☰ open Loading... 12 June 2024|  

पहिचान संरक्षणको प्रतीक बन्यो ‘थारु होमस्टे’
  | ५ माघ २०७३, बुधबार १५:१७

भीमदत्तनगर । भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका १७ वर्षीया सोमन राना आफ्नो समुदायका महिलाले लगाउने वेशभूषा ९अंगिया, घङ्रीया र उडनिया० बारे दुई वर्षअघिसम्म अनभिज्ञ थिए।

tharu
फायल तस्विर ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाको सरस्वती उच्च माविमा अध्ययनरत १७ वर्षीया सोमनले भने – ‘हाम्रो समुदायमा त महिलाले लगाउने गहनाकै प्रकार देखेर म आफै चकित छु ।’ नयाँबस्तीमा गत वर्षदेखि सञ्चालनमा आएको नेपालमै पहिलो राना थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएपछि पाहुनाको स्वागत मात्रै होइन, स्वयम् बस्तीकै नयाँ पुस्ताले आफ्नो कला, संस्कृति, पहिचान लगायतका विषयमा दरिलो ज्ञान बटुल्ने थलोको रुपमा लिएका छन् ।

सोमनसँगै अध्ययन गर्ने राना थारु समुदायका एक दर्जनभन्दा बढी विद्यार्थी छात्राहरु गत वर्षदेखि होमस्टेमा आउने पाहुनाको स्वागतदेखि परम्परागत नृत्य देखाउनसम्म आफ्नो पहिरन र गरगहनामा सजिएर खटिएका हुन्छन् । ‘पहिले त पहिरन लगाउनै दुई घण्टा लाग्थ्यो,’ स्थानीय केसमती रानाले भनिन– ‘अहिले त चाँडै लगाएर पाहुनाको स्वागतमा आइसक्छौं ।’ बाह्य वेशभूषाको प्रभाव बढिरहेका बेला गाउँमा सञ्चालन भएको होमस्टेले समुदायको पहिचान संरक्षणमा टेवा पुगेको केसमतीको भनाइ छ ।

गएको वर्ष होमस्टेमा एक हजारभन्दा बढी पर्यटकले होमस्टे अवलोकन गरेको बताउँदै राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले रु ९ लाख भन्दा बढीको कारोबार भएको जानकारी दिए ।

‘पहिले होमस्टेमा होटलकै जस्तै ग्राहक आउँलान्, बास बसेर, खाना खाएर जाने होलान जस्तो लागेको थियो,’ सचिव रानाले भने – ‘होमस्टे त समुदाय र हाम्रो परिचय बढाउने महत्वपूर्ण थलो बन्यो ।’ नौवटा घरमा होमस्टे सञ्चालन गरेर सुरु गरिएको बताउँदै उहाँले चाँडै थप दुई वटा होमस्टे थप्ने तयारी थालिएको जानकारी दिए ।

उनले पनि राना समुदायमा लोप हुनै लागेका कला, संस्कृति, पहिरन र पहिचान जोगाउन होमस्टे एउटा प्रतीककै रुपमा रहेको बताए । ‘हामीले लगाउने धेरै पहिरन र गरगहनाहरुका बारेमा हामी नै सुरुमा अनभिज्ञ थियौैं,’ सचिव रानाले भने – ‘अहिले गाउँमा भएको पुराना गहनाहरु सङ्कलन गरेर पाहुना आउँदा प्रयोग गर्ने गरिएको छ ।’ होमस्टेमा खटिएका महिलाहरुमध्ये अधिकांश विद्यालयका विद्यार्थीहरु रहेको उनले बताए । ‘सुरुमा त लजाउनेदेखि तयार हुन झन्झट मान्थे,’ उनले भने – ‘अहिले त पाहुना आउँदा तयार हुन भन्नै पर्दैन ।’

होमस्टेमा आउने बाह्य तथा आन्तरिक पर्यकटको रोजाइमा थारु नृत्य र पहिरन बढी पर्ने गरेको छ । ‘नृत्य देखाउने भए मात्रै बास बस्छौं भन्ने पर्यटकहरु पनि धेरै आए,’ रानाले भने–‘आन्तरिकसँगै बाह्य पर्यटकहरु बढाउन थप पहल गर्न सकिएको छैन ।’ उनले सुरुवातमा एक युवतीलाई थारु गहना र पहिरनमा सजाउन मात्रै रु १ लाख भन्दा खर्च भएको बताउनुभयो । ‘गरगहना पुराना दिनका सबै चाँदीका थिए,’ उनले थपे– ‘चाँदीसँगै कासाका गरगहनाहरु पनि प्रयोगमा ल्याएका छन ।’

होमस्टे सञ्चालनमा आएपछि धेरै विषयमा थाहा भएको र लोप हुँदै गइरहेका गरगहनादेखि पोशाकसम्मको खोजीमा आफूहरु जुटिरहेको सोमनले बताए । ‘पाहुनाहरुलाई स्वागत कसरी गर्ने भनेर होमस्टे खुलेपछि थाहा भयो,’ सोमनले भने–‘होमस्टेले राना थारुको संस्कृति जान्ने अवसर पनि मिलेको छ ।’

‘पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेशभूषाका बारेमा हामी नयाँ पुस्ताले जानकारी पनि यसैबाट लियौंं,’ उनले भने – ‘गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ भन्नेमा छन् ।’

‘झिझी नाच त हामीले बिर्सिसकेका थियौं,’ स्थानीय चानुराम रानाले भने – ‘अहिले गाउँमा भएका पाकापुस्ताले यो नाच सिकाउँदैछन् ।’ त्यसैगरी पहिरनमा घंगरिया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बा लगायतका पहिरन र वेशभूषा लगाएर युवतीहरु नृत्य गर्छन् ।

‘यहाँ आउने पर्यटकहरु मिसौला (राना थारुको परिकार) खुबै मन पराउँछन्’ सचिव रानाले भने । गाउँमै उत्पादन भएको अन्न र तरकारी पकाएर खुवाउँदै आएका उनीहरुले आगन्तुकको इच्छा अुनसार परिकार पकाएर खुवाउने गरेका छन् । अहिले होमस्टेमा आवद्ध महिला तथा पुरुषहरु संस्कृति संरक्षणमा तदारुकताका साथ लागिपरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको होमस्टेबाट करिब पाँच किलोमिटरको दूरीमा एसियाकै लामो महाकाली नदीमा झोलुङ्ग पुल समेत रहेकाले पर्यटकहरुको आगमन सन्तोषजनक रहेको होमस्टे सञ्चालक समितिको भनाइ छ ।

पूर्वबाट भारतको नैनीताल भ्रमण जाने पर्यटकहरु प्रायः रात बिताउन होमस्टेमा आउने गरेका छन् । ‘पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावरहरु होमस्टेबाटै हेर्न समेत सकिन्छ,’ सचिव रानाले भने– ‘विश्वकै दुर्लभ बाह्रसिंगाको बथानको अवलोकन गरेर होमस्टेमा बास बस्न निकै सहज छ ।’

तराई भू–परिधि कार्यक्रम९ताल० को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको यहाँका होमस्टेलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्यटन व्यवसायीहरुबाट पनि सहयोग मिलिरहेको छ ।

DCnepal : RSS