☰ open Loading... 3 June 2024|  

मन्त्रालय नै खारेज गरिदिए हुन्छ : गरिबी निवारणमन्त्री
  | १३ माघ २०७३, बिहीबार २३:०५

काठमाडौँ । ‘प्रधानमन्त्रीज्यू, तपाईं पनि गरिबीका लागि सशस्त्र क्रान्ति गरेर आउनुभयो । क्रान्तिमा लाग्दा टाउकाको मूल्यसमेत तोकिएको थियो । म पनि गरिबीका लागि लड्न खोज्दै छु,’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो पोखे, ‘मन्त्रालय एकातिर छ, कार्यक्रम अर्कैतिर । कसरी गरिबी निवारण हुन्छ ?’

Poverty-26012017084228-1000x0

गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन उनले मन्त्री भएको सात दिनबाटै प्रयास गरे । मन्त्रिपरिषद्मा प्रस्ताव लगे । प्रधानमन्त्रीलाई भेटेरै तीन पटकसम्म आग्रह गरे । हार मान्दै थानी भन्छन्, ‘गरिबी मन्त्रालय किन झुन्डाउने रु अब खारेज गरिदिए हुन्छ ।’

तत्कालीन बाबुराम नेतृत्वको सरकारले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरू एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी ०६९ जेठ ५ गते सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको थियो ।

मन्त्री थानीका अनुसार गरिबसँग अन्तरसम्बन्धित ४९ वटा कार्यक्रम छन्, ती १४ वटा मन्त्रालयबाट परिचालित हुँदा गरिबी मन्त्रालयमा एउटा पनि कार्यक्रम छैन । ‘क्याबिनेटमा धेरै पटक कुरा उठाउँदा पनि सुनुवाइ भएन । सरकारसँग गरिब प्राथमिकतामा छैन भन्ने कुरा प्रमाणित भयो,’ थानी भन्छन्, ‘मन्त्रालय मात्रै गठन गरेर गरिबी अन्त्य हुन्न ।’

मन्त्रालय गठन भएपछि एउटा प्रगति भने भएको छ– ३ लाख ९५ हजार गरिबीको रेखामुनि रहेका परिवारको पहिचान । विभिन्न सूचकांकको आधारमा १२ लाख ४० हजार घरधुरीमा गरिएको अनुसन्धानबाट यो पहिचान गरिएको हो । जसमा अति गरिब १ लाख ९० हजार छन् । गरिब १ लाख ८० हजार छन् भने सीमान्तकृत ८४ हजार छन् ।

प्रधानमन्त्री दाहाल उनीहरूलाई परिचयपत्र दिने योजनामा छन् । तर, मन्त्री थानी सामाजिक सुरक्षाका कार्यक्रम समावेश नभएसम्म परिचयपत्र वितरण गर्न नहुने पक्षमा छन् । उनले गरिबीका रेखामुनि रहेका परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा सुविधा दिनुपर्ने योजना अघि सारेका छन् ।

‘परिचयपत्र वितरण गर्न चासो छ । तर उनीहरूलाई सुविधा दिनुपर्छ भन्ने विषयमा कसैको चासो छैन,’ मन्त्रीले भने, ‘कार्यक्रमबिना परिचयपत्र दिनु भनेको गैरसरकारी संघसंस्थालाई कमाउ धन्दा गर्न लाइसेन्स दिनु हो ।’

मन्त्रालयले पास गरी मन्त्रिपरिषदबाट पारित गरेपछि मात्रै परिचयपत्र बनाउने प्रक्रिया अघि बढ्छ । परामर्शदाताबाट परिचयपत्र बनाउन ३५ करोड रुपैयाँको बजेट विनियोजनसमेत भइसकेको छ । तर, परिचयपत्रसँगै सामाजिक सुरक्षाका कार्यक्रम दिने तय नभएसम्म मन्त्री वितरण नगर्ने अडानमा छन् ।

गरिबीको नाममा बर्सेनि अर्बौं खर्च गर्ने गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयमातहत छ । त्यस्तै युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालयसँग छ । गरिबसँग विश्वेश्वर कार्यक्रम स्थानीय विकास मन्त्रालयसँग छ । वास्तविक गरिबी निवारणका लागि भन्दा पार्टीका कार्यकर्ता र शुभेच्छुक पोस्नै बजेट दुरुपयोग हुँदै आएको छ ।

कतिपयले मन्त्री थानीलाई अर्बौंको बजेटमा हालीमुहाली गर्न नपाएका कारण गुनासो पोखेको आरोप लगाउने गरेका छन् । ‘नाम अनुसारको काम हुनुपर्छ भन्ने हो । तर, मैले हालीमुहाली गर्नकै लागि भन्ने ठानिएको हो भने प्रधानमन्त्रीकै अध्यक्षतामा विज्ञसहितको बोर्ड गठन गरेर त्यसैमार्फत कोष सञ्चालन गरौं भन्ने प्रस्ताव पनि गरेको छु,’ उनले भने ।

प्रधानमन्त्रीले कुरा नसुन्ने हो भने गरिबी मन्त्रालय हटाउन आफूले आग्रह गरेको समेत उनले सुनाए । ‘कि कार्यक्रम दिनुहोस्, कि तपाईंले गरिबी मन्त्रालयसमेत लैजानुहोस् भन्दिएको छु,’ तर सुनुवाइ भएको छैन ।’
-इकान्तिपुर