☰ open Loading... 7 November 2024|  

ग्यासको मूल्य बृद्धि गरेकोमा उपभोक्ताको आपत्ती
  | २८ फाल्गुन २०७३, शनिबार १५:०८

सुर्खेत । सरकारले खाना पकाउने (एलपी) ग्यासको मूल्य बृद्धि गरेको प्रति सुर्खेतका उपभोक्तावादीहरुले विरोध गरेका छन् । उपभोक्ता अधिकार दिवसको पूर्व संध्यामा सरकारले (एलपी) ग्यासको मूल्य बृद्धि गरी आम उपभोक्ता माथि झद्दा मजाक गरेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।

सरकारले विना कारण एक हजार तीन सय पचासमा विक्री हुँदै आएको खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार अब खाना पकाउने (एलपी) ग्यासको प्रति सिलिण्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले नेपाल आयाल निगम पूर्ण नाफामा चलिरहेका बेला सरकारले एक्कासी मूल्य बृद्धि गर्नु उपभोक्तालाई सास्ती दिने काम भएको बताएको छ । मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।

सरकारले विभिन्न नीजि संघसंस्थालाई वस्तुको मूल्य घटाउन अनुरोध गरिरहेका बेला आफै खाना पकाउने ग्यासको मूल्य बृद्धि गर्नु आमसर्वसाधारणलाई ठग्नु सरह भएको कोषाध्यक्ष बयकको तर्क थियो । उनले अनुचित तरिकाले खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धिलाई पुर्नःविचार गरि सरकारले आमजनताको हितमा सहज वातावरण बनाउन आग्रह गरिन् ।