☰ open Loading... 24 February 2024|  

उपचार गर्ने र नगर्ने भन्दै राउटे समुदायमा द्वन्द्व
  | २२ माघ २०७३, शनिबार १७:१६

raute

औषधिको पोको देखेपछि राउटे महामुखिया महिनबहादुर शाहीले सोधे, ‘यो मेडिकलको होकी स्वास्थ्य चौकीको ? मेडिकलबाट किनेको भनेपछि आश्वस्त भए । ६–७ महिनादेखि पेटसम्बन्धी रोगले थलिएकी १९ वर्षीया छोरी ढुंग्या शाहीलाई जाँच गर्न उनले एउटा सर्त तेर्साए, ‘काठमाडौंका डाक्टरसँग मात्र जाँच गराउने ।’

raute1

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर पारस चिपालुले आफ्नो घर काठमाडौं भएको बताए । स्वास्थ्य शिविर लिएर पुगेको टोलीले पनि ‘डाक्टरसाप काठमाडौंकै भएकाले ढुक्क हुन’ आग्रह गर्‍यो । डाक्टर र औषधिबारे निकै सोधीखोजी गरेपछि महामुखियाले छोरीको समस्या सुनाए ।

कुन औषधि कति बेला खुवाउने ? दोहोर्‍याई–तेहर्‍याई सोधे । करिब चार वर्षअघि यिनै महिनबहादुरले पत्नी दुनीको जावलाखेलस्थित अल्का अस्पतालमा खुट्टाको अप्रेसन गराएका थिए । मुखियाले अस्पताल लिएर औषधि उपचार गराएको भन्दै अन्य सदस्यले त्यति बेला महिनबहादुरको विरोध गरेका थिए ।

raute2

बस्तीमा जति विरोध भए पनि खुट्टाको समस्या ठीक भएपछि उनलाई काठमाडौंका डाक्टरप्रति ठूलो भरोसा जाग्न थालेछ । महिनबहादुर समुदायकै परिवर्तनशील अगुवा मानिन्छन् । उदार स्वभावका उनले बिरामी सदस्यलाई उपचार गर्न अनुरोध गरे पनि अन्य मुखियाहरू भने उनको प्रयासमा छेकबार लगाउने गर्छन् ।

‘अस्पताल गएर उपचार गर्नु हुन्न’ भन्ने मान्यताकै सिकार बनेका छन्, एक राउटे युवा । मुखिया वीरबहादुर शाहीका १९ वर्षीय छोरा कपिल आगोले जलेर घाइते भएको १३ महिना बित्यो । घीउ र जडीबुटीले पोलिएको घाउ निको पार्ने प्रयासमै लागे । निको भएन । घाउ बल्झेर शरीरभर फैलिएको छ ।

कपिललाई अत्याधुनिक अस्पताल लगेर उपचार गर्न पोहोरदेखि बस्ती धाइरहेका दीपेश पुन केही अघि सुर्खेतबाट एम्बुलेन्स लिएरै गए । तर राउटेले उपचार गराउन मानेनन् । अछामको नाडास्थित राउटे बस्ती पुगेका उपराष्ट्रपति पुत्र दीपेश यसपल्ट पनि निराश भएर फर्किए ।

कपिल हिँडडुल गर्न सक्दैनन् । हात–खुट्टा सुक्दै गएका छन् । तर, उनी उपचार गर्न डराइरहेका छन् । बस्तीमा पुगेका चिकित्सकसँग कपिलले उपचार गर्न जाँदा बाटोमा घाउ दुख्ने चिन्ता सुनाए । ‘घाउ दुख्यो भने के गर्ने ? सुई लगाएपछि झन् दुख्ला ?’ उनले डाक्टरसँग भनेका थिए, ‘उता (अस्पताल) गएर दु:ख पाउनुभन्दा बरु यतै ठीक छ ।’

अनेक सम्झाइ–बुझाइ गर्दासमेत कपिल र, उनको परिवारले मानेन । उपचार गर्नुपर्छ र गर्नु हुन्न भन्ने दुई थरी वर्गमा राउटे विभाजित छ । ‘एउटा तप्काले कपिललाई अस्पताल पठाउँ भन्छ’ दीपेश भन्छन्, ‘अर्कोथरी बीचैमा आएर हुन्न भनेर भड्काइहाल्छ ।’ एक किसिमले यो जातिमा स्वास्थ्य उपचारको बहसले स्थान पाइरहेको छ ।

raute3

उपचार गर्नुपर्छ भन्ने विचारको पक्षमा महामुखिया महिनबहादुर र, गर्नै हुन्न भन्ने पक्षमा मुखियाहरू वीरबहादुर शाही र सूर्यनारायण शाहीले नेतृत्व गरेका छन् । कसैले आदेशविपरीत औषधि ल्यायो, उपचार गरायो भने आफ्नै भाषा खाम्सीमा उसलाई हर्पार्ने गर्छन् । केही दिनअघि त्यहाँ आयोजित एक शिविरमा बिरामीको संख्याभन्दा निकै कमले मात्र स्वास्थ्य जाँच गराए ।

