☰ open Loading... 17 July 2024|  

उपप्रधानमन्त्री निधि र कतारका राजदूतबीच भेटवार्ता
  | १३ चैत्र २०७३, आईतवार २०:३६

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलले आज शिष्टाचार भेटवार्ता गरेका छन्

गृह मन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासँग भेटघाट गर्ने बताएको उपप्रधान तथा गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनलगायत अन्य क्षेत्रमा आवश्यक सहयोग गर्न कतार सरकार तयार रहेको बताएका थिए ।

जवाफमा उपप्रधानमन्त्री निधिले सहयोगको प्रस्तावका लागि कतार सरकारलाई धन्यवाद दिँदै यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस कार्यसूची ल्याउने बताए ।
सो भेटमा द्विपक्षीय सम्बन्ध, कतारमा कार्यरत नेपालीको  अधिकारलगायतका विषयमा समेत छलफल भएको थियो ।