☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

जुम्लाको ऐतिहासिक महत्व र पर्यटन गन्तव्य

  |

परापूर्वकालमा श्वामी दत्तात्रय मुर्तिलाई डस्न दुईवटा नाग (अजिंगर) आउँदा भेटाउन नपाउँदै श्वामी दत्तात्रयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भएका र पछि ती नाग जुम्लाहा डाँडा जस्ता देखिएकाले जुम्ल्याहा शब्दको अपभं्रस हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने पुरानो भनाई रहेको पाइन्छ ।

नेपालमा जतिपटक राजनीतिक र भौगोलिक सिमा निर्धारण हुँदा पनि जुम्ला एउटा जिल्लाको रूपमा उहिलेदेखि नै रहँदै आएको छ । अर्थात् प्रागऐतिहासिक कालदेखि चल्दै आएको (एमल) अर्थात जुम्ला आज  पनि जुम्ला नै रहेको छ । सार्वभौम शक्तिका हिसाबले एक पटकको शक्तिशाली जुम्ला राज्य पश्चिम सेतिका अछाम, बाजुरा र दक्षिण दुल्लु दैलेखसम्म फैलिएको थियो ।

तर पनि जुम्लामा अहिलेसम्म पनि शिक्षा, स्वास्थ्य, रोजगार र विकास निर्माणका पूर्वाधार तयार हुन सकेका छैनन् । समस्या यथावत छ । त्यसकारण जुम्लालाई अब राज्य होइन, संघीय इकाई पनि होइन, विशेष अधिकार सहित साधन, स्रोत र प्रविधिको खाँचो छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलका पाँचवटा जिल्लाहरूमध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । भौगोलिक रूपमा दुर्गम र विकट भएतापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको महत्वपूर्ण पहिचान रहेको छ ।

नेपाल अधिराज्यको एकीकरण हुनु पूर्व वाइसे राज्यहरूको मुख्य केन्द्रको रूपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उद्गम स्थल पनि मानिन्छ । मध्यकालीन युगमा जुम्ला एक सम्बृद्ध एवं शक्तिशाली राज्यको रूपमा रहेको तथ्य इतिहासबाट थाहा हुन्छ ।

यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबैभन्दा पहिला प्राचीनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुई जना ब्रम्हचारीहरूले बस्ती बसाई कृषि र शिक्षाको प्रचारप्रसार गरेका थिए भन्ने पुरानो लोकोक्ति रहेको पाइन्छ । यातायात, संचार र आधुनिकीकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किला हिमचुचुराहरू, ताल तलैयाहरू, मनमोहक थुप्रै नदीहरू र खोलानालाले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ ।

कर्णाली अञ्चलको दक्षिणी भूभागमा अवस्थित जुम्ला जिल्लाको भौगोलिक स्वरूप अग्ला अग्ला हिमशिखरहरू, पाटनहरू, पहाडहरू, जंगलहरू, ताल, नदी खोलानाला  नदीकिनारमा रहेका वेशीहरूले बनेको छ । विश्व मानचित्रमा यस जिल्लाको भौगोलिक अवस्थिति २८ डिग्री ५८” देखि २९ डिग्री ३०” उत्तरी अक्षांशसम्म र ८१ डिग्री २८” देखि ८२ डिग्री १८” पूर्वी देशान्तरसम्म रहेको छ ।

मानवीय विकास स्थान सुचांकमा स्थानमा जुम्ला जिल्ला ६९ औं स्थानमा रहेको देखिन्छ । यस जिल्लाको पूर्वमा डोल्पा, दक्षिणमा जाजगरकोट, पश्चिममा कालिकोट र उत्तरदिशामा मुगु जिल्ला पर्दछ । यस जिल्ला समुन्द्री सतहबाट ७००० फिटदेखि २१०७७ फिटसम्मको उचाईमा फैलिएको छ ।

जिल्लाको सदरमुकाम खलंगाबजार  समुन्द्री सतहदेखि ७६०० फिटको उचाईमा रहेको छ । कुल क्षेत्रफल २५३१ वर्ग कि.मी. ओगटेको जुम्ला जिल्ला क्ष्ँेत्रफलका हिसाबले कर्णाली अञ्चलका पाँच जिल्लाहरू मध्ये चौथो स्थानमा पर्दछ । जिल्लाको उत्तरी पश्चिमी भाग केही भिरालो र बढी सियालो भएका कारण बस्तीहरू धेरै दक्षिण, पूर्वी पाखाहरूमा र नदी किनारका वेशीहरूमा रहेका छन् ।

