☰ open Loading... 19 June 2024|  

सीसी क्यामराको निगरानीमा वीरेन्द्रनगर
  | २० फाल्गुन २०७३, शुक्रबार ०७:४८

मुख्य चौकमा ४२ क्यामरा जडान हुँदै ,       अपराधिक गतिविधि कम हुने अपेक्षा

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चामा रहेको वीरेन्द्रनगरको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ । करिव १६ लाखको लागतमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य अन्तिम चरणमा पुगेकाले यसको निगरानी सिसि टिभी क्यामराले गर्ने भएको हो ।

वीरेन्द्रनगरका मुख्य चौकहरुमा जडान भएका सिसिटिभी क्यामरामा कैद भइरहेका दृष्य तथा भिडियोहरु ।

  सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र अन्य विभिन्न संघ संस्थाको सहयोगमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा क्यामरा जडानको कार्य भइरहेको छ । मंगलगढी चौक, बसपार्क, नेता चौक, नगर प्रहरी कार्यालय अगाडी, एमाले पार्टी कार्यालय अगाडी, बुद्धपथ, वीरेन्द्रचौक, पीपल चौतारा, यारीचौक लगायतका २५ स्थानमा क्यामरा जडान गरिएको ग्याजेट एण्ड ग्रिजमच प्रालि अन्तरगत काम गर्दै आएका क्वीक कम्प्युटरका सञ्चालक धर्मु भण्डारीले जानकारी दिए । उनका अनुसार २५ स्थानमा जडान भएको क्यामराले दृष्य र भिडियो रेकर्ड गर्न सकिन्छ । पहिलो चरणमा वीरेन्द्रनगरका ३१ स्थानमा क्यामरा जडान गरिने जानकारी दिएका भण्डारीले (भोली)ं शनिबारसम्म काम सम्पन्न हुने बताए ।

  सिसिटिभी क्यामरा जडान अन्तिम चरणमा पुगेकाले यही फागुन २८ गते उद्घाटन गरिने जानकारी दिएका सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले वीरेन्द्रनगर भित्र ४२ वटा स्थानमा क्यामरा जडान हुने उल्लेख गरे ।

‘क्यामरा जडानले वीरेन्द्रगरमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ अध्यक्ष अधिकारीले भने,–‘योसंगै व्यवसायीक सुरक्षा पनि हुनेमा विश्वास छ ।’ वीरेन्द्रनगर नगरपालिकालाई व्यवसायीहरुले बुझाउँदै आएको करको ५० प्रतिशत रकम विकासका लागि दिने एक वर्ष अघि नीतिगत निर्णय गरेको थियो । नगरपालिकाले यो वर्ष सोही बजेटबाट ९ लाख र उद्योग बाणिज्य संघ तथा अन्य संघ संस्थाको सहयोगमा क्यामरा जडान गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।

  फोरलेन सडक निर्माणको क्रममा रहेकाले बाँकी ११ क्यामरा राजमार्ग निर्माण सम्पन्न भएपछि जडान हुने अध्यक्ष अधिकारीले जानकारी दिए । निर्माणाधिन फोरलन सडक निर्माण भएपछि वीरेन्द्रनगर प्रवेशद्वार धुलियाविट र बाँगेसीमलमा पनि सिसि टिभी क्यामरा जडान हुनेछ ।

वीरेन्द्रनगर नगर भित्र अपराधका गतविधिमा संलग्न भएर भागेर जाने मुख्य द्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । बजार क्षेत्र र मुख्य चौकमा जडान भएका क्यामराहरुको निगरानी जिल्ला प्रहरी कार्यालय सुर्खेतले गर्नेछ । बजारका कुन क्षेत्रमा के भइरहेको छ र त्यसको सवै विवरण जिल्ला प्रहरी कार्यालयले नै रेकर्ड राख्ने छ ।

सवै क्षेत्रमा तत्काल प्रहरी पुग्न नसकेको खण्डमा प्रहरीले क्यामराबाट निगरानी गर्ने र अपराधिलाई पक्राउ गर्नमा सजिलो हुने आचार्यको भनाई छ । उनले वीरेन्द्रनगरमा जनघनत्व बढेसंगै प्रविधिको विकास हुनु सकरात्मक पक्ष भएको बताए । स्थानीय व्यापारीहरुले बजार क्षेत्रमा चोरी, लुटपाट र अपराधिक गतिविधि रोक्नमा सिसिटिभी क्यामराले जडान हुनु खुसीको कुरो भएको बताएका छन् ।

दिन दाहडै बजारमा व्यापारी, स्थानीय नागरिक लुटिने घटना यस अघि पनि हुने गरेकाले क्यामरा जडान पछि यस्ता घटनाहरु पूर्ण रुपमा रोकिने अपेक्षा स्थानीयहरुको छ । स्थानीय गोपाल थापाले भने मुख्य क्षेत्र मात्र नभई भोलीको सम्भावित राजधानी सुर्खेत भएकाले वीरेन्द्रनगरका भित्री क्षेत्रहरुमा पनि सिसिटिभी क्यामरा जडान गर्न सरोकारवाला निकायलाई आग्रह गरे । उनले सिसि क्यामरा जडान भएको क्षेत्रमा अव अपराधिक गतिविधि कम हुन्छन नै तर भित्री सडकमा यस्ता गतिविधि बढ्दे भएकाले रोक्न क्यामरा जडान हुन जरुरी रहेको औंल्याए