☰ open Loading... 18 May 2024|  

सुर्खेतका युवाले बिनाधितो अब पाँच लाख ऋण पाउने
  | २६ माघ २०७३, बुधबार १३:४९

सुर्खेत । रोजगारीका लागि दिनप्रति दिन विदेशिने युवाहरुलाई स्वदेमै रोजगारीमा आकर्षित गर्नका लागि सुर्खेतमा ग्रामीण युवा उद्यम कार्यक्रम लागु भएको छ । युवाहरुलाई विभिन्न व्यवसायमा आकर्षित गरी स्वरोजगारी प्रदान गर्ने उदेश्यले युवाहरुका लागि कार्यक्रम सहित विभिन्न रणनितिहरु सार्वजनिक गरिएको छ ।

Youth-office-skt
जिल्ला युवा समितिको कार्यालय सुर्खेतका कार्यालय प्रमुख भोजराज शर्माले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यले युवाहरुलाइ सरकारले बिना व्याज, बिना धितोमा ५ लाख रूपया प्रदान गर्ने जानकारी दिएका छन् । उक्त रकम ५ वर्षमा फिर्ता गर्नपर्ने प्रावधान रहेको शर्माको भनाई छ । समितिले सञ्चालन गर्ने कार्यक्रमहरु ग्रामिण ईलाका लक्षित हुनेछन् ।

कार्यालय व्यवस्थापनसहित यो वर्षका लागि नमूना कार्यक्रमका रुपमा युवा उद्यम कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । यो कार्यक्रम जिल्लाका ३ निर्वाचन क्षेत्रका १-१ वडा छनौट गरी सञ्चालन हुनेछ । सुर्खेतका युवाहरुलाई स्वरोजगार तालीमका लागि १० जना युवालाइ छनोट गरी मोबाइल मर्मत सम्बन्धी तालीम पनि दिइने शर्मा बताउँछन ।

सरकारले दश वर्षे रणनिती अनुसार युवाहरुलाई २०२५ सम्ममा राष्ट्र निर्माण कार्यमा लगाउने गरी यी तालीमहरू सञ्चालन गरीने शर्माको भनाई छ । कार्यलयले यस आर्थिक बर्षका लागि ग्रामीण युवा उद्यम, युवा उत्सव तथा महोत्सब, समाजमा युवाका लागि एक दिन, जिल्ला स्तरका युवाको प्रतिभाको खोजी लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने जनायो ।

यस्तै उद्यमीको खोजी र उनिहरूको कार्यलाइ प्रोत्साहन, युवा प्रतिभा पहिचान लगायतका कार्यक्रम स्वीकृत गरेको जिल्ला युवा परिषद्का अध्यक्ष टेकेन्द्र बस्नेतले जानकारी दिए । राष्ट्रिय यवा नीति २०७२ अनुसार गठन भएको युवा परिषद्ले अब युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीबाट मुक्त र सामाजिक काममा अग्रसर बनाउन विशेष काम गर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

यो वर्षको कार्यक्रममा समाजका लागि युवाको एक दिन भन्ने कार्यक्रम अन्तरगत कुनै एक दिन युवाहरुलाई सामाजिक काममा अग्रसर गराएर युवाहरुलाई अधिकारसंगै दायित्वबोध गराउने तर्क उनको छ ।