भएकाले उनीहरू भारी बोकाएर फर्कंदा सकेसम्म राति यात्रा गर्छन् । दिनभरि चराउँछन् । हुम्लाका गाउँमा यसपालि पनि खडेरी पर्‍यो । अन्न तथा दालबाली उत्पादन लगभग शून्य रहेकाले भोकमरीको अवस्था आएको उनीहरूले बताए । ‘बाजुराबाट चामल नल्याए छाक टार्ने अवस्थै छैन,’ कालिकाका अजवीर नेपालीले भने ।

गाउँघरमा पसलेले चामल बिक्री गरे पनि महँगो भएकाले किनिनसक्नु छ । ‘कोल्टीमा प्रतिक्विन्टल ३ हजार ६ सय पर्ने चामलको मूल्य गाउँघरमा १० हजार रुपैयाँ पर्छ,’ स्थानीय भयदल पुनले भने, ‘नुनको भाउसमेत अचाक्ली छ ।’

कोल्टीमा ९ रुपैयाँमा पाइने नुन गाउँघरमा ६० रुपैयाँ पर्छ । उनी २१ भेडालाई अढाई क्विन्टल चामल बोकाएर घर फर्कंदै थिए । ‘यही खाद्यान्न फारो गरेर धेरै दिन टिकाउनुपर्छ,’ कालिका ९ पाम्सका भयदलले भने ।

हुम्लाका मैला, मदना, श्रीनगर, कालिका र जैर गरी पाँच गाविसका बासिन्दा कोल्टीको दानसाँघु बजारमै निर्भर छन् । दानसाँघुसम्म कच्ची सडक खुलेकाले ट्रयाक्टर पुग्छ । गत वर्षदेखि त्यहाँ अस्थायी बजार लाग्न थालेपछि हुम्लीलाई केही राहत मिलेको छ ।

अघिल्ला वर्षजस्तो सदरमुकाम मार्तडी नै पुग्नुपर्ने बाध्यता अब छैन । ‘३ दिनको बाटो छोट्टिएको छ,’ पदमबहादुरले भने । बाजुरा सदरमुकामसम्म सडक नपुगेका बेला उनीहरू महिना दिन हिँडेर अछामको साँफेबगर पुग्थे ।

धेरैजसो परिवारको पेसा भेडाच्यांग्रा पालन हो । यिनैलाई भारी बोकाएर उनीहरू हिउँदमा खाद्यान्न ओसार्छन् । एउटा भेडाले १२ देखि २० किलोसम्म सामान ढुवानी गर्न सक्ने सुरेश सुनारले बताए ।

खाद्यान्नका लागि बाजुरासम्म पुग्दा बाटोमा उनीहरूले अनेकौं सास्ती खेप्नुपर्छ । भेडा चोरी हुने र स्थानीय युवाले दु:ख दिने गरेको उनीहरू बताउँछन् । भेडालाई चरिचरनको समेत समस्या हुने गरेको सुरेशले बताए ।

‘पहिलेजस्तो वनजंगल नभएकाले भेडा चराउन समस्या हुन्छ,’ कालिकाकै दधि नेपालीले भने, ‘कतिपय ठाउँमा वनजंगल मासेको भन्दै स्थानीयले जरिवानासमेत तिराउँछन् ।’

ekantipur