☰ open Loading... 23 July 2024|  

वर्षौदेखि सरकारी भवन अलपत्र, काम नगर्ने ठेकेदार कालो सूचिमा
  | २ चैत्र २०७३, बुधबार १०:०९

 समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाइ कारबाही गरिने भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता सकिए पनि काम पुरा नगर्ने काम निर्माण कम्पनीलाइ कारबाही गरिने भएको  हो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका अनुसार सम्झौता गरेको वर्षौसम्म पनि निर्माण सम्पन्न नगर्ने कम्पनीलाई कारवाही प्रक्रिया अघाडी बढाइएको छ । कार्यालयका अनुसार सुर्खेत जिल्ला कारागार, कटकुवा स्वास्थ्य चौकी, र जाजरकोटको  दल्ली  स्वास्थ्य चौकी भवन सम्झौता सकिदा  समेत सम्पन्न हुन सकेका छैनन् ।

२ वर्ष भित्र काम सम्पन्न गर्ने गरि जिएम कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको  कारागार भवन ८ वर्ष वित्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । कारागारको भवन निर्माणका लागि यो कन्स्ट्रक्सनले डिभिजन कार्यालयसंग विस  २०६६ साल असारमा सम्झौता गरेको थियो ।

‘सम्झौता सकियो भवन बनेन, म्याद थप गर्दा समेत भवन निर्माण अलपत्र नै छन्’  सहरी विकास तथा भवन डिभिजन कार्यालय स्रोतले भन्यो ।  सम्झौता अनुसार कारागारको निर्माण २०६८ साल असारमा सक्नु पर्ने हो । कारागार नबन्दा कैदिहरुले समेत सास्ती खेप्नु परेको कारागार स्रोत बताउँछ  । २५ जना क्षमता रहेको कारागारमा झण्डै १०० वढी कैदीबन्दी छन् ।

  यस्तै कटकुवा स्वास्थ्य चौकीको भवन निर्माण कार्यपनि अलपत्र अवस्थामा छ ।  स्वास्थ्य चौकी  भवनको ठेक्का निर्माणको ठेक्का जिएम कन्स्ट्रक्सन प्रालिले नै लिएको थियो । स्वास्थ्य चौकी भवन निर्माणका लागि भवन डिभिजन कार्यालय संग २०७० असारमा काम सक्ने गरी भवन डिभिजन कार्यालयसंग २०६८ सालमा ठेक्कामा लिएको थियो ।  भवन निर्माण पुरा नहुँदा स्वास्थ्य चौकी कर्मचारीको आवास गृहबाटै सञ्चालन भैरहेको छ ।

यस्तै जाजरकोटको दल्लीमा रहेको स्वास्थचौकी निर्माणको जिम्मा लिएको सोही निर्माण कम्पनीले  २ वर्षमा काम सक्ने गरि सम्झौता गरेको ६ वर्ष वित्दा समेत काम पुरा गर्न सकेको छैन ।  कम्पनीले  २०६८ साल असारमा दल्ली स्वास्थ्व चौकी जाजरकोटको पनि ठेक्का पाएको थियो । तर ६ वर्ष वित्दापनि निर्माण कम्पनीको लापरवाहीका कारणले गर्दा भवन अलपत्र अवस्थामा छ ।

  निर्माण कम्पनीले  सुर्खेतका  पाँचवटा सरकारी भवन निर्माणको ठेक्का पाएका थियो ।  जसमा जिल्ला कारागार, क्षेत्रीय वायर हाउस, लोकसेवा आयोग, भूकम्प मापन केन्द्र र  कटकुवा स्वास्थ्य चौकीको भवन छन् । ति मध्ये लोकसेवा आयोग र भूकम्प मापन केन्द्रको कार्यालय सम्पन्न भएका छन् । विपद् व्यवस्थापनका लागि क्षेत्रीय वायर हाउस निर्माण भने सुरु भएको कार्यालयले जनाइएको छ  ।

‘भवन निर्माणको जिम्मा लिएका कम्पनीलाई पत्राचार, लिखित र फोन ताकेता गर्दा  समेत निर्माण कम्पनी सम्पर्कमा नआएको  कार्यलयले जनाएको छ । डिभिजन कार्यालय स्रोतका अनुसार , ‘निर्माण व्यवसायीको  लापरबाहीकै कारण धेरै भवन अलपत्र अवस्था छन् ।

  कम्पनीसंग सम्झौता तोड्न सिफारिस गर्ने, कम्पनीलाई कालो सूचीमा राख्ने कानुनी व्यवस्था छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी झंकबहादुर थापाले  दुई तीन वर्षमा सकिने काम ठेकेदारकै लापरबाहीले ६ वर्ष बित्ने गरेको बताए ।

भवन निर्माणको जिम्मा लिएका कम्पनीलाई पत्राचार, लिखित र फोन ताकेता गर्दा कुनैपनि प्रतिक्रिया  नआएको उनको भनाइ छ  । अहिले यी तीन भवन निर्माण जिम्मा लिएका कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको पनि उनले बताए । अबको केही दिनमै सूचना निकाली जिएम कन्स्ट्रक्सन प्रालिलाई कालो सूचीमा राखि नयाँ  टेण्डर आह्वान गरेर भवन निर्माण सम्पन्न गर्ने तयारीमा रहेको थापाले बताए ।

विगतमा अलपत्र रहेका स्वास्थ्य चौकीका भवनहरु निर्माण कार्य चाडै नै सुरु गरिने प्रतिवद्धता जनाए । चालु आर्थिक वर्षमा करिब १२ ओटा भवन कार्य सम्पन्न गर्ने डिभिजन कार्यालयको लक्ष्य रहेको सूचना अधिकारी थापा बताउँछन् । चालु आर्थिक वर्षमा उच्च सरकारी वकिल कार्यालय,  स्वास्थ्य चौकी  गुमी  र हरिहरपुरको  निर्माण कार्य सम्पन्न  भएको छ ।

औषधि उपचारको अभावमा वर्षेनी मातृ–शिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो ।  सोही अनुरुप डिभिजन कार्यालयले सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा बर्थिङ सेन्टर स्थापनासंगै स्वास्थ्य चौकीको लागि भवन निर्माणको काम थालेको  थियो  ।