☰ open Loading... 12 June 2024|  

पश्चिम नेपालको धराेहर देउडा संस्कृती कसले जोगाउने ?
  | ५ माघ २०७३, बुधबार १७:४७

क्या राम्रा केलीका पात तर पानी तर
जीन्दगी दुइ दिने मात्रे कै को मानु भर ।।
हिमाल हिउपडि गयो माल बाइजा काग
भावीका भाग हाल्न्या वेला क्या पडि होइ भाग ।।
कै वैरीले काटी लैगो खोलकिो गाया झाल
पानी तिर्खा मरिजान्छ मर्दैन माया जाल ।।

उहिले जंगलमा जानै हुन्थेन, गयो कि महिलाहरु सुमधुर स्वरमा ठाडी भाका गुनगुनाएको सुनिन्थ्यो, त्यसैमा कोइलीको कुहु कुहु आवाजले बाटो हिडने बटुवाहरुलाई मन्त्र मुग्ध पार्दथ्यो । बटुवाहरु उकालो हिडेको बेला ती सुमधुर देउडा भाकाको आनन्द लिदै रुखको छहारीमा अडेस लागेर बस्थे । उनीहरुको थकाई त्यहि सकिएर जान्थ्यो । नयाँ जोश र उमंग अनि छुट्टै फुर्तिका साथ गन्तव्यमा लाग्थे ।

गाँउमा कसैको विहेबारी हुनै पर्थेन देउडा खेल्न । जब जब गहुँ घरमा भित्राइन्थ्यो अनि त्यतिबेला गोरुको दाहाँ हाल्नुको सट्टा महिला दिदिबहिनीहरु देउडा खेल खेल्थे हरेक साँझ, मानौं त्यो बैशाख महिना कुनै उत्सवीय महिना हो । हरेकका खलामा खेलिने यस्ता देउडा खेलले गाँउलाई नै कोलाहल मय, उत्सवमय बनाउने गथ्र्यो ।

मलाई स्मरण छ, माओवादी सशस्त्र युद्वको चपेटामा देश पर्नु पूर्व गाँउघरको रौनक नै अर्कै थियो । त्यहाँ हरेक समयमा अवसर पारेर रात्री मेलाहरु लाग्थे । ती मेलामा युवा युवतिहरुका ठुल ठुला देउडा खेलहरु लाग्ने गर्थे । केटा र केटि बीच समसामयिक राजनीतिक अवस्था देखि लिएर माया प्रेम सम्मका, विहे देखि लिएर मृत्यु सम्मका कहानीहरु प्रतिस्पर्धी तवरमा देउडा गीतहरु मार्फत प्रस्तुत गरिन्थे ।

तीनै देउडामय रातले फेरि विहान भएको समेत ख्याल हुन दिदैनथ्यो । बुढा पाका, बालबालिकाहरु देउडा खेलको भित्र बसेर आनन्द लिइरहेका हुन्थे भने तन्नेरीहरु खेलेर आनन्द लिइरहेका हुन्थे ।

तर आज परिस्थिति फेरिएको छ । समय वदलिएको छ । अनि सबैतिर सन्नाटा छाएको भान हुन्छ । आजकाल तपाई जंगलमा जानुहोस, मेलामा जानुहोस, विहेवारीमा जानुहोस कतै देउडा सुन्न मिल्दैन । बनमा कोइलीले कुहुकुहु गरेको पनि विरलै सुन्न पाइन्छ । हरेकले ¥याप गीत अँगालेका छन् ।

हरेकले पश्चिमा साहित्यलाई बढावा दिइरहेका छन् । अझ भनौं पछिल्लो पुस्ताले त देउडा संस्कृतिलाई नै वितृष्णाको रुपमा लिदै आएको छ । यसलाई छाडापनका रुपमा अपहेलना गर्दै आएको छ । कसैले देउडा गाउने भन्यो भने नाक खुम्च्याउँदै उसलाई गिज्याउन अघि बढ्छ आजको पुस्ता…त्यति मात्रै कहाँ हो र परिचय दिदा म देउडा भूमिको भन्न समेत हिच्किचाउँछ । आखिर यस्तो किन ?

Sher-bdr-Thapa
यसो हुनुमा प्रमूख कारक तत्वका रुपमा आधुनिक प्रविधि नै अग्र भागमा देखिन्छ । देउडा संस्कारलाई देउडा गीतहरुलाई, देउडा प्रचलनलाई कम गराउन आधुनिक प्रविधिले निकै भूमिका खेलेको छ । हिजो खाली समयमा देउडा गीतहरु गुन्गुनाउनेहरु मोबाइलमा रेडियो सुनेर, गीतहरु सुनेर आनन्द लिनैमा अभ्यस्त देखिन्छन् ।

त्यति मात्रै होइन उनीहरु सामाजीक सञ्जालको समेत बढ्दो मात्रामा प्रयोग गर्ने गर्छन । जसले गर्दा देउडा संस्कृतिलाई लोपोन्मूख अवस्थामा पु¥याउन सघाउ पुगेको छ ।

देउडा गीत

युवाहरु वैदेशिक रोजगारीमा जाने र त्यहाँको संस्कृतिमा रम्न थालेकाले पनि देउडा संस्कृति लोप हुन थालेको छ । युवाहरु देउडा लाई मन नपराउने अवस्थामा पुगेपछि बृद्व अवस्थामा रहेका बुबा आमाहरुले मात्रै यसको संरक्षण कसरी गर्न सक्लान र ?

