☰ open Loading... 17 May 2024|  

सुस्तायो ट्राफिक चेकजाँच
  | ९ फाल्गुन २०७३, सोमबार ०८:२०

सुर्खेत सदरमुकाम वीरेन्द्रनगर प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा चलिरहेको छ । प्रत्येक दिन वीरेन्द्रनगरमा सवारीको चाप पनि बढ्दो छ । तर सवारी सधान संख्यात्मक रुपमा बढ्दै गएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय भने जाग्न सकेको छैन । वीरेन्द्रनगरमा  ट्राफिक प्रहरी सक्षम हुन सकेको छैन ।

धुलियाविटदेखी मुलपानीसम्म निर्माधिन फोर लेन सडक र भित्री शहरका साँघुरा सडकमा तिव्र गतिमा ह्वीकाउने सवारी साधनले आवतजावतमा सास्ती हुने गरेको छ । उपत्यकामा मात्र पछिल्लो समय  धुलियाविट, भैरवस्थान र बुलबुले गेट नजिकै डर लाग्दा तीन दुर्घटनाले तीन जनाको मृत्यु भएको छ भने विच बजारमा दुई बस एक आपसमा जुध्दा क्षतीग्रत भए । तर यो दुर्घटनामा मानविय क्षती भएन् ।

  यी मुख्य चार घटनाको मुख्य कारकतत्व तीव्र गती नै भएको ट्राफिक प्रहरीको निष्कर्ष छ । वीरेन्द्रनगरका भित्री सडक साँघुरा हुनु र सवै क्षेत्रमा ट्राफिक प्रहरी उपस्थिती हुन नसक्दा मनपरी सवारी हाक्नेको मनोवल बढ्दै छ । बुद्धपथ लाईन, गणेशचोकदेखी बुलबुले गेट, मंगलगढीदेखी यरीचोक र यरीचौकदेखी वीरेन्द्रचोकसम्म सडक अति व्यस्त सडक हुन् । विदाका दिन बाहेक अन्य दिनमा यी सडक अस्त व्यस्त हुन्छन । सडकको स्तर सुधार्ने निकाय मौन हुनु र सडकसम्म मनपरी थुपारिने सामग्रीले वीरेन्द्रनगरको सौन्र्दयता नै क्रुप बनेको छ ।

  सुर्खेतमा हाल १७ हजार ३ सय ५८ मोटरसाइकल, ५ सय २८ बस, ४ सय ७४ ट्याक्टर, ३ सय ३२ ट्रक, १ सय ९४ जीप, १ सय ६५ पावर टेलर, २ सय अटो रिक्शा र २३ ओटा जेसीभी दैनिक सञ्चालनमा छन् ।

  सम्भावित राजधानीको चर्चा गरिरहने यहाँका राजनीतिक दल र सारोकारवाला निकायले भरपर्दो बसपार्क निर्माणमा चासो नदेखाउँदा पनि ट्राफिक व्यवस्थापनमा चुनौती र दुर्घटनाको त्रास उत्तिकै छ । चालु आर्थिक वर्षको  ९ महिनासम्म ३९ सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।

ट्राफिक कार्यालयको तथ्यांक अनुसार २६ जना गम्भीर घाईते र ९६ जना सामान्य घाईते छन् । झण्डै एक महिनादेखी जिल्ला ट्राफिक कार्यालय प्रमुखविहीन छ ।  कार्यालय नै प्रमुखविहीन हुँदा ट्राफिक सक्रियता नै कम हुने गरेको स्थानीयको तर्क छ ।

  ‘मनपरी सवारी हाक्ने बढ्दा पनि ट्राफिक प्रहरी कारवाही नै गर्दैन’ नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय भन्छन्–‘दयनिय सडकको अवस्थाले दुर्घटना बढ्दा समेत ट्राफिकले आफ्नो सक्रियता बढाउन नसक्नु दुःखद् पक्ष हो ।’ सुर्खेत उपत्यकाको मंगलगढी चौक, वीरेन्द्रचौक, यरीचौक, कपासे, बाँगेशीमल र धुलियाविटमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने स्थान हुन् ।

