☰ open Loading... 19 April 2024|  

छ वटा स्थानिय तहमा २३ जागरण रेडियो श्रोता समूह
  | १४ चैत्र २०७३, सोमबार १६:२०

सुर्खेत । जागरण एफ. एम. सुर्खेतले जिल्लाभरका ६ वटा स्थानिय तहमा आफ्ना श्रोता समूहमार्फत् क्रियाकलाप सञ्चालन गर्न शुरु गरेको छ । सुर्खेतका पञ्चपुरी र लेकवेशी नगरपालिका तथा चौकुने, चिङ्गाड, सिम्ता र बराहताल गाउँपालिकाहरुमा २३ वटा जागरण रेडियो श्रोता समूह सञ्चालनमा आएका हुन् ।

जागरण एफ. एम. ले आज वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच श्रोता समूहका सहजकर्ताहरुलाई पहिलो अभिमुखिकरण पनि गराएको छ । श्रोता समूहमार्फत् स्थानिय विकासका काममा साझेदारी गर्न समूहहरु सञ्चालनमा ल्याइएको अभिमुखिकरणमा रेडियो सञ्चालन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्यालले बताए ।

सहजिकरण गर्दै स्टेशन म्यानेजर दीपेन्द्र ओलीले स्थानिय तहका औपचारिक काममा श्रोता समूहका सहजकर्ता नै रेडियोका आधिकारिक प्रतिनिधि रहने बताए । उनले श्रोता समूह अरु पनि गठन गर्न सकिने र स्थानिय तहमा गठन भएका श्रोता समूहहरुको गाउँपालिका वा नगरपालिकास्तरको सञ्जाल गठन गरिने बताए ।

श्रोता समूहमार्फत् स्थानिय तहका सूचना वा जानकारी रेडियोसम्म आउने र रेडियोमार्फत् त्यस्ता जानकारी प्रचारप्रसारमा ल्याइनेछ । अव सञ्चार माध्ययमसँगको साझेदारीका लागि स्थानिय तहले त्यहीँका श्रोता समूहहरुसँग सम्पर्क गर्नुपर्नेछ ।

यस्तै, सामाजिक विकासका काममा श्रोता समूहहरुले अभियानहरु समेत सञ्चालन गर्नेछन् । अभियानहरु सञ्चालन गर्नका लागि समूहहरुलाई पटक पटक क्षमता विकासका तालिमहरु दिइने जागरण एफएमले जनाएको छ ।

वि.सं. २०६६ सालमै गठन भएका केही श्रोता समूहलाई फेरी क्रियाशिल बनाइएको र अमेरिकी सहयोग नियोग (युएसएआइडि) को आर्थिक सहयोगमा इक्वेल एक्सेसबाट सञ्चालित साझेदारी विकास परियोजनाका श्रोता समूहहरुलाई पनि जागरण एफ. एम. ले आफ्नो स्वामित्वमा लिएको हो ।

पहिलो अभिमुखिकरणमा साझेदारी विकास परियोजनाकी जिल्ला संयोजक प्रज्ञा थापा, इक्वेल एक्सेसकी जिल्ला कार्यक्रम संयोजक प्रतिमा परियार, साझेदारीका उत्पादक गोविन्द खत्री, जिल्लाभरका सामुदायिक सञ्चारकर्मी, सामुदायिक अनुसन्धानकर्तालगायतको सहभागिता थियो ।