राउटे समुदायमा बालकदेखि वृद्धसम्मले काठको काम गर्छन् । काठे सामग्री बनाउँदो हात, खुट्टा काटिने समस्या हुन्छ । काटिएको उपचार गर्दैनन् । जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलिएका उस्तै हुन्छन् । अधिकांश कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित छन् ।

एकातिर जंगलको कष्टकर बसोबास र, अर्कोतिर ‘औषधि उपचार गर्नु हुन्न’ भन्ने मान्यताका छन् राउटेहरू । पश्चिम नेपालको मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायको आधुनिक औषधि उपचार पद्धतिप्रति खासै भरोसा छैन । ‘जंगलमा बस्नेले पनि अस्पतालमा गएर उपचार गर्छ ? गर्दैन,’ मुखिया सूर्यनारायण भन्छन् । ‘तपाईंहरू दुनियाँ, हामी राउटे । तपाईं राउटे हुनुस् हामी दुनिया हुन्छौं,’ उनी भन्छन्, ‘त्यसैले दुनियाँले जे–जे गर्छ । राउटेले त्यही गर्न सक्दैन ।’

raute4
राउटेको संख्या १ सय ४९ छ । दुई वर्षअघि १ सय ९० हाराहारी थियो । साउनयता मात्रै अकालमा पाँच जनाको मृत्यु भइसकेको छ । विभिन्न अनौपचारिक अध्ययनले यो संख्या बर्सेनि घट्दै गइरहेको देखाएको छ । राउटेहरू गणना गर्न दिन्नन् । त्यसैले वास्तविक संख्या पत्ता नलागेको हो ।

अहिलेसम्म उनीहरूको जनगणना भएको छैन । एक प्रकारले यो जाति राज्य संयन्त्रको परिधिदेखि टाढा छ । नागरिकता बनाउँदैनन् । भन्छन्— राउटेलाई किन चाहियो नागरिकता ? त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका प्राध्याक डा. नन्दबहादुर सिंहले राउटे संस्कार, संस्कृतिमाथि अहिलेजस्तै आक्रमण भए यो जातिको अस्तित्व हराउन धेरै वर्ष पर्खनुनपर्ने बताउँछन् ।

भन्छन्, ‘राउटे वंश, धर्म संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति पृथ्वीबाट लोप हुनु दुर्भाग्य हो । सरकार गम्भीर भएको देखिएन् ।’ लोपोन्मुख भत्ता दिएर मात्र सरकार पन्छिन नमिल्ने उनको भनाइ छ । राउटे वंशको सुरक्षा महत्त्वपूर्ण सवाल हो ।

‘मानसिक रूपले स्वस्थ भए पनि शारीरिक एवं भौतिक रूपले उनीहरूको अवस्था रुग्ण बनेको पाइयो,’ मध्यपश्चिम क्षेत्रीय अस्पतालका चिकित्सक डा. पारस चिपालु भन्छन्, ‘भोलिको चिन्ता नहुँदा अन्य जातिको तुलनामा मानसिक रूपले राउटे धेरै स्वस्थ छन् । यो स्वास्थ्य विज्ञानकै लागि नौलो र खुसीको कुरा हो ।’

राउटे समुदायमा शिशु मृत्युदरसमेत उच्च छ । मुखिया वीरबहादुर शाहीका १४ सन्तानमध्ये हाल पाचमा जीवित छन् । दुई ठूलो उमरेमा बितेको र अन्य पाँच वर्षमुनिमै बिते । ‘पाँच वर्षको उमेरसम्म बचाउन गाह्रो हुन्छ,’ प्राणीशास्त्री सिंहले भन्छन्, परिवार नियोजन, गर्भनिरोधक साधन प्रयोग नगर्ने हुँदा प्रजनन दर उच्च छ ।

सँगसँगै शिशु मृत्युदर पनि उच्च छ ।’ अधिकांशले आफ्नो प्रजनन अवधिभर १० भन्दा बढी सन्तान जन्माएको बताउँछन् । तीमध्ये ६० प्रतिशतको अकालमै मृत्यु गरेको पाइएको छ । प्रा. नन्दबहादुर सिंह राउटेलाई राज्यले संरक्षित मानव समुदायका रूपमा विकास गर्नुपर्ने धारणा राख्छन् ।

राउटे कला, भाषा, संस्कृति, परम्परा, वेशभूषाको जगेर्ना हुनुपर्छ,’ उनी भन्छन्, भत्ता रकम कुलतमा खर्च हुन नदिन ध्यान दिनुपर्छ ।’ सरकारले चालु आवदेखि भत्ता बढाएर प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । राउटे परिभ्रमण क्षेत्रका जंगलमा कन्दमूल खेती गर्ने, काठसामग्रीको बजारीकरणको व्यवस्था गर्ने, बस्तीलाई ‘टुरिस्ट एरिया’ को रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।

ekantipuer