☰ open Loading... 15 October 2024|  

‘व्यवसायिक कर व्यवसायकै हीतमा’
  | १४ माघ २०७३, शुक्रबार १६:५९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायीले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा जोड दिएका छन ।

Adhikari
वीरेन्द्रनगर नगरपालिकाका नयाँ कार्यकारी अधिकृत विमलराज गौतमलाई शुक्रबार संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दे उनले पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गर्नु खुसीको कुरो भएको बताएका हुन् ।

व्यवसायीको हकमा खर्च हुने बजेटले व्यवसायी दिल खोलेर कर तिर्न तयार हुने दावी उनको थियो । करप्रतिको जिम्मेवारी र राज्यप्रतिको अपनत्व बढाउनका लागि करको दरभन्दा पनि दायरा बढाउनुपर्ने आवश्यक्ता रहेको उनले औंल्याए ।

उद्यमशीलता विकासका लागि नगरपालिकाले दिएको तालिम, केवल तालिममा मात्र सीमित भएको भन्दै अध्यक्ष अधिकारीले सार्वजनिक–निजी साझेदारीमा व्यवहारिक र उपयोगी तालिम दिनुपर्ने बताए ।

प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्नका लागि सडकको दुबै छेऊमा जडीबुटीजन्य वोटविरुवा रोपेर हर्बल सीटीका रुपमा विकास गर्नुपर्ने अवधारणापनि उनले अघि सारेका छन् ।

‘यसो गर्न सकिए, बजारको सुन्दरता र स्वच्छतापनि बढ्छ ।’ उनले भने–‘नियमित आम्दानीको श्रोतपनि बढ्नसक्छ ।’ यस्तै, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले वीरेन्द्रनगरलाई आपूmले क्लिन सीटी (सफा शहर) ग्रीन सीटी (हरित शहर) रिच सीटी (सम्पन्न शहर) र ब्राइट सीटी (उज्यालो) शहर बनाउने अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।

संघीय राजधानीका रुपमा रहेको सुर्खेतमा व्यापार व्यवसायका साथै कृषिको व्यवसायिकीकरण र औद्योगिकीकरणका लागि पनि नगरपालिकाका तर्फबाट गर्नसकिने कामबारे छलफल एवं सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जग्गा व्यवसायका नाममा प्लटिङ र खण्डिकरण गर्दा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रान्तीय राजधानीका रुपमा रहेको सुर्खेतलाई सोहिबमोजिम विकास गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिंदै उनले त्यहीअनुसारका पूर्वाधार तथा संरचना निर्माण गर्न तत्काल शुरु गर्नुपर्ने आवश्यक्ता औल्याए ।