☰ open Loading... 3 December 2024|  

‘बैतडी साबुन’ को माग बढ्दै
  | १४ माघ २०७३, शुक्रबार १७:०६

हर्वल साबुन यहाँको गाउँमै उत्पादन हुन थालेको छ । गाउँमै उत्पादित साबुनको माग बढ्दै गएको छ । विसं २०७१ मा स्थापना भएको जिल्लाको श्रीकेदार–२, पीपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै खपत हुन थालेको छ ।

सो साबुनको गुणस्तर वृद्धि हुँदै गएपछि अहिले जिल्लाका विभिन्न बजारसँगै छिमेकी डडेल्धुरा, धनगढी, महेन्द्रनगरबाट समेत माग हुन थालेको उद्योगका सञ्चालक सुरेन्द्र कलौनीले बताए ।

“स्थानीय स्रोत–साधनबाटै बनेको साबुनको माग अत्यधिक रहेको छ,” उनले भने । मानव स्वास्थ्यका लागि उपयोगी मानिने चिउरीको घ्यूबाट बन्ने उक्त साबुन स्थानीय बजारमा निकै खपत हुन थालेको छ । चिउरीको घ्यूसँगै स्थानीयस्तरमा पाइने जडीबुटी इन्नका साथै नरिवल तेल, रसायन बिनाको सूर्यमुखी तेल, निमको हर्वल तेललगायतका जडीबुटीको मिश्रणबाट साबुन बनाउने गरेको कलौनीको भनाइ छ ।

गत वर्षसम्म सो साबुन मासिक एक हजार वटा मात्रै उत्पादन हुने गरेकामा मासिक ३० हजारसम्म उत्पादन गरेर बिक्री वितरण भइरहेको छ । “माग अनुसार उत्पादन गर्न सकिएको छैन,” सञ्चालक कलौनीले भने । लगानी अभावका कारण साबुन उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उत्पादन भएकोमध्ये करिव ७० प्रतिशत साबुन स्थानीय बजारमै खपत हुने गरेको छ । छालासम्बन्धी रोग निको हुने भएका कारण उक्त साबुनको माग बढ्दै गएको बताइएको छ ।

मासिक एक लाखको कारोबार

सिर्जना हर्वल लघु उद्योगका नौजना उद्यमीको समूहले कलौनीलाई साबुन उद्योग सञ्चालनको जिम्मेवारी दिएको छ । कलौनीले जिल्ला विकास समितिको रु एक लाख ९० हजार, लघु उद्यम सामाजको रु एक लाख ५० हजार र समूहको रु दुई लाख लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगमा चार जनाले रोजगारी पाएका छन् । सो उद्योगमा काम गर्दै आउनुभएका कृतराज भट्टका अनुसार प्रतिगोटा साबुनको रु ३० बिक्री भइरहेको छ । मासिक रु एक लाखभन्दा बढीको कारोबार भइरहेको उनले बताए ।

श्रीकेदार, श्रीकोट तथा पुर्चौँडी क्षेत्रबाट चिउरी सङ्कलन गरी उद्योग सञ्चालनमा ल्याइएको हो । अहिले उद्योगमा दैनिक १० किलो चिउरीको घ्यू खपत हुने गरेको छ । चिउरीको घ्यू प्रतिकिलो रु २१० मा खरिद गरिन्छ । स्थानीय कोलमा चिउरी पेल्दा ५० प्रतिशत मात्र तेल निस्किँने भएका कारण आधुनिक चिउरी मिलका लागि विभिन्न निकायसँग आर्थिक सहयोगको पहल भइरहेको भट्टको भनाइ छ ।

बैतडी साबुन उत्पादन गर्ने कलौनी घरेलु तथा साना उद्योगले यस वर्ष उत्कृष्ट उद्यमी पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । यसरी उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै उत्पादन हुने कच्चा पदार्थको सही सदुपयोग हुनुका साथै रोजगारीको अवसर समेत प्राप्त भएको छ ।