 पछिल्लो समय यी स्थानमा ट्राफिक उपस्थिती नै न्युन हुनेको छ । ट्राफिक प्रहरीको उपस्थिती भएको स्थानमा पनि चेकजाँच नहुँदा सवारी चालकहरुको दादागिरी हुने गरेको छ ।

 ट्राफिक कार्यालय प्रमुखविहिन 

जिल्ला ट्राफिक कार्यालय सुर्खेत झण्डै  एक महिनादेखी प्रमुखविहीन छ । प्रहरी नायव निरीक्षक हर्क रावलको सरुवा भएपछि कार्यालय प्रमुखविहीन भएको हो ।  रावलको सरुवा भएपछि निमित्तको जिम्मा सई भिम खत्रीलाई दिएको थियो । खत्रीले कार्यसम्पादन राम्रो नगरेकोले क्षेत्रमा तानेको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुर बाँकेका प्रमुख कमल खरेलले जानकारी दिए ।

  उनले नयाँ सईको कमाण्डमा नियमित कार्य सम्पादन गर्न निर्देशन दिएकाले सुर्खेतको ट्राफिक व्यवस्थापन प्रभावकारी हुने दावी गरे । सुर्खेतमा हाल २६ जना ट्राफिक प्रहरी कार्यरत छन् । प्रमुख  नहँुदा जिल्ला ट्राफिक सुर्खेतको काम कार्वाही पनि सुस्ताए अनुभूति यहाँका नागरिकहरुको छ ।

  मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका सुर्खेतका डिआईजी माधव नेपालले जिल्ला ट्राफिक प्रमुखका लागि क्षेत्रीय प्रहरी कार्यालयले विभागमा मागसहित पत्र पठाई सकेको जानकारी दिए ।

  उनका अनुसार क्षेत्रबाट माग भई सकेकाले ट्राफिक कार्यालयमा केही दिन भित्रै नयाँ ट्राफिक प्रमुखलाई आउने छन् । हाल जिल्लाको ट्राफिक कार्यालय सुर्खेतको निमित्त जिम्मेवारी देवबहादुर विष्टले सम्हाल्दै आएका छन् ।

देखिने काम गर्छु : विष्ट

 जिल्ला ट्राफिक कार्यालय सुर्खेतको शनिबार मात्रै निमित्तको जिम्मेवारी पाएका सई देवबहादुर विष्टले नियमित चेकजाँचमा कडाई गर्ने बताएका छन् ।  विष्टले आफूले जिम्मेवारी पाएको दिनदेखी छड्के चेकजाँच र चौकमा ट्राफिक सक्रियता बढाएको दावी गरे ।

उनले ट्राफिक प्रहरीले तिव्र गतिमा गरिरहेको बताउँदै यस भन्दा पहिला अर्को सरको कमाण्ड थियो, उहाँ विरामी चेकमा जाँचमा केही सुस्ताएको सत्य भएको उल्लेख गरे । ‘जनशक्ति नै कम हुदाँ ट्राफिक व्यवस्थापनमा समस्या भएको छ’ विष्टले भने,–‘सवै ट्राफिकको भर पर्नुभन्दा स्थानीयले पनि उत्तिकै सहयोग गरेमा ट्राफिक व्यवस्थापनामा सहजता हुन्छ ।’

 ट्राफिक प्रहरीले गर्ने काम कारवाही तिव्र गतिमा बढाउँदा पनि यहाँको सडक, पार्किङ्ग अभाव र मनपरी बाटो काट्ने प्रवृत्तिले केही गरेजस्तो नदेखिएको उनको दुखेसो छ ।

स्रोतः सिद्धदर्शन दैनिक