☰ open Loading... 14 December 2024|  

‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्
  | १२ माघ २०७३, बुधबार १२:४८

‘तिरिरी मुरली बज्यो वनैमा’लगायत दर्जनौं चर्चित गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ । बुधवार बिहान साढे ५ बजे ताहाचलस्थित निवासमा उनको निधन भएको हो । १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका शाक्य ८५ वर्षका थिए ।

गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी सपरिवार ताहाचलमा बस्दै आएका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गायनतर्फ उत्कृष्ट भइ उनले स्वर्ण पदक जितेका थिए । उनी २०४० सम्म रेडियो नेपालमा कार्यरत रहे ।

शरदकुमार शाक्यको शब्द रहेको ‘तिरिरी मुरली बज्यो वनैमा‘ गीतमा पन्नाकाजी आफैंले सङ्गीत दिएका थिए । यो गीत उनका छोरा प्रवेशमान शाक्यले गाएपछि नयाँ पुस्ताबीच थप लोकप्रिय बन्यो । नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।

मविवि शाहका रचनाहरु ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ र ‘लोलाएका ती तिम्रा‘ जस्ता गीत गुलाम अलिको स्वरमा रेकर्ड हुनुअघिको पुरानो भर्सन उनैले गाएका थिए । पन्नाकाजीका दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य पनि गायन क्षेत्रमै स्थापित नाम हुन् । बुधबारै टेकु दोभानमा उनको दाहसंस्कार गरिने जेठो छोरा प्रितममानले जानकारी दिए।