☰ open Loading... 19 June 2024|  

मप विश्वविद्यालय सुर्खेतमा, सिनेट बालुवाटारमा
  | १९ फाल्गुन २०७३, बिहीबार १३:५४

सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा ९सिनेट० प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालय ‘क्वार्टर’ बालुवाटारमा हुने भएपछि जिल्लामा तीव्र विरोध भएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय भए पनि बालुवाटारमा सिनेटको स्थान तोकिएपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् । तत्काल स्थान परिवर्तन गरेर जिल्लामै सिनेट सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ ।

विश्वविद्यालयको आर्थिक आयव्यय, नियमावली संशोधन, आंगिक क्याम्पस तथा सम्बन्धन प्रदान र अन्य महत्ववपूर्ण योजना स्वीकृत गर्ने सिनेट जिल्लाबाहिर तोकिएको भन्दै सिनेटका सभासद्ले नै असन्तुष्टि व्यक्त गरेका हुन् । सार्वजनिक चासो र महत्ववको सिनेट प्रधानमन्त्रीको निजी क्वार्टरमा आयोजना गर्न लागिएको भन्दै विरोध सुरु भएको हो ।

विश्वविद्यालयले आउँदो चैत २ गतेका लागि प्रधानमन्त्रीको बालुवाटारस्थित निजी सचिवालयमा सिनेट सम्पन्न गर्ने भन्दै पत्राचार गरिसकेको छ । यस क्षेत्रका नागरिकको आन्दोलनको बलमा स्थापना भएको विश्वविद्यालय सुर्खेतमा रहेको तर सिनेट राजधानीमा हुँदा यसअघि पनि विरोध हुँदै आएको थियो ।

विश्वविद्यालयले भने यसपटकको सिनेट प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको व्यस्तताका कारण जिल्लामा आयोजना गर्न नसकिएको दाबी गरेको छ । गत जेठमा भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वीरेन्द्रनगरमै सिनेट सम्पन्न भएको थियो । उक्त कार्यको यहाँका सर्वसाधारणले समेत प्रशंसा गरेका थिए ।

पदाधिकारीको मनोमानीका कारण राजधानीमा सिनेट तोकिएको र यसले आफूहरूको भावनामा चोट पुगेको जिल्लाबासीको गुनासो छ । उनीहरूले तत्काल स्थान परिवर्तन गरेर जिल्लामै सिनेट सम्पन्न गर्न विश्वविद्यालसँग आग्रह गरेका छन् ।

सिनेटका सभासद्समेत रहेका एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले कुनै पनि हालतमा जिल्लामै सिनेट हुनुपर्ने बताए । ‘जिल्लाको भावनालाई बेवास्ता गरिनुहुँदैन, प्रधानमन्त्रीको क्वार्टरमा सिनेट किन रु अरू काममा तामझाम गर्दै खर्च गर्ने विश्वविद्यालयले अब कुलपतिलाई जिल्लामै ल्याएर सिनेट गर्ने आँट गरोस्’, उनले भने, ‘सिनेटका लागि एक दिनको समय दिन नसक्ने प्रधानमन्त्रीले किन विश्वविद्यालयको कुलपति हुनु रु ’ विश्वविद्यालयका सबै क्रियाकलाप जिल्लामै हुँदा यस क्षेत्रका जनतामा अपनत्व बढ्ने र विश्वविद्यालयको साख पनि बढ्ने उनको भनाइ छ ।

विश्वविद्यालय स्थापना भएपछिका प्रायः सिनेट राजधानीमा सम्पन्न गरिएपछि यसअघि पनि सर्वत्र आलोचना भएको थियो । विश्वविद्यालयका रजिस्टार डा। महेन्द्रकुमार मल्लले पनि प्रधानमन्त्रीको व्यवस्तताले बालुवाटारमा सिनेट आयोजना गरिएको दाबी गरे । ‘यो नियमित सिनेट हो, त्यहाँ कुनै दीर्घकालीन निर्णय पारित हुँदैनन् । विश्वविद्यालयको दीक्षान्त समारोहको मिति टुंगो लगाउन हतारमा सिनेट आयोजना गरेका हौं, विस्तृत सिनेट आउँदो साउनमा जिल्लामै हुनेछ’, उनले भने ।

स्थानले कुनै फरक नपर्ने भन्दै मल्लले कुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सुर्खेत आउने समय नभएकाले राजधानीमा आयोजना गर्नुपरेको उल्लेख गरे । सिनेटले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको मिति निर्धारण गर्नेछ । सिनेटले विश्वविद्यालयको वार्षिकोत्सवको अवसर पारेर आगामी असार ३ गतेका लागि दीक्षान्त समारोह तोक्ने सम्भावना छ ।

मप विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले भने सिनेट जहाँ भए पनि त्यसले पारित गर्ने एजेन्डा महत्वपूर्ण हुने प्रतिक्रिया दिए । सम्भव भएसम्म जिल्लामै गर्दा सकारात्मक सन्देश प्रवाह हुने र राजधानीमा गरे पनि निर्णय विश्वविद्यालय समृद्धिको पक्षमा हुनुपर्नेमा उनले जोड दिए ।

विश्वविद्यालयले यही फागुन ४ गते सिनेटका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सिनेटका लागि पत्राचार गरेको थियो । तर प्रधानमन्त्री दाहालले आफ्नो कार्यतालिका व्यस्त रहेको र जिल्लामा आउन समय नभएको भन्दै आफ्नो निजी सचिवालय बालुवाटारमा सिनेटको स्थान तोकेका हुन् ।

Scoure : annpurnapost