☰ open Loading... 3 March 2024|  

परिवार नियोजन गर्दैनन् पुरुष
  | १० माघ २०७३, सोमबार १०:२४

जनस्वास्थ्य कार्यालय बाँकेले लक्ष्मणपुर र नरैनापुरमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्नुअघि चेतनामूलक कार्यक्रम गर्‍यो । स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी र अगुवा घरघर पुगे ।

images

तर एक जनाले पनि स्थायी बन्ध्याकरण गरेनन् । गत वर्ष गंगापुरमा सञ्चालन गरेको शिविरमा ५ जनाले मात्र स्थायी बन्ध्याकरण सेवा लिए । चालू आवमा गंगापुरमै सञ्चालित शिविरमा ३ जनाले मात्र स्थायी बन्ध्याकरण गराए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार शिविर सञ्चालनमा प्रतिगाविस कम्तीमा एक दिनको ५० हजार खर्च हुन्छ । सामाजिक–धार्मिक मान्यता, जनचेतनाको अभाव र अशिक्षाका कारण परिवार नियोजन गर्नेको संख्या बढ्न सकेको छैन ।

कार्यालयले यस वर्ष विभिन्न १४ गाविसमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको छ । राप्ती पारिका १२ स्थानमा सम्पन्न भएका शिविरमा अहिलेसम्म १ सय ८९ जनाले मात्र स्थायी परिवार नियोजन सेवा लिएका छन् ।

त्यसमध्ये ११ जनामात्र पुरुष छन् । परिवार नियोजन महिलाको जिम्मेवारी हो भन्ने मान्यताका कारण पुरुषले परिवार नियोजन गर्न नमान्ने परिवार नियोजन सुपरभाइजर अधिकृत वसन्त गैरेले बताए ।

‘महिलाको आर्थिक–सामाजिक भूमिका कम हुने संस्कारले पनि पुरुषहरू परिवार नियोजन गराउँदैनन्,’ उनले भने, ‘मुस्लिम र मधेसी समुदायका पुरुषमा परिवार नियोजनको संख्या ज्यादै न्यून छ ।’ मुस्लिम समुदायमा प्रतिदम्पती ४ सन्तान हुने गरेको कार्यालयले जनाएको छ । पहाडी र थारू समुदायमा भने स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या बढिरहेको छ । यिनीहरूमा प्रतिदम्पती सरदर दुई सन्तान रहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार आव ०७०र७१ मा ११ जनाले मात्र भ्याक्सेटोमी गरेका छन् । त्यस्तै ७१र७२ मा १२० र गत आवमा ७८ जनाले भ्याक्सेटोमी गरेको कार्यालयले जनाएको छ । स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या आव ०७०र७१ मा ४ सय ३४, ७१र७२ मा ३ सय ५५ र गत आवमा ३ सय ९ छ । स्थायी बन्ध्याकरण गर्ने महिला बढिरहेको भए पनि पुरुषको संख्या घटदै गएको उनले जनाए ।

अस्थायी साधन प्रयोगको संख्या ४२ प्रतिशत रहेको परिवार नियोजन सुपरभाइजर अधिकृत गैरेले जनाए । धार्मिक मान्यताका कारण मुस्लिम समुदायले स्थायी बन्ध्याकरण गर्दैनन् । गत आवमा ७ हजार ९ सय ४८ महिलाले अस्थायी साधन प्रयोग गरेको पाइएको छ । यस्तै ६ हजार ५१ जना पुरुषले कण्डम प्रयोग गरेको कार्यालयले जनाएको छ ।

तुलनात्मक रूपमा ढिलो विवाह गर्ने पहाडी र थारू समुदायमा परिवार नियोजनका साधनको माग ७० प्रतिशत छ । कम उमेरमा विवाह हुने मुस्लिम र मधेसी समुदायमा ४० प्रतिशतमात्र अस्थायी साधन प्रयोग भएको अधिकृत गैरेले जनाए । समुदायको मागका आधारमा अस्थायी परिवार नियोजनका सामग्री वितरण हुने उनको भनाइ छ ।

राप्ती पारिका कटकुइया, लक्ष्मणपुर, नरैनापुर, मटेहिया, गंगापुर, कालाफाँटालगायतका गाविसमा परिवार नियोजन कार्यक्रम प्रभावकारी हुन सकेको छैन । नेपालगन्ज, कोहलपुरलगायतका सहरी क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको संख्या बढी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खडकाले परिवार नियोजनका लागि विभिन्न सञ्चार माध्ययममार्फत परिवार नियोजनबारे जनचेतनामूलक सन्देश प्रसारण र प्रकाशन गरिरहेको बताए ।

‘स्थानीय स्तरमा पर्चा पम्प्लेट, महिला स्वास्थ्य स्वयंसेविका, धर्मगुरुलगायतलाई परिचालन गरी परिवार नियोजनबारे जनचेतना जगाइरहेका छौँ,’ खडकाले भने, ‘परिवार नियोजनबारे विद्यमान धारणामा परिवर्तन ल्याउन सबै स्वास्थ्य संस्थामार्फत कार्यक्रम सञ्चालन गरिएको छ ।’ बाँकेमा एकीकृत प्रजनन स्वास्थ्य तथा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत बर्सेनि ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको छ ।

Ekantipur