☰ open Loading... 23 February 2024|  

आयोजना मर्मत नहुँदा खानेपानीबाट वञ्चित
  | १४ माघ २०७३, शुक्रबार १२:२३

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्तिपुर खानेपानी आयोजनाको मुहान बगेपछि उपभोक्ता शुद्ध पेयजल पिउनबाट वञ्चित रहेका छन् ।

एक वर्षअघि खोलामा आएको बाढीले आयोजनाको मुहान नै बगाई दिएपछि मर्मत रकमको अभावमा खानेपानी आयोजना सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको आयोजना मर्मत रकमको अभावमा सञ्चालनमा नआएपछि सर्वसाधारण ह्यान्डपम्पको पानी पिउन बाध्य भएका छन् ।

“ह्यान्डपम्पबाट आर्सनिक र आइरन मिसिएको पानी आउने भएकाले खानेपानीको अर्को विकल्प नहँुदा स्वास्थ्यलाई जोखिममा पार्दै यस्तो पानीको प्रयोग गर्न बाध्य छौँ”, स्थानीयवासी कृष्णप्रसाद पन्तले भने । खानेपानी आयोजना सञ्चालन भएको एक बर्ष नपुग्दै पानी आउन बन्द भएपछि उपभोक्ता निकै मर्कामा परेको उनले बताए ।

आयोजनाको मुहान मर्मत गर्न र पाइपको मर्मतसम्भारको कार्य गर्नका लागि बजेट नहुँदा कार्यअगाडि बढाउन नसकिएको उपभोक्ता समितिका उपाध्यक्ष चन्द्रदेव भट्टले बताए ।

“बजेटको व्यवस्था हुने बित्तिकै मर्मतको कार्य सुरु गरी आयोजना सञ्चालनमा ल्याउँछौँ”, उनले भने । खानेपानी आयोजनाले उपभोक्ताका लागि शुद्ध पेयजल पिउनका लागि निर्माण गरेका ५७ धारामध्ये केही क्षतिग्रस्त अवस्थामा समेत रहेका छन् ।