☰ open Loading... 18 May 2024|  

मुगुमा स्याउ गोडमेलको चटारो
  | २६ माघ २०७३, बुधबार ०९:५५

mugu

मुगु । कार्कीबाडा गाविसस्थित ताल्चाका जसु भामको परिवारलाई स्याउको बोट काँटछाँट र कलमी गर्ने चटारो बढेको छ । उनको स्याउ नर्सरीमा करिब ७ हजार बिरुवा छन् । कममी गर्ने सिजन चलेकाले पूरै परिवारलाई भ्याइनभ्याई छ ।

सात हजार स्याउको बिरुवाबाट दुई लाखभन्दा बढी कमाइ हुने भामको भनाइ छ । ताल्चा गाउँकै गोर्ख भामको परिवार पनि स्याउ काटछाँट र गोडमेलमा व्यस्त छ । उनीहरू मात्र होइन, स्याउको बोट पलाउने र फूल फुल्ने मौसम सुरु भएपछि लेकाली भेगका किसान यही काममा व्यस्त हुन्छन् ।

स्याउको टुप्पो काट्ने, नर्सरीमा कलमी गर्ने, ठूलो बोटको फेदमा नीलो तुथो रंग लगाउने काममा किसानको व्यस्तता बढेको हो । केही भने नयाँ बिरुवा लगाउने खाल्डो खन्न व्यस्त देखिन्छन् ।

अन्य काम छोडेर स्याउ काटछाँट र कलमीतिर लागेको भामले बताए । उनका अनुसार मौसमअनुसार खेती नगरे राम्रो फल लाग्दैन । हिमपात समयमै भएकाले यो वर्ष स्याउ धेरै फल्ने उनको आशा छ । ताल्चा, माथितुम, कालापाल्त, बाम, मैतु, सोरुकोट, ख्याल्चा, सोवा, घट्टलेख, लुवाहारपोल्नालगायत बस्तीमा स्याउ उत्पादन हुने गरेको छ ।

उच्च लेकाली बस्तीका किसानले स्याउ सिँचाइका लागि हिउँसमेत जम्मा गरेका छन् । यातायात सुविधा पुगेपछि ढुवानी सहज हुँदा व्यावसायिक खेतीमा किसानको आकर्षण बढदै गएको स्थानीयले बताए । जिल्ला कृषिका उमाकान्त भण्डारीले स्याउमार्फत यहाँका किसान आत्मनिर्भर बन्न थालेको जनाए । किसानले कलमी गरेको स्याउ प्रतिबोट ३० रुपैयाँमा बिक्री गर्छन् ।

इकान्तिपुर