☰ open Loading... 3 May 2024|  

चन्दा उठाएर निकुञ्जमा तारबार
  | १५ फाल्गुन २०७३, आईतवार १९:५१

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महाकाली किनारसँग जोडिएको पश्चिमी क्षेत्रमा स्थानीय आफैंले चन्दा उठाएर तारको बार लगाउन थालेका छन् । उनीहरूले निकुञ्ज किनारको बस्तीबाट सक्दो सहयोग संकलन गरेर घेरा हाल्न लागेका हुन् ।

निकुञ्जको हात्तीसार क्षेत्रमा महाकाली किनारदेखि ३ किलोमिटर क्षेत्रमा तारबार गरिन लागेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दाको साढे ४ लाख, तराई भूपरिधि कार्यक्रमको १४ लाख र राष्ट्रिय प्रकृति संरक्षण कोषको ३ लाखसमेत साढे २१ लाख सहयोगमा यसै सातादेखि तारबार लगाउने काम सुरु भएको शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुस्करबहादुर सिंहले बताए ।

करिब १ महिनामा उक्त क्षेत्रमा तारबारको काम पूरा भइसक्ने अध्यक्ष सिंहले बताए । फलामको खम्बा कंक्रिटमा गाडेर त्यसमै तारबार लगाइनेछ । यस्तो खालको तारबार निकुञ्ज किनारमै पहिलो पटक लगाइन लागेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अनिल प्रसाईंले बताए । ‘मध्यवर्ती क्षेत्रका गाईबस्तु निकुञ्जभित्र प्रशस्त मात्रामा यहींबाट पस्छन्,’ सिंहले भने, ‘तारबार गरेपछि निकुञ्जभित्रका वन्यजन्तु बस्तीमा आउने क्रम पनि कम हुन्छ र गाईबस्तु पनि निकुञ्जभित्र पस्न रोकिन्छन् ।’ उनले निकुञ्जभित्र गाईबस्तु पस्न र मध्यवर्ती क्षेत्रका बासिन्दाको बालीनालीमा सानातिना वन्यजन्तु पस्नबाट तारबारले रोक्ने बताए ।

निकुञ्ज किनारका कृषक वन्यजन्तुका कारण बर्सेनि हैरानी खेप्दै आएका छन् । हात्तीसँगै बँदेल र चित्तल लगायतका वन्यजन्तु खेतमा पसेर अन्नबाली भित्र्याउन पाउँदैनन् । हात्तीलाई रोक्न नसकिए पनि सानाखालका वन्यजन्तु रोक्न तारबारले सहयोग पुग्ने कृषक बताउँछन् ।

तारबार जडान भएपछि त्यसको रेखदेख तथा संरक्षणको जिल्ला सम्बन्धित क्षेत्रका स्थानीयकै हुनेछ । तारबार पर्ने क्षेत्रका जग्गाधनीबाट संरक्षणको प्रतिबद्धता लिएर जडान गरिन लागेको अध्यक्ष सिंहले बताए । उनले स्थानीयले चन्दासँगै तारबार हाल्ने कार्यमा समेत श्रमदान तथा अन्य सहयोग गरिरहेको बताए ।

‘यसले स्थानीयलाई अपनत्व ग्रहण गर्न सजिलो हुन्छ’ निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले भने, ‘त्यही भएर स्थानीयकै आर्थिक सहयोगबाट तारबार हाल्ने काम भइरहेको हो ।’ उनले उक्त क्षेत्रमा विगतमा समेत तारबार हालिए पनि स्थानीयले संरक्षणमा ध्यान नदिएका कारण जोगिन नसकेको बताए ।

हात्तीसार क्षेत्रमा निकुञ्ज किनारको लामो दूरीमा तारबार नहुँदा गाईबस्तु सोझै भित्र पस्ने गरेका छन् । यहींबाट भित्र पसेका गाईबस्तु निकुञ्जमा महिनौंसम्म चर्ने गरेका छन् । जसका कारण वन्यजन्तुमा विभिन्न किसिमका रोग लाग्ने खतरा समेत बढ्छ । ‘तारबार लागेपछि यो समस्या समाधान हुन्छ,’ सहायक संरक्षण अधिकृत घिमिरेले भने ।