☰ open Loading... 17 July 2024|  

कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने
  | १८ चैत्र २०७३, शुक्रबार १०:०३

लिबाङ (रोल्पा) । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताएका छन् ।

“पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उनले भने ।

वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी करिब चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आएका छन भने मौरीपालन ब्यवसायमा पनि उनले जिल्लामै अग्रस्थानमा छन् । पहिलो वर्ष भएको हुँदा गत वर्ष कागतीबाट करिब रु २० हजार मात्र आम्दानी भयो । यस वर्ष फूल खेल्दैछ फल लाग्ने क्रम जारी छ ।

“प्रत्येक वर्ष यसरी नै बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक रु १० लाख कमाउने सोच छ”, उनले भने । बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमुखी मात्र बनेको थियो तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक रु २० हजार देखि ३० हजार आम्दानी भयो ।

त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उहाँको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उनी बताउँछन् ।

नेपालमा नपढेका मान्छेले मात्र कृषि व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता छ । यसलाई चिर्दै जिल्लामा कृषि क्रान्ति गर्ने रहर बढेपछि उनले जागिर नखाने निधो गरेका हुन् । जागिर खानकै लागि पढ्नुपर्छ भन्ने मान्यतालाई उनी हिजोआज स्वीकार छन । “आजको युगमा हरेक काम सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा अपरिहार्य भएको हुँदा छोराछोरीलाई पनि सके जति पढाउँछु र जागिरकै कारण बीचमा रोकिएको आफ्नो पढाइलाई पनि निरन्तरता दिन्छु”, उनले भने ।

वलीले २१ वर्षको उमेरदेखि नै जागिरको अनुभव गरेका हुन् । २०६७ सालमा हरियाली प्रावि रोल्पामा अध्यापन गरेसँगै जागिरमा प्रवेश गरेका वलीले २०६९ सालदेखि ग्रामीण विकास तथा चेतना समाज (रुडास), रोल्पामार्फत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा करिब आठ महिना सामाजिक परिचालकका रुपमा काम गरेका थिए । त्यसपछि पनि जागिरकै सिलसिलामा जिविस रोल्पाद्वारा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनामा करिब चार वर्ष सामाजिक परिचालकका रुपमा काम गरिसकेका छन् ।

कार्यक्रमको अवधि सकिएपछि केही महिनाअघि उहाँ जागिरबाट बाहिरिन बाध्य भएका हुन् । जागिर खाँदा सीमित आम्दानी हुने र परनिर्भर बन्नुपर्ने बाध्यता भएपछि जागिर खाने सोचमा परिवर्तन आएको उनले बताए । संयुक्त परिवारमा रहेका वलीका भाइ भने वैदेशिक रोजगारीका लागि कोरिया पुगेका थिए । उनी कोरियाबाट फर्किएपछि दुई दाजुभाइ नै कृषि क्षेत्रमा रमाउने उनको सोच छ । “छोराछोरी विद्यालय जान्छन् । घरको काम सकेर फुर्सदको समयमा श्रीमती र आमाले पालैपालो सघाउनु हुन्छ”, उनले भने ।

बोटबिरुवामा मल हाल्ने, गोड्ने, फल टिप्ने, मौरीको रेखदेख तथा संरक्षणमा परिवारको साथ भएपछि उनलाई यस क्षेत्रमा अझ उत्साह बढेको छ, तर मह काढ्न भने सबैले नजान्ने भएको हुँदा आफैँले मह काढ्दै आएको बताए । यसरी कृषि क्षेत्रमा आबद्ध भएपछि जिल्ला कृषि विकास कार्यालय रोल्पाले मागमा आधारित कार्यक्रमअन्तर्गत ३६ हजार अनुदान र प्लास्टिक सिँचाइ पोखरी निर्माणका लागि ३० हजार सहयोग गरेको भएपनि अन्य सम्पूर्ण लगानी आफैँले लगाउँदै आएको वलीले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यावसायिक रुपमा कृषि क्षेत्रमा आबद्ध किसानलाई सहयोग गर्ने परियोजना भएको हुँदा तन, मन, वचन र कर्मले कृषि क्षेत्रमा लाग्ने जो सुकै किसानको समस्या पहिचान गरी आवश्यक सहयोग गर्न सकिन्छ । तर त्यसका लागि सम्बन्धित किसान कार्यालयको सम्पर्कमा आउनुपर्ने हुन्छ ।

scoure : nepalaaj