☰ open Loading... 21 June 2024|  

अनियमित विद्युतले सुर्खेतीलाई सास्ती
  | ३ माघ २०७३, सोमबार १०:०७

७ महिना देखी एउटै तालिका, कतिखेर बत्ती आउँछ जान्छ थाहा छैन

सुर्खेत । सरकारले घोषणा गरेको ठुला शहरमा विद्युत भार कटौति नगर्ने योजना सुर्खेतको हकमा भने हावादारी गफमा सीमित भएको छ । प्रदेश नंम्बर ६ को सम्भावित राजधानी एवं साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर नेपालका ठुला शहर मध्य एकमा गनिन्छ ।

आधिकारिक तथ्यांक नभएता पनि सुर्खेत उपत्यकामा करिब १ लाख ५० हजार जनसंख्या बसोबास गर्ने गरेको अनुमान छ । यस बाहेक जिल्ला भित्र छिन्चु, मेहलकुना लगायतका शहर उन्मुख बजारहरु पनि रहेका छन् । धेरै क्षेत्रीय स्तरका कार्यालयहरु रहेका वीरेन्द्रनगरमा अनियमित विद्युत आपुर्तिले असहज परिस्थिति सिर्जना गरेको छ ।

सरकारी घोषणा नहुदाँ बत्तीको विकल्प सोच्ने गरेका सुर्खेतीले लोड सेडिङ्ग अन्त्यको सूचनाले विकल्प बारे नसोच्ने कारण अध्याँरोमा बस्नु पर्ने र उद्योग धन्दाहरु चलाउन पनि अप्ठ्यारो भईरहेको स्थानीय उपभोक्ता र उद्योगी व्यवसायीहरुको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरणले गरेको अघोषित लोड सेडिङ्गको चपेटामा विद्यार्थीहरु पनि परेका छन । दुर्गम जिल्लाहरुबाट वीरेन्द्रनगरमा अध्ययन गर्नका लागि आउने, कोठा भाडामा बस्ने विद्यार्थीहरु यसको प्रत्यक्ष मारमा परेका छन् । वीरेन्द्रनगर साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको १५ जिल्लाको सदरमुकाम हो ।

१५ जिल्लाको सदरमुकाम रहेपनि पछिल्लो समय अधिकांश जिल्लाका मानिसहरु अध्ययन, जागिर, काम र व्यवसाय गर्ने शिलसिलामा यहाँ बस्ने गरेका पाइन्छन । कोठा भाडामा लिएर बस्नेहरु एवं कम आय भएका अन्य व्यक्तिहरु बत्ती नहुदाँ समस्यामा पर्ने गरेको छन्, त्यसमध्ये धेरै संख्यामा विद्यार्थीहरु पर्ने हुँदा बत्ति नभएका बेलामा उज्यालोका लागि सोलार राख्नुपर्ने या अन्य विकल्प सोच्नुपर्ने अवस्थाले मारमा परेका छन् ।

लामो समयदेखि सुर्खेतमा अध्ययन गर्दै आइरहेका मनराज आचार्य भन्छन् ‘आफुहरुलाई कोठाको मासिक भाडा तिर्न त हम्मे हम्मे पर्छ कसरी बाल्ने सोलार बत्ति ?’ उनी भन्छन् ‘उर्जामन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले रेडियो, टेलिभिजन ३ महिनामै मुलुकमा लोड सेडिङ्ग अन्त्य गर्छु भनेर सम्बोधन गरेको सुन्दा अब अन्त्य हुन्छ कि भन्ने लाग्छ तर परिणाम हेर्दा भने समस्या ज्यूँ का त्यूँ छ ।’ भाषण मात्र गरेर लोड सेडिङ्ग अन्त्य नहुने आचार्यको भनाई छ ।

नेपाल विद्युत प्रधिकरण शाखा सुर्खेत (वितरण केन्द्र) मा नयाँ लोड सेडिङ्गको कुनै तालिका छैन । जतिबेला मनलाग्यो, त्यतिबेला विजुली काट्ने प्रचलन छ । सेवाग्राहीले फोन गरेर सोध्दा ९ बजे विजुली आउने भनिन्छ तर आँउछ साढे ८ बजे ।

कहिल्यै जानकारी दिएको भन्दा ढिलो विजुली आउने हुँदा यसलाई प्राधिकरणको लापरवाहीको रुपमा स्थानीयबासीले लिएका छन् । वीरेन्द्रनगरपालिकालाई उपमहानगर बनाउने योजना नगरपालिकाले बनाइरहँदा भने सुर्खेतमा भइरहेको अनियमित विद्युत आपुर्ति बारे प्राधिकरणले कुनै चासो देखाएको छैन ।

। नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विजुली नियमित सप्लाई हुनुपर्ने बताए । उनले भने ‘सकभर विद्युतको आपुर्ती नियमित हुनुप¥यो, नभए सार्वजनिक सूचना मार्फत निश्चित समयमा विजुली जाने र आउने भनेर लोडसेडिङ्ग तालिका सार्वजनिक गर्नुप¥यो ।’

सभापति रेग्मीले मन लागेको बेला विद्युत दिने र मन नलागेको बेला कटौती गरेर जनतालाई धोका दिनुहुदैन भन्दै लोडसेडिङ्ग अन्त्य तर्फ प्रयास गर्न अनुरोध गरे ।

नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले विद्युत प्राधिकरणको यो कार्यलाई गैर—जिम्मेवार कार्य भन्दै, ‘आम उपभोक्ताले सूचना पाउने कानुनी अधिकारबाट बञ्चित गराउनु जायज नभएको बताए । ‘कतिखेर विजुली आउछ र कतिखेर जान्छ भन्ने जानकारी नदिनु प्राधिकरणको गैरजिम्मेवारीपन हो ।’

उनले जनताले सूचना पाउने अधिकार कुण्ठित गर्न नहुने भन्दै अविलम्व प्राधिकरणले विजुली आउने र जाने तालिका सार्वजनिक गर्नुपर्ने बताए । उनले प्राधिकरणको व्यवस्थापकीय पाटो समेत असाध्यै कमजोर रहेको र कार्यालय प्रमूखको समेत लापरवाही भएको प्रस्ट देखिएको आरोप लगाए ।

light
यता विद्युत प्राधिकरण सुर्खेतका प्रशासकीय अधिकृत श्यामलाल पौडेलले कोहलपुर सबस्टेशनबाट विजुली कटौती हुने जानकारी दिए । उनले गत साउनकै लोडसेडिगं तालिका अनुसार समय मिलाउन अनुरोध गर्दै भने ‘हामीले साउनदेखि छुट्टै तालिका बनाएका छैनौ, उपभोक्ताहरुले सोही तालिका अनुसार नै थाहा पाउँदा हुन्छ ।’

उता सुर्खेत र दैलेखको विद्युतको लोड हेर्ने र विजुली काट्ने या पठाउने गर्दै आएको कोहलपुर सब—स्टेशनले भने केन्द्रले अहिलेसम्म नयाँ तालिकाबारे कुनै जानकारी नदिएको तर स्थानीयरुपमा लोडसेडिङ्ग तालिकाको बारेमा भने जानकारी दिनसक्ने जनाएको छ । कोहलपुर सवस्टेशनका कर्मचारी राम खडकाले लोडले भ्याएको समयमा विद्युत नियमित आइरहेको बताए ।

उनले केहि समय पहिलेसम्म टनकपुरबाट ३० मेगावाट विद्युत आउने गरेको र सोही विद्युतको लोड हेरेर नै सुर्खेत र दैलेख लगायतका अन्य क्षेत्रमा विद्युतको आपुर्ती गर्ने गरेको जानकारी दिए ।

देशभरिको भार प्रेषण केन्द्र काठमाण्डौले देशभरिकै लोड हेर्ने गरेको र लोड अत्याधिक बढेपछि मात्रै विद्युत काट्ने गरिएको जानकारी दिए । बढी लोड भएको बेला विद्युत नकाटेको खण्डमा देशैभरिकै विद्युत्त आपूर्तिमा समस्या आउने र त्यसले विभिन्न मेसिनहरु जल्नसक्ने खतरा रहेको बताए । उनले विद्युत प्राधिकरणले अनियमितरुपमा विजुली नकाटेको प्रष्टिकरण दिए ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बिजुलीको नियमित आपुर्ति नहुँदा व्यवसाय धरासायी बन्दै गइरहेका भन्दै, ‘विद्युत अभावकै कारण पर्यटकीय स्थल व्यवस्थित छैनन, होटल व्यवसायीले ग्राहकहरुलाई जेनेरेटर चलाएर भएपनि सेवा सुविधा प्रदान गर्नुपर्ने बाध्यताका कारण बढी खर्च आउने र त्यसले व्यवसायिको फाइदा भन्दा पनि घाटा हुने अवस्था देखियो ।’

उनले व्यवसायलाई बढावा दिन र यो क्षेत्रको समग्र विकास गर्न पनि कम्तिमा लोडसेडिङ्ग मुक्त हुनुपर्ने बताए । उनले नियमित विद्युत आपुर्ति भएको खण्डमा यो क्षेत्रको व्यवसाय फस्टाउने र त्यसले समग्र प्रदेशकै विकासमा टेवा पु¥याउने दाबी गरे ।

स्थानीय बासिन्दाहरुले भने विजुली सकभर नियमित आपुर्ति गर्नुपर्ने नभए विद्युत कटौतीको समय तालिका नयाँ सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

सिद्वदर्शन दैनिक