☰ open Loading... 22 June 2024|  

राप्रपाको बैठकमा रेखा थापा अनुपस्थित, नेपालगञ्जमा बालबालिकासँग मस्त
  | १९ फाल्गुन २०७३, बिहीबार १५:३४

चलचित्र क्षेत्रबाट नाम कमाएर राजनीतिमा हामफालेकी नायिका रेखा थापा राप्रपा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमै सहभागी हुन भ्याइनन् । फिल्म लाइनकै काम परेकाले रेखालाई बैठकमा सहभागिता जनाउने फुर्सद नभएको हो ।

हालै सम्पन्न राप्रपाको महाधिवेशनमा रेखा थापा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । महाधिवेशनपछिको पहिलो बैठक बिहीबारदेखि पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । यो बैठक शुक्रबार पनि जारी रहनेछ ।केन्द्रीय सदस्य रेखा नेपालगञ्जमा रहेकाले बैठकमा सहभागी हुन नसकेकी हुन् । त्यहाँ उनी दलित र महिलाहरुको पक्षमा बन्न सामाजिक सन्देशमूलक चलचित्र ‘राजारानी’ को कामका लागि पुगेकी हुन् ।

‘चलचित्रको कामले मात्रै होइन, अरु पनि कामहरु छन्,’ रेखाले अनलाइनखबरसँग भनिन्( ‘केही सोसियल काम गर्नुपरेकाले नेपालगञ्ज आउनुपर्‍यो, त्यसैले यस पटकको बैठकमा सहभागी हुन पाइनँ ।’

कोमललाई हलोभन्दा गाई प्यारो

बिहीबार सुरु भएको राप्रपाको बैठकमा हलो र गाईमध्ये के चुनाव चिह्न रोज्ने भन्ने बहस भएको छ । यो बहसमा सहभागी हुँदै कोमल वलीले पनि बैठकमा बोलिन् । उनले हलोलाई भन्दा गाई लाई नै रोजेकी छिन् ।

उता बैठकमा सहभागी हुन नपाएकी रेखा थापाले पनि गाई नै रोजेकी छिन् । अनलाइनखबरलाई प्रतिक्रिया दिँदै रेखाले भनिन्( ‘म पनि गाईकै पक्षमा छु ।’