युवाहरु वैदेशिक अझ भनौं पश्चिमा संस्कृति, पश्चिमा साहित्यमा झुकाव राख्न अग्रसर हुनु, आफ्नो कला र संस्कृतिलाई जोगाउन र यसको महत्ववारे आगामी पुस्तालाई बताउन असक्षम हुनु जस्ता थुप्रै कारणले यो देउडा संस्कृति लोपोन्मूख अवस्थामा पुग्न थालेको भनेर भन्दा हुन्छ ।

अब के गर्ने ?
यदि हामीले देउडा संस्कृतिलाई लोप गर्नेतिर अगाडी बढ्यौं र मौलिक कला, संसकृतिको जगेर्ना गर्न तर्फ अग्रसर भएनौं भने भोली इतिहासले हामीलाई धिक्कार्ने पक्का छ । भोली हामी पनि पश्चिमेली संस्कारमै हुर्कन थाल्यौं भने उनीहरु र हाम्रो संस्कृतिमा, व्यवहारमा के फरक भयो र ? तसर्थ हामी भन्दा आगामी पुस्ताले समेत ज्ञान पाउने गरि हाम्रो कला, साहित्य र संस्कारलाई जीवन्तता प्रदान गर्दै बर यसमा समयानुकुल परिवर्तन गर्दै अग्रसर हुन जरुरी देखिन्छ ।

यसका लागि हामी सबैले एकतावद्व हुँदै विदेशी संस्कारका विरुद्व सामूहिक रुपमा आवाज उठाउनैपर्ने हुन्छ । यदि तपाइ हामी बीच यस्ता क्रियाकलाप गर्न सकिएन भने, हामीले हाम्रो कला र संस्कारको प्रचार प्रसार गर्न सकेनौं भने देउडा गीत पनि एकादेशको कथा बन्न नसक्ला भनेर भन्न सकिदैन ।

तसर्थ अब तपाइ हाम्रो एकमात्र विकल्प भनेकै सभ्य समाज निर्माण गर्ने र आफ्ना मौलिक कला, संस्कृतिको जगेर्ना गर्नु नै हो । यसबाट हामीले कला साहित्यको जगेर्ना गर्न त सक्छौं नै अन्य हिसाबमा पनि हामीले विविध खालका लाभ लिन सक्छौं । जस्तै हाम्रो मौलीक संस्कृतिको व्यापक मात्रामा प्रचार प्रसार गरेर पर्यटकहरु सिभत्राउन सक्छौं ।

दुनियाँलाई हाम्रो संस्कृतिको बारेमा खोज तलास गर्न र उनीहरुलाई अध्ययन गर्ने थलोको रुपमा ठाँउ दिन सक्छौं । पूर्ववत संस्कारको सुरक्षा गर्दै आगामी आउने सन्ततिलाई हाम्रा पूर्खाहरुको नासो जस्ताको तस्तै हस्तान्तरण गरेर इतिहासमा सुनौला अक्षरले नाम लेखाउन सक्छौं ।

अन्त्यमा, तपाइ हामी बाहेक अरु कसैले पनि हाम्रो संस्कार जोगाइदिने वाला छैन । बरु हाम्रो संस्कारमाथि खेलेर हामीलाई नै उनीहरुले तहस नहस पार्न खोज्नेछन् । तसर्थ आउँ यूवाहरु, अब हामी आफ्नो कला, साहित्य र संसकारलाई जीवन्त पारीराखौं । हाम्रो संस्कार बाँच्नु भनेकै हामी बाँच्नु हो ।

देउडा गीत बाँच्नु भनेको हाम्रो मौलिक संस्कृति बाँच्नु हो । तसर्थ देउडा सर्जकहरुलाई माया गरौं । अन्य गीतथहरुको तुलनामा देउडा गीतलाई हामी जहाँ छौं, जुन हैसियतमा छौं त्यहिबाट माथी उठाउने, प्रचार प्रसार गर्ने कार्यमा सहभागी बनौं । उन मात्र हाम्रो संस्कृति जोगीनेछ, अनिमात्र हाम्रो संस्कार जोगिनेछ । हाम्रा पुर्खाहरुको इतिहास अजम्वरी रहनेछ ।