☰ open Loading... 17 July 2024|  

मानिस र मुसाको संगत, यसरी भयो सुरुवात
  | १७ चैत्र २०७३, बिहीबार ०७:५२

काठमाडौँ । घरमा लत्ताकपडादेखि तारसमेत काट्ने मुसा मार्नकै मानिसले पासो थाप्ने, विष राख्ने र बिरालो पाल्ने गर्दछन् । मानिस र मुसाबीच दुश्मनी मात्र छैन, कतिले घरमै मुसालाई पालेका छन्। मेडिकल अनुसन्धानमा त मुसामाथि धेरै नै प्रयोग भएका छन्। मानिस र मुसाको संगतबारे हालै वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् ।

जीवाष्म अध्ययनबाट वैज्ञानिकहरुले मुसा १५ हजार वर्षअघि देखि मानिसको साथमा रहँदै आएको बताएका छन् । यो समय भनेको मानिसले कृषि पेशा अपनाउनुभन्दा अघिको हो। यसअघि मानिसले कृषि पेशा अपनाउन थालेपछि मुसा उनीहरुको निकट आएको मानिँदै आएको थियो ।

वैज्ञानिकहरुका अनुसार जंगली मुसा सर्वप्रथम पूर्वी भूमध्यसागरीय क्षेत्रमा प्राचीन मानवले जम्मा गरेर राखेको जंगली अन्नपात चोर्नका लागि मानिसको बासस्थानमा प्रवेश गरेको हो । तिनै मुसाको प्रजाति आजभोलि मानिसहरुको घरघरमा पाइने वैज्ञानिकहरु बताउँछन् ।

‘आजभोलि मुसाले संसारको जुनसुकै भागमा राज गरेको छ र लगभग मानिसजत्तिकै सर्वव्यापी भएको छ,’ डा. टमस गुच्चीलाई बिबिसीले उधृत गरेको छ। उनको अध्ययन पूर्वी भूमध्यसागरीय क्षेत्रमा पाइएको मुसाको दाँतमा आधारित छ ।

‘मानिसले एक साथ बस्न र घर बनाउन थालेसँगै मुसा र मानिसको सम्बन्ध सुरु भएको हो,’ उनी भन्छन् । त्यसबेला सो स्थानमा मानिसहरु ढुंगा र माटोले बनेको गोलाकार घरमा बस्ने गर्थे र जंगली अन्न संकलन तथा शिकारबाट गुजारा चलाउँथे ।

केही पछि कुकुर र बिरालो मानिसको संगतमा नआउञ्जेल मुसाका लागि फलिफापयुक्त समय भएको विश्वास गरिन्छ । अध्ययनमा कुकुर पनि पहिले सोचिएभन्दा अगाडि नै घरपालुवा बनेको प्रमाण फेला परेको छ । एजेन्सी