 

अग्ला लेकदेखि नदी किनारका होचा वेशीहरूसम्म रहेको यस जिल्लाको भौगोलिक विविधताले गर्दा यहाँको हावापानी सबै ठाउँमा एकै प्रकारको छैन । उच्च लेकाली भूभागमा अति जाडो र ठन्डी हुन्छ भने बेशीहरूमा गर्मी महिनामा केही न्यानो र हिउँदमा ठन्डी हुने गर्दछ । भौगोलिक बनावटको आधारमा यहाँ तीनप्रकारका हावापानी पाइन्छ ।

ठन्डा, सुख्खा र सितोष्ण हावापानी भएको यस जिल्लाका सबैभन्दा जाडो हुने महिना पौष र माघ हुन् भने जेठ असारमा गर्मी हुने गर्दछ । अन्य जिल्लाको दाँजोमा यस जिल्लामा वर्षा कम हुने गर्दछ । दक्षिण पूर्वतर्फ रहेका अग्ला लेकहरूले गर्दा पूर्वबाट आउने मनसुनी हावा छेकिने हुँदा पानी कम पर्ने गर्दछ ।

यसअघि तीस वटा गाविसहरू रहेको जुम्लामा स्थानिय तहमा रुपान्तरण भएपछि एक नगरपालिकासहित सात गाउँपालिका मा विभाजन भएको छ । । नयाँ संरचनामा तातोपानी, गोठीचौर, गज्र्याङकोट,पाताराशी, डिल्लीचौर, कनकासुन्दरी र विराट गाउँपालिका छन् भने चन्दननाथ नगरपालिका रहेका छन् । तीनवटा ठूला जवानदी, तिलानदी र हिमा नदीहरूको अलवा दर्जनौं साना खोलानालाहरू पनि छन् ।

हिमा नदीको किनारको सिंजा उपत्यका र तिला नदीको किनारमा अवस्थित साना ठूला फाँट वेशीहरू अत्यन्त उर्बर खेतीयोग्य जमिन मानिन्छ । यस जिल्लामा पाटन क्षेत्रमा हिँउ पग्लेर बनेका साना ठूला ताल तलैयाहरू पनि प्रशस्त मात्रामा पाइन्छन् । केही नाम चलेका रमणिय तालहरूमध्ये विष्णु ताल, शंख दह, छड्के ताल, जोगीनी ताल, ठाकुर ज्यू दह र गिडी दह प्रमुख मानिन्छन् ।

प्राकृतिक सम्पदाको दृष्टिकोणले जुम्लालाई सम्पन्न जिल्ला मान्न सकिन्छ । भौगोलिक वनावट एवं जलवायुको विविधताले गर्दा यहाँ विभिन्न किसिमका वनस्पति र जडीबुटीहरू पाइन्छन् । यहाँको उच्च लेकाली भूभागहरूमा १२ हजार फिटभन्दामाथि ज्यादै हिमपात हुने र तापक्रम अत्यन्त कम हुने भएकाले अग्ला रूखहरू हुर्कन सक्दैनन् । यस भूभागमा झाडी र बुट्यान मात्र हुन्छन् । यस भुभागको आकर्षण भनेको वर्षात्को समयमा यहाँ फुल्ने रंगीविरंगी फूलहरू हुन् ।

त्यसको अलवा महत्वपूर्ण जडीबुटीहरू पनि यसै क्षेत्रमा पाइने गर्दछन् । यहाँ पाउने जडीबुटीहरूमा पाँच औंले, भत्ल, जटामसी, कट्की, पदमचाल, हात्तीजडा, सुन्ध वाल, सिलाजित, गुच्ची च्याउ, निरमसी, अत्तिस, केशहर, बोडो मच्चो, कटुको, रामुयो, तितो, गुन्नाइनो, चिताइरो र यार्सागुम्बा, जीवनबुटी आदि मुख्य छन् ।

यस उच्च लेकाली क्षेत्रभन्दा तल पहाडी भागमा वन क्षेत्र रहेको छ । पतझड तथा कोणधारी जंगलले ढाकेको यस क्षेत्रमा विशेषगरी सल्लाका ९ वटा प्रजाति, धुपी, ढिगो, गुराँ, भोजपत्र, खर्जु, ओखर आदि रूखहरू पाइन्छन् । यहाँको भौगोलिक क्षेत्रअनुसार विभिन्न किसिमका पशुपन्छीहरू पाइन्छन् । यहाँ पाइने मुख्य जनावरहरूमा कस्तुरी, झारल, घोरल, थारल, चितुवा, बंदेल व्याँसो, नाउर आदि छन् ।

