☰ open Loading... 23 July 2024|  

स्थानीय तह निर्वाचन : चुनाव जित्ने गृहकार्यमा जुट्यो काँग्रेस सुर्खेत
  | २० चैत्र २०७३, आईतवार १८:४१

सुर्खेत । आसन्न बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पकड जमाउनका लागि नेपाली कांग्रेस सुर्खेतले चुनाव लक्षित रणनीति बनाउन सुरु गरेको छ । आइतवारदेखि कांग्रेसले आफ्ना भातृ तथा शुभेच्छु संघहरुसंग बसेर छलफल गरी स्थानीय तहको चुनावलाई कांग्रेसको पक्षमा पार्न परिचालित हुने जनाएको छ ।

नेपाल प्रेस युनियन, प्राध्यापक संघ, उद्योगी व्यवसायी, कानुन व्यवसायी लगायतसंग कांग्रेसले व्यापक छलफल गरेको छ । संविधानसभाको निर्वाचनमा कांग्रेस एक भएर जसरी जिल्लाका तीन वटै क्षेत्र कव्जा गर्न सफल भएको थियो, त्यसैगरी यसपटकको स्थानीय तहको निर्वाचनमा पनि ५ वटा नगरपालिका र ४ वटा गाउ“पालिका लाई कांग्रेसकै पक्ष पार्न सवै आ–आफ्नो स्थानबाट परिचालित हुनुपर्ने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।

विपक्षीहरुले कांग्रेसलाई हतोत्साहित बनाउन विभिन्न षड्यन्त्रहरु गर्न सक्नेतर्फ इंगित गर्दै सभापति रेग्मीले रत्तिभर विचल्लित नभइ कांग्रेसलाई विजयी बनाउन लाग्न सुझाव दिए । कांग्रेसले यही चैत २५ गतेदेखि वडा तहबाट उम्मेदवार छनौट सुरु गर्ने र बैशाख ७ गतेभित्र केन्द्रमा बुझाउने भन्दै उनले पार्टीको आधिकारिक उम्मेदवारहरुका पक्षमा सवैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले अनावश्यक विषयबस्तुलाई महत्व नदिन सुझाव दिदैं कांग्रेसको बिरासतलाई कायमै राख्न सवैले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । कांग्रेसले यसपटकको निर्वाचनमा सामाजिक संजाललाई पनि सशक्त बनाउने भएको छ

यसैवीच कांग्रेसले यही चैत महिनाभित्र सुर्खेतमा प्रदेशस्तरीय सभा गर्ने भएको छ । केन्द्रीय समितिले ७ वटा प्रदेशका मुख्य सहरमा चुनाव लक्षित सभा गर्ने निर्णय अनुसार सुर्खेतमा प्रदेश नं. ६ को सभा यही चैत महिनाभित्र गर्ने भएको हो । सभामा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।