☰ open Loading... 14 November 2024|  

स्यालले टाेक्दा २० जना घार्इते
  | ७ फाल्गुन २०७३, शनिबार १५:४१

सुर्खेत । स्यालको टोकाईबाट पूर्वी सुर्खेतमा २० जना घाईते भएका छन् ।

भेरीगंगा र शुभाघाट गंगामाला नगरपालिका लगायतका क्षेत्रहरुमा शुक्रबार साँझ स्यालले टोक्दा उनीहरु घाईते भएका हुन् ।

स्यालको टोकाईबाट शुभाघाट गंगामालाका इतेश खत्री, नारायण खत्री, बिमला परियार, वीरबहादुर कार्की, गीता कार्की, शशीराम विक, प्रमोद विक, रेजिना शर्मा, बबिता परियार लगायत घाईते भएको सूर्यज्योती उच्च माविका शिक्षक काजी थापाले जानकारी दिएका छन् ।

उनका अनुसार घरमा बसिरहेको बेला स्यालले टोकेको थियो ।

घाईतेहरुको मेहलकुना अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।

तर घाईतेहरुलाई लगाउने इन्जेक्सन नहुँदा समस्यामा परेको थापाको भनाई छ । गाउँलेलाई टोक्ने एक स्याललाई भने स्थानीयले लखेर मारेका छन् ।

मारेको स्यालको टाउको परिक्षणका लागि अस्पतालको ल्याबमा राखिएको छ । घाईतेहरूलाई थप उपचारका लागि काठमाडौ पठाउने तैयारी भएको थापाले जानकारी दिए ।

स्यालको विगविगी बढेपछि जिल्ला जनस्वास्थ्य सुर्खेतका प्रमुख र विशेषज्ञ डक्टरसहितको टोली शुभाघाट पुगेको छ । विगत दुई वर्ष अघि पनि यो क्षेत्रमा स्यालले स्थानीयलाई टोकेको थियो ।