☰ open Loading... 3 May 2024|  

बाँके निकुञ्ज टाइगर टुरिजम
  | २० माघ २०७३, बिहीबार १३:०६

बाँके । स्थापनाको केही वर्षमै बाँके राष्ट्रिय निकुञ्ज टाइगर टुरिजम क्षेत्रका रूपमा विकास हुुन थालेको छ । बाघको संख्या बढेपछि टुरिजमका लागि सहयोग पुगेको हो । निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ देखिन थालेको खबर फैलिएपछि पर्यटक आउने क्रम बढेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बाघको संख्या बढ्दै गएकाले अवलोकनका लागि पर्यटक आउन थालेको बताए । ‘स्थापना भएको केही वर्षमा निकुञ्जमा बाघ देखिए । संख्या बढ्दो छ,’ उनले भने, ‘वन क्षेत्र कम भएका कारणले पनि बाघ देख्न सहज भएको हो ।’ निकुञ्जमा बाघको संख्या बढाउन घाँसे मैदान निर्माण गरिएको छ । त्यस्तै, वन्यजन्तुका लागि पानी पोखरी बनाइएका छन् । ६ वर्षअघि स्थापना गरिएको निकुञ्जमा सन् २०१५ मा गणना गर्दा ७ वयस्क र २ डमरु गरी ९ पाटे बाघ भेटिए । यस वर्ष बाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । बाघको संख्या यो वर्ष बढेको अनुमान निकुञ्जको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्यालीमा होमस्टे सञ्चालन गर्दै आएका कृष्ण चौधरीले बाघ हेर्नैका लागि पर्यटक आउने क्रम बढेको बताए । ‘निकुञ्जका बाघ मध्यवर्ती क्षेत्रमा पनि आउजाउ गर्छन् । वन्यजन्तु दिउँसै हेर्न पाइन्छ,’ उनले भने, ‘वन्यजन्तु सहजै हेर्न पाइने भएकाले पर्यटक पनि बढेका हुन् ।’ पर्यटकका लागि जंगल सफारीको व्यवस्था गरिएको छ ।

बाँके निकुञ्जमा कम्दी जैविक मार्ग भएर भारतीय निकुञ्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्ने गर्छन् । साढे ५ सय वर्ग किलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्गकिमि मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ ।