☰ open Loading... 2 November 2024|  

डडेल्धुरा पारामेडिकल क्याम्पसमाथी कारबाही प्रक्रिया शुरू
  | २ माघ २०७३, आईतवार १८:३१

डडेल्धुरा । प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को अनुमति विपरित अबैधानिक तबरले बिद्यार्थी भर्ना गरेको डडेल्धुरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसमाथिको कारबाही प्रक्रिया अगाडि बढेको छ ।

घटना छानविनका लागि गठित उच्च स्तरिय टोलीले सीटीईभीटीलाई बुझाएको प्रतिवेदनपछि गएको शुक्रबार सीटीईभीटीका सदस्य सचिव स्तरिय निर्णय अनुसार क्याम्पसममाथी कारबाही प्रक्रिया अगाडि बढाएको हो । सीटीईभीटीका कार्यवाहक सदस्य सचिव रमेश कुमार बखतीको सहभागितामा गरिएको निर्णय अनुसार विभागिय कारबाहीको प्रक्रिया सुरु भएको बताइएकाे छ ।

नियम विपरित बिद्यार्थी भर्ना गर्ने क्याम्पसलाई के–कस्तो कारबाही गर्ने भन्ने बारे कारबाही प्रक्रियाले नै टुङ्ग्याउने छ । यो महिनाको अन्त्यतिर सो बिषयको टुङ्गो लाग्ने सीटीईभीटीका स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले जानकारी दिएका छन् । उनले क्याम्पसले भोग्ने कारबाहीका बारेमा सो कारबाही प्रक्रियापछि मात्रै भन्न सकिने बताएका छन् ।

तर स्रोतका अनुसार पारामेडिकल क्याम्पसले बिद्यार्थीको भविश्यमाथि खेलवाड गर्दै आर्थिक उपार्जन तर्फ लागेको देखिएकाले सीटीईभीटीले हदैसम्मको कारबाही गर्ने तयारी गरिरहेको छ ।

क्याम्पसमाथि कारबाही प्रक्रिया अगाडि बढिसकेकाले निलम्बन वा खारेज नै हुन सक्नेछ । गल्ती गर्नेहरुलाई माफी दिदै गएमा गल्ती गर्नेहरु बढ्दै जाने र उनीहरुको मनोबल समेत बढ्दै जाने भएकाले पनि गल्ती गर्नेहरु बिरुद्ध भएको कारबाहीको उदाहरण देखाउनलाई पनि क्याम्पसलाई हदै सम्मको कारबाही हुन सक्ने स्रोतको दावी छ ।

यो महिनाको अन्तिम हप्तातिर क्याम्पसमाथीको कारबाही प्रक्रिया सकिएपछि मात्रै बिद्यार्थीहरुको अन्यौलता हटाउन तर्फ सीटीईभीटी लाग्ने जनाईएको छ ।

पहिले क्याम्पसमाथीको कारबाही प्रक्रिया टुङ्याएपछि मात्रै बिद्यार्थी तर्फ प्रवेश गरिने भएकाले बिद्यार्थीले आफुमा रहेको अन्यौलता हटाउन यो महिना पूरै पर्खिनु पर्ने निर्देशक धामीले बताएका छन् ।

पारामेडिकल क्याम्पसमा नियम विपरित बिद्यार्थी भर्ना गरी बिद्यार्थीको भविश्य अन्यौलमा पारेको भन्ने समाचार सम्प्रेषण भए लगत्तै सीटीईभीटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेको एक टोलीले घटनाको अध्ययन गरि बुझाएको प्रतिवेदनमा क्याम्पसले बिभिन्न चार वटा कार्यक्रममा १४८ जना बिद्यार्थी नियम विपरित भर्ना गरेको देखिएको थियो ।

सो प्रतिवेदन अनुसार क्याम्पसले नियम विपरित अनमि तर्फ ३८ जना, सीएमए तर्फ ३८ जना, कृर्षि जेटिए तर्फ ३८ जना र ल्याब तर्फ ३४ जना बिद्यार्थी भर्ना गरेको देखिएपछि सोही प्रतिवेदनको सुझाव अनुसार गठित उच्च स्तरिय टोलीको घटना छानविन प्रतिवेदन अनुसार क्याम्पसमाथी कारबाही प्रक्रिया अगाडि बढाईएको हो ।