“धार्मिक एवं पर्यटकीय दृष्टिकोणले यस जिल्लालाई महत्वपूर्णरूपमा लिइन्छ । खलंगाबजारस्थित चन्दनना र भैरवनाथका मन्दिरहरू, सिंजा क्षेत्रका कनका सुन्दरी मन्दिर पान्डव गुफा, गरूडनहानी, जिल्लाका अन्य ठाँहरूमा अवस्थित कार्तिश्वामी ठाकुर ज्यू, दानसाँघु दोभान मालिका स्थान, गणेशस्थान संस्कृति एवं पर्यटकीय रूपले प्रमुख छन् ।

दश वर्षीय कथित “जनयुद्ध”को बेला माओवादीले ध्वस्त बनाएका यस्ता सम्पदाहरू र आफै पुराना भएका कतिपय सम्पदाले जिर्णोदारको गुहार मागिरहेका छन् । त्यस्तै यहाँका प्रमुख बौद्ध गुम्बाहरू चोत्र गुम्बा, मणिडिल्लीकोट गुम्वा, मान्धारा गुम्बा, माथाचौर गुम्बा र छिनासिम गुम्बाहरूले ध्वजा पतका र हिमालसँग मितेरी लगाएझै रमाइलो अनुभूति गराउँदछन् ।

अति रमणीय प्राकृतिक सौन्दर्य भएको गोठीचौर, धुधुति, हाडसिंजा, तातोपानी केही हिमतालहरू दर्शनीय छन् । त्यस्तै पञ्चदवलहरू, बेहला बेहुली, सत्र खम्बा जस्ता ऐतिहासिक देवल, किल्ला र स्तम्भहरू जिल्लाभरी छरिएर रहेका अवस्थामा छन् ।

यस जिल्लामा जातजातिहरूमा क्ष्ँेत्रीहरूको बाहुल्य रहेको छ । जिविसले गरेको घरधुरी सर्वेक्षण २०६४ अनुसार कुल घर धुरी संख्या करिब १७ हजार रहेको छ, त्यसमध्ये क्षेत्रीहरूको मात्र १२.५११ घरधुरी रहेका छन् । अन्य जिल्लामा  जस्तै यस जिल्लामा पनि बाहुन, ठकुरी, क्षेत्री, कामी, दमाई, सार्की आदि जातिहरु पनि बसोबास गर्दछन् ।

अन्य जातजातिहरूमा नेवार, गुरूङ, थकाली, लामा र भोटे जातिहरू पनि छन् । शिक्षाको अवस्था भने जुम्लामा कमजोर नै देखिन्छ । घरधुरी सर्वेक्षण २०६४ का अनुसार जिल्लाको कुल जनसंख्या १०,५२८२ रहेको छ । पुरूषको साक्षरता संख्या २७७४४ छ भने महिलाहरूको संख्या १८०३० मात्र रहेको छ । जम्मा साक्षरता ४४ प्रतिशत छ भने निरक्षर ५६ प्रतिशत रहेका छन् ।

यहाँ बोलिने प्रमुख भाषा राष्ट्र भाषा नेपाली नै हो । तर यहाँ बोलिने नेपाली भाषा र पूर्वी नेपालमा बोलिने भाषामा फरक छ । यो जिल्ला नेपाली भाषाको उद्गम स्थल नै भएकोले यहाँ बोलिने नेपाली भाषामा झर्रो स्थानीय ठेट नेपाली शब्दहरूको उच्चारण हुन्छ । त्यसका अलवा जातजाति अनुसार स्थानीय अन्य भाषिकाहरू पनि बोल्ने गरिन्छ ।

यहाँका जनता आधुनिक पाश्चात्य पोषाकबाट टाढा नै छन् । सदरमुकाम वरिपरीका कर्मचारी र स्कूलका विद्यार्थी बाहेक आम जनताहरू परम्परागत नेपाली भेषभुषा र गरगहना लगाउने गर्दछन् । धार्मिक दृष्टिकोणले हिन्दु धर्मालम्बीको बाहुल्यता भएको यस जिल्लामा बसोबास गर्ने लामा र गुरूङ जातिहरूले बौद्ध धर्म पनि मान्ने गर्दछन् ।

पछिल्लो समयमा छिटफुट रुपमा क्रिश्चियन धर्मावलम्बी र धर्म निरपेक्षताको बढ्दो रूप पनि देख्न सकिन्छ । धार्मिक परम्पराअनुसार कुल पुजालाई महत्व दिने चलन यहाँ छ । यहाँ मनाइने चाडपर्वमा चारवटा पूर्णिमा (वैशाख, श्रावण, कार्तिक र माघ) तीज, जात्रा, वडा दशैं, तिहार, श्रीपञ्चमी आदि हुन् ।

कृषिको दृष्टिकोणले विश्वकै सर्वोच्च उचाइमा उत्पादन हुने जुम्ली मार्सी धानले यस जिल्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमै कायम राखेको छ । स्याउ खेती उत्पादनका हिसाबले पहिलो स्थानको श्रेय पनि जुम्लालाई छ । जुम्लाको स्थानीय सिमी पनि जिल्लाको गरिमा बढाउने उत्कृष्ठ दाल बाली हो ।

यहाँको कृषि प्रणाली भने समन्ती र निर्वाहमुखि नै छ तर प्राड्डारिक अवस्थामा छ । यहाँ उत्पान हुने आलु, स्याउ, सिमीलाई व्यवसायिक उत्पादनमा जोड दिने हो भने जुम्लाले आफूलाई चाहिने स्रोतको लागि हात थाप्नुपर्ने छैन । अरूलाई सहयोग गर्न सक्ने अवस्था हुनेछ । यहाँ पाइने अन्य अन्नवालीमा मकै, कोदो, जौं, गहुँ, धान, फापर, चिनु, कागुनु आदि प्रमुख छन् । फलफूलमा स्याउ, ओखर, खुपानी आरू, बखडा आदि प्रमुख छन् ।

सिमी, भट्मास, आलु, गाजर, केराउ, केशर, गुच्चे च्याउलाई नगदी बालीको रूपमा विकास गर्न सकिने अवस्था छ । मौरीपालन, भेंडा, बाख्रा च्यांग्रा पालन व्यवसाय नगदी बालीको रूपमा रहेका छन् । हाल स्याउखेतीलाइ व्यवसायिक रूपले अगाडि बढाउन “एक घर एक वगैंचा” को कार्यक्रम चलाइएको छ ।

नेपालको इतिहासमा कर्णाली अञ्चलको छुट्टै प्रकारको पहिचान र महत्व छ । केन्द्रीकृत सामन्तवादी राज्यव्यवस्थाले यस क्षेत्रलाई सौतेलो व्यवहार गर्दै जाँदा हाल विकराल स्थितिमा उक्त अञ्चल छ । हाल आएर जिल्लामा च्याउ उम्रे झैं खोलिएका एनजीओ, आइएनजिओ का संघ संस्थाहरूले आम कर्णालीबासीको स्वावलम्बन र आत्मनिर्भरतालाई भुत्ते पार्दै व्यापक परजीवीपनाको विकास गराइएको छ । यो दुःखद कुरा हो ।

स्थानीयस्तरमा व्यापक सम्भावना हुँदा हुँदै पनि “सुनको थालमा चामलका कनिकाको भिख माग्ने” प्रवृत्ति बढेर गएको छ । यो मानसिकताबाट युवा पिढी मुक्त हुन जरूरी छ । यहाँ हुने खाद्य बाली फलफुलको उत्पादनलाई र जडीबुटीलाई व्यवसायीकरण मात्र गरे पनि जुम्लाको मुहार फेरिने अवस्था छ ।

स्थानीय अन्नवाली खच्चडलाई बेची रूपैडिया (भारतका) कुहिएको चामल खाने सस्कृतिको विकास भएको छ । यो त्यहाँको नराम्रो चलन छ बदल्नु जरुरी देखिन्छ । कृषि, जडिबुटी, पशुपालन, जैविक विविधतामा अनुसन्धान गर्दै राज्यले त्यहाँको उन्नतिको लागि नीति बनाउन र कार्यान्वयन गर्न सके जुम्ला, जुम्लाको लागि मात्र हैन मुलुककै लागि अति महत्वपूर्ण स्थान हुने छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १५, २०७३     11:06:40 AM
error: Content is protected !!