☰ open Loading... 21 June 2024|  

घरेलु उद्योगतर्फ महिलाकाे आकर्षण बढ्दै
  | ५ माघ २०७३, बुधबार १७:१४

रोल्पा । यहाँका महिला घरेलु तथा साना उद्योगतर्फ आकर्षित हुँदै गएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिमा पछिल्ला दिनमा दर्ता भएका साना उद्योग अधिकांश महिलाद्वारा सञ्चालन गर्ने गरी दर्ता भएका उक्त कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

जिल्लामा हाल फर्निचर, ग्रील, अल्लो कपडा, मह उत्पादन, सिलाइकटाई, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत एक हजार तीन सय ६० वटा उद्योग दर्ता भएका छन् । असङ्गठित रुपमा थप दुई हजार बढी उद्योग सञ्चालन भइरहेका आचार्यको भनाइ छ ।

घरेलु उद्योगमा प्रायः घाटा बेहोर्नु नपरेका कारण महिला त्यसतर्फ आकर्षित हुँदै गएका हुन् । महिलालाई उद्यमतर्फ थप आकर्षण गर्न सरकारले बिना धितोमा रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको आचार्यले बताउनुभयो । करिब २५ प्रतिशत उद्यमी वैदेशिक रोजगारीबाट फर्केकाहरु रहेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य निकायबाट तालिम लिएका अधिकांशले रोजगारी पाएका कार्यालयले जनाएको छ । जिल्लामा चालु आवको ६ महिनामा रु ४० लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।