☰ open Loading... 13 July 2024|  

चट्याङ्ग पर्दा यी कुरामा ख्यालु पुर्याउनुहोस्
  | १३ चैत्र २०७३, आईतवार २०:३०

काठमाडौं । विशेषज्ञहरुका अनुसार आकाशबाट खराब मौसमको बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट चट्याङ हो । वर्षा भइरहेकै बेला वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भएर अघि बढ्छ । त्यो चट्याङ हो ।

मौसमविद् मणिरत्न शाक्यका अनुसार अचानक चट्याङलाई विद्युतीय विस्फोटन पनि भनिन्छ । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो प्राकृतिक खतरा हो । नेपालमा पछिल्ला केही वर्षदेखि चट्याङका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । वर्षमा डेढ सय जनासम्मको ज्यान लिएको देखिन्छ ।

आवाजविनाको चट्याङलाई ‘उष्ण बिजुली’ भनिन्छ । सबै चट्याङले विद्युतको लहर उत्पन्न गराउँछन् । सबै चट्याङ खतरनाक हुन्छन् । अहिलेसम्म चट्याङको पूर्वानुमान हुन सकेको छैन । मौसमविद्हरु चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिने बताउँछन् ।

कसरी पर्छ चट्याङ?
अनुसार सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । उक्त तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् ।

जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हुँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । ‘जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ,’ शाक्य भन्छन् ।

यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् ।

सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ ।

घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।

यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको सम्भावना बढी हुन्छ । चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ ।

कसरी बच्ने ?

यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन/टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ । पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।
घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइामा टेकेर टाउकोलाई निहुँराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा बिजुली चम्केको बेला सतर्क रहने ।
फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने ।
बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने ।
खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्नेस अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।
बिजुलीको व्यवस्था भएको ठाउामा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने ।

ekantipur