☰ open Loading... 5 May 2024|  

लालीकाँडा गाविस पूर्ण साक्षर गाविस घोषणा
  | २० फाल्गुन २०७३, शुक्रबार १०:३४

दैलेख । जिल्लाको पूर्वीमा रहेको लालीकाँडा गाविसलाई भब्य समाहरोहका विच पूर्णसाक्षर गाविस घोषणा गरेको छ । कार्यक्रममा अनिवार्य तथा आधारभूत शिक्षा, पूर्ण खोप, धुवा रहित चुलो र विद्यालय शान्ति क्षेत्र गाविस पनि घोषणा गरियको थियो ।

मानव चेतनाको विकास नभै संसारको विकास नहुने र जुन शिक्षाबाट मात्रै प्राप्त गर्न सकिने भएको हुदाँ पूर्ण साक्षर गाविस घोषण गर्नुपर्ने आवश्यकता भएको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले बताए । उनले गाविस घोषणा मात्रै नभएर यसको कार्यान्वयनमा पनि जोड दिन आबश्यक रहेको बताए ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार यस गाविसको साक्षरता प्रतिशत ६८.४९ रहेकोमा शिक्षा क्षेत्रमा कार्यरत सबैको अथक प्रयासबाट उक्त साक्षरता दरमा बृद्धि भई ९५.०४ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिईयो । गाविसमा १० आधारभूत विद्यालय र ९ वालविकास केन्द्र रहेका छन् । गाविसमा अझै पनि १ सय ३० जना निरक्षर रहेको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा २०३४ सालमा विफर उन्मुलन भएपछि स्वास्थ्य सेवासँग सम्बन्धित खोप सेवा आयोजनाको रुपमा शुरुवात भएको स्वास्थ्य चौकी इन्चार्ज चक्र केसीले बताए । अहिले जिल्लाको ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि हेपाटाइटीस बी, हेमोल्निस, इन्फलुएन्जा, जापानी इन्सेफलाटीस विरुद्धका खोपहरु उपलब्ध हुने गरेका छन् ।

बाल तथा मातृमृत्यु दर, खोपजन्य रोगहरुबाट हुने अपाङ्गता र बाल तथा मातृ रोगदर घटाउने उद्धेश्यका साथ नवजाजत शिशुको लागि खोप सेवा सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिईयो ।

विद्यालयलाई पूर्ण साक्षर गाविस घोषणा गरेपनि विद्यालयका समस्याहरु यथावतनै रहेको स्थानीय नेता खेमराज वलीको भनाई थियो । ‘विद्यालयमा भवन छैनन्, पर्याप्त शिक्षक दरवन्दिको अभाव छ ।’ नेता वलीले भने, सबै विद्यालयमा खानेपानीको सुविधा पुग्न सकेको छैन् ।’ यस्ता दुर्गम गाविसका समस्याको समाधानका लागि सम्बन्धित निकाय जिम्मेवार वनिदिन वलीले अनुरोध गरेका थिए ।

  सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेखको आथिक सहयोगमा सञ्चालित घोषणा कार्यक्रममा आयोजकले महिला स्वास्थ्य स्वयंसेवीका लगायत साक्षर गाविस घोषणा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानित गरेका थिए । गाउ शिक्षा समिति एवंम् गाविस सचिव मोहनकुमार वस्नेतको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।