☰ open Loading... 24 February 2024|  

३१ वर्षपछि परीक्षण उडान हुँदै
  | २९ माघ २०७३, शनिबार ०९:३८

निर्माण सुरु भएको ३१ वर्षपछि बहुचर्चित कालिकोटको कोटवाडा विमानस्थलको अाज  (शनिबार) परीक्षण उडान हुने भएको छ । कोटवाडा विमानस्थलमा शनिबार नेपालगन्जबाट आएको तारा एयरले परीक्षण उडान गर्ने भएको हो । यहीँको विमानस्थलमा काम गर्ने ३५ जना कामदार सशस्त्र द्वन्द्वको बेला सेनाबाट मारिएका थिए ।

A320_Nepal_Airlines_01
फायल तस्वीर

०६१ मा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि कालिकोट राजाको भ्रमण अवरुद्ध गर्न सेना र माओवादीबीच कोटवाडामा ४८ घण्टा दोहोरा भिडन्त भएको थियो ।

कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व त कहिले उपभोक्ता समितिको ठगीले काममा ढिलाइ हुँदै आएको विमनस्थलको चार वर्षमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गहादुर विश्वकर्माको पालामा विमानस्थल सञ्चालन गर्ने भनिए पनि ढिलाइ हुँदै आएको थियो ।

तत्कालीन मन्त्री विश्वकर्माको पहलमा कोटवाडा विमानस्थल सम्पन्न गर्न ७ करोड रकम विनियोजन गरिए पनि उपभोक्ता समितिको विवादले कामले गति लिन सकेन । कोटवाडा विमानस्थल सञ्चालनका लागि हालका हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले यसअघि दुईपटक विमानस्थलको कामको अनुगमन गर्दै माघभित्र परीक्षण उडान गर्ने बाचा गरेका थिए ।

कर्णालीका अन्य चार जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाबासीले हवाई जहाज चढ्न पाए पनि कालिकोटबासीको वर्षौं पुरानो जहाज चढ्ने धोको कहिले पूरा हुने छाँट छैन । विमानस्थल नहुँदा कालिकोटको लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकु, मेहेलमुडीलगायतका गाविसका बासिन्दाले आवतजावत र सामान ढुवानीमा सास्ती खेप्दै आएका थिए ।

०७० को संविधानसभाको चुनावमा एमाओवादी, कांग्रेस, एमाले र राप्रपा ४ वटै प्रमुख दलका उम्मेदवारले पहिलो प्राथमिकतामा राखेर कोटवाडा विमानस्थल एक वर्षभित्रै सञ्चालनमा ल्याउने चुनावी नारा बनाए पनि त्यसपछि कसैको चासो नदेखिएको नागरिक समाजका अगुवा वीरेन्द्रबहादुर बुढाले बताए ।

यहीँका माओवादी नेता विश्वकर्मा पर्यटन तथा नागरिक उड्डयनमन्त्री र मनरूप शाही हवाई प्राधिकरणका अध्यक्ष भएपछि विमानस्थल बन्छ कि भन्ने लागेको थियो ।

तर, कुनै प्रगति नभएको कांग्रेस महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्टले बताए । ‘कालिकोटको एयरपोर्ट निर्माणको ढिलाइ राज्यको कर्णालीप्रति गरेको उपेक्षा हो,’ जिल्ला बारका अध्यक्षसमेत रहेका विष्टले भने, ‘बजेट विनियोजन गरेर पनि हुँदैन रहेछ ।’ कर्णालीकै युवा जीवनबहादुर शाही पर्यटनमन्त्री बनेकाले यसपटक विमानस्थल सञ्चालनमा आउन लागेको विष्टले बताए ।

इकान्